आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

नेपालभ्युज

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

कावासोती। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

समाजवाद जागरण अभियानले कावासोतीमा गरेको कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखापरेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरू क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए । उनले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गरे ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएको बताइएको छ । पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गरिने छ ।-रासस

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved