चिनियाँ राजदूतले नेपालबाट किन खोले भारतविरोधी मोर्चा ?

उनको अभिव्यक्तिका पछाडि दुईवटा सन्देश देखिन्छ : पहिलो, नेपालमा चीन आक्रामकरूपमा आएको छ । दोश्रो, नेपाल भएर चीनविरुद्ध फायर खोल्ने विदेशीलाई उसले अब यहीँबाटै जवाफ दिन थालेको छ ।

चिनियाँ राजदूतले नेपालबाट किन खोले भारतविरोधी मोर्चा ?

पछिल्ला वर्ष नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढ्न थालेको छ । यसअघिकी राजदूत होउ यान्छीले नेपालको आन्तरिक राजनीतिको सूक्ष्म व्यवस्थापनमा सक्रियता देखाएकी थिइन् । यो घटनाक्रम नबिर्सेका नेपालीका लागि हालका हालका राजदूत छन् सोङको अति सक्रियता र कूटनीतिक सीमाबाहिरको अभिव्यक्तिले नेपालको भूराजनीतिक संकटमा घिउ थपिदिएको छ ।

शनिबार नेपाल चाइना हिमालय फ्रेन्डसिप नेपाल नामक एमालेसँग सम्बद्ध एनजीओको कार्यक्रममा चिनियाँ राजदूतले भारतबारे टिप्पणी गरेर नेपाललाई अप्ठेरो बनाइदिएका छन् । द्विपक्षीय मामिला नाघेर तेश्रो मुलुकबारे भद्दा टिप्पणी गरेका चिनियाँ राजदूतप्रति असन्तुष्टि बढेको छ ।

उनको वक्तव्यबाजीप्रति सरकारको आधिकारिक प्रतिक्रिया आएको छैन । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका कारणले पनि सरकारले यस विषयमा नबोल्ने सम्भावना छ । चीनले जारी गरेको नयाँ नक्साका विषयमा नेपालमा विरोध भइरहँदा राजदूतले भारत लक्षित टिप्पणी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपालमा प्रभाव र प्रभुत्व विस्तारका लागि सक्रिय रहेको चीन पछिल्लोपटक खुला र भद्दारूपमा प्रकट हुन थालेको छ । अब लुकेको छैन कि, चीनले विगतमा नेपाल कम्युनिस्ट पार्टी हुँदा र अहिले एमाले तथा माओवादीलाई एक बनाउन विभिन्न उपाय, रणनीति र क्रियाकलाप अपनाइरहेको छ । चीनका राजदूतको पछिल्लो अभिव्यक्ति पनि त्यसै आएको होइन ।

उनको अभिव्यक्तिका पछाडि दुईवटा सन्देश देखिन्छ : पहिलो, नेपालमा चीन आक्रामकरूपमा आएको छ । दोश्रो, नेपाल भएर चीनविरुद्ध फायर खोल्ने विदेशीलाई उसले अब यहीँबाटै जवाफ दिन थालेको छ ।

भारत र अमेरिकाले मिलेर नेपालमा चीनविरोधी मोर्चा खोलेको चिनियाँ विज्ञको विश्लेषण थियो । अब त्यसलाई प्रतिकार गर्न चीन खुलारूपमा आएको अर्थमा लिनुपर्ने चिनियाँ मामिलाका विज्ञको विश्लेषण देखिन्छ । यद्यपि, उनीहरू सार्वजनिकरूपमा टिप्पणी गर्न चाहँदैनन् ।

राजदूतले भनेका