संस्मरण

मान्यज्यू अब तपाईं प्रश्नविहीन हुनुभयो, म जवाफविहीन भएँ !

मान्यज्यू अब तपाईं प्रश्नविहीन हुनुभयो, म जवाफविहीन भएँ !

गएराति अलिक अबेरसम्म बसेँ, केही कामहरू थिए । ती कामहरू फत्ते नगरुन्जेलसम्म सुत्न मन भए । काम सकेर सुत्न लाग्दा १ बजिसकेको थियो । सुतेँ ।

सुताइ नै ढिलिएपछि बिहान कहाँबाट छिटो ब्युँझनु ? ठ्याक्कै ७:५७ मा ब्युँझेछु । ब्युँझेपछि आफैँ कार्यरत नेपालभ्यूज भिजिट गरेँ । ब्यानर न्यूज नै ‘स्वर्गीय नेम्वाङको जीवनी : स्ववियु सभापतिदेखि संविधानसभा अध्यक्षसम्म‘ शीर्षकको थियो ।

को नेम्वाङ ? आफैँलाई प्रश्न गरेँ । प्रश्न गर्न नसक्दै तल फोटो हेरेँ, सुवासचन्द्र नेम्वाङ ? सक्ड ! अरे !

त्यसपछि क्रमश: अरु न्यूज साइटहरू भिजिट गरेँ । सबैको ब्यानर न्यूज नेम्वाङसँग सम्बन्धित नै थियो । फेसबूक चहारेँ, नेम्वाङकै फोटोसहितको श्रद्धाञ्जली सन्देशहरू भेट्टाएँ । ट्वीटर स्क्रोल गरेँ, त्यता पनि नेम्वाङ नै नेम्वाङ । सक्ड !

मलाई विश्वास गर्नै गाह्रो भइरहेको थियो । के साँच्चै नेम्वाङ मरेका हुन् र, के साँच्चै उनी छैनन् ? एकपटक त आफैँ अल्मलिएँ— म विपनामै त छु !

दाइ-भाउजू अर्को कोठमा गफ गर्दै हुनुहुन्थ्यो, बहिनी अर्कै कोठमा पढ्दै थिइन् । उनीहरू सबैलाई सुनाएँ— सुवासचन्द्र नेम्वाङ बितेछन् !

दाइले पहिल्यै थाहा पाइसकेछन्, सम्भवत: त्यही समाचार पढ्दै थिए । त्यसैले टाउकोको इशाराले मात्रै ‘अँ’को भाव दर्शाए । बहिनीचाहिँ अलिक आश्चार्यमा परी । ला… होर ? बहिनी पनि सक्ड । के भएर बितेछन् ? बहिनीले सोधिन् । हृदयघात भएछ, मैले भनेँ ।

मलाई अझै पत्याउन गाह्रो भइरहेको थियो । एक हिसाबले आफैँलाई पनि गाह्रो भयो । ४ दिनअगाडि मात्रै कुराकानी भएको थियो । यताउती टहलिएँ । किचन छिरेँ, तातोपानी आफैँ बनाएर लिएर आएर आफ्नै कोठाको कम्प्युटरमा अगाडि बसेर यही संस्मरणका लागि कीबोर्ड हान्न थालेँ ।

सम्भवत: म पत्रकारितामा लागेपछि कोही शीर्षस्थ नेतासँग राम्रो सम्बन्ध थियो भने ती नेम्वाङ पनि हुन् । म उनलाई ‘मान्यज्यू’ सम्बोधन गर्थेँ । उनी मलाई सधैँ ‘अँ भन्नुस् त के छ ?’ भनिरहन्थे । अहिले पनि मेरो कन्ट्याक्टलिस्टमा उनको फोन नम्बर ‘मान्यज्यू सुवास’ नाममा सेभ छ ।

फोन हान्नसाथ उठाइहाल्थे । यदि उठाउन नपाए पनि पछि ब्याककल जरूर गर्थे र भन्थेँ— अँ भन्नुस् त के छ ?

मैले सोध्न खोजेको विषय सोध्थेँ । उनी बडो शालीन ढङ्गले त्यसको जवाफ दिन्थेँ, कसैलाई घोचपेच नगरीकन । हाँस्थे । कहिलेकाहीँ मलाई नै उल्टै प्रश्न गर्थेँ र भन्थे— होइन कहाँबाट सुन्नुभयो यस्तो कुरा ? कसले सुनायो ? मलाई नाम भन्नुस् त कसले भनेको हो ? फेरि हाँस्थेँ । र, जवाफ दिन्थे । उनले ‘सूत्रले भन्यो भनेर भन्नू’ भनेर कतिपय सूचनाहरू दिन्थे । मैले कति समाचारहरू त्यसरी पनि बनाएको छु ।

धेरै विषयमाथि चाहिँ सिधै नभन्ने/नबोल्ने नेम्वाङको बानी थियो । कतिपय प्रश्नहरूमा उनी भन्थे— तपाईं आफैँ जान्नुहुन्छ, तपाईंलाई थाहा छ । मैले किन भनिरहने ?

जे होस्, नेम्वाङ शालीन र विषय विज्ञाता भएका नेता पनि थिए । भन्नका लागि मैले भनेको छैन । मलाई लाग्छ— एमालेवृत्तमा मात्रै होइन, समग्रतामा नेपाली राजनीतिमै नेम्वाङ शालीन र विषय विज्ञाता भएका नेता थिए ।

भेटघाटमा पनि बडो मज्जाले गफगाफ गर्थे । जनजीविकाका कुरा सोध्थे, पेशागत जिज्ञासाहरू राख्थे । के छ ? भनेर सोधिरहन्थे । म उही पुरानो जवाफहरू दोहोर्‍याइरहन्थेँ । उनी ए ठीक छ भन्थे ।

यसबीचमा भने भेट नभएको केही महिना बितेको थियो । नेम्वाङसम्बद्ध पार्टी एमालेले पनि विभिन्न अभियानहरू चलाइरहेको, प्रादेशिक अधिवेशनहरू गरिरहेको हुनाले उनी पनि उपत्यकाबाहिर गइरहन्थे र म आफैँ पनि उपत्यकाबाहिर नै रहेँ प्राय: पछिल्लो समय । त्यसैले भौतिकरूपमा भेट हुन सकेको थिएन ।

तर, मैले चाँडै भेटेर एक भिडिओ वार्ता गर्ने प्रस्ताव गरेको थिएँ भदौ २२ गते शुक्रबार मात्रै । उनले हुन्छ नै भनेका थिए । तर, त्यो वार्ताअगाडि नै उनको महाप्रस्थान भयो । त्यसपछि मलाई पनि यो संस्मरण लेख्न करै लाग्यो । र, त लेख्दैछु ।

पछिल्लो हाम्रो भेट सिंहदरबारस्थित उनकै कार्यकक्षमा भएको थियो । उनलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । त्यही विषय लिएर म उनीकहाँ पुगेको थिएँ दुईजना साथीहरूसँग ।

२०७९ फागुन २५ गते राष्ट्रपतीय निर्वाचन हुँदै थियो । म फागुन १७ गते उनको कार्यकक्ष पुगेर उनैसँग गफिँदै थिएँ । उनको जितबारे सोधेको थिएँ मैले । उनी भन्दै थिए— राष्ट्रपतिमा मेरो जित निश्चित छ ।

हुनलाई एमाले भर्सेज गठबन्धन थियो । प्रतिनिधिसभामा अरु दलहरू एकपट्टि हुँदा एमाले एक्लै थियो । उनी पराजित हुन्छन् भन्ने लगभग सबैलाई पूर्वानुमान थियो । तर, मलाई प्रश्न गर्नै थियो र उनलाई ‘म जित्छु’ भनेर जवाफ दिनु नै थियो । दिए पनि ।

फागुन २५ गते संसद्‌को ल्होत्से हलमा राष्ट्रपतीय निर्वाचन भयो, गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए । यसपछि शालीन ढङ्गले नेम्वाङले भने— गणतन्त्र पक्षधरको जित भयो, यो मेरो पनि जित हो । म खुसी छु ।

जे होस् नेम्वाङको मलाई शालीनता नै गजब लाग्थ्यो । अरु नेताहरूभन्दा भिन्न थिए उनी । घोचपेच गर्न जान्दैन थिए । ‘नाम बिर्सेँ, अनुहार झलझली याद आइरहेको छ’ भनेर सोधिएका प्रश्नहरूको जवाफ दिन्थे । भाषण पनि त्यसैगरी गर्थे । अरु नेताहरूको नाममाथि कटाक्ष गर्दैन थिए । यो पक्ष साह्रै-धेरै मलाई मन पर्थ्यो नेम्वाङको ।

एकदिन सिंहदरबारभित्रै भेट भयो । केही पत्रकार साथीहरूका साथ पुगेको थिएँ म । केहीबेर सबैजना गफियौँ । त्यसफछि अरु पत्रकार साथीहरू हिँडे । उनी र म मात्रै भयौँ । मैले सोधेँको थिएँ— तपाईंलाई के भनेर सम्बोधन गरूँ ? उनले ‘तपाईंलाई जे सहज हुन्छ, त्यही सम्बोधन गर्नुस्’ भनेर भने ।

‘तपाईं त संविधानसभा अध्यक्ष पनि, पूर्वसभामुख पनि, पूर्वमन्त्री पनि, सांसद त छँदै हुनुहुन्छ ? अनि के भनौँ ?’ फेरि सोधेँ । उनले फेरि ‘जे सम्बोधन गर्दा पनि हुन्छ’ भनेर भने । यसपछि मैले ‘मान्यज्यू सम्बोधन गर्छु’ भनेँ । उनले ‘हुन्छ’ भने । यसपछि मैले उनलाई ‘मान्यज्यू’ नै भन्दै आएको थिएँ ।

मैले मान्यज्यू भन्दै आएँ, उनी ‘अँ भन्नुस् त के छ ?’ भनेर सोध्दै आए । अब म न उनलाई मान्यज्यू भनेर सम्बोधन गर्न पाउनेछु, न उनले मलाई ‘अँ भन्नुस् त के छ ?’ भनेर सोध्नेछन् ।

अब उनी प्रश्नविहीन भए, म जवाफविहीन भएँ ।

खैर धेरै के भनूँ; हार्दिक श्रद्धाञ्जली मान्यज्यू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved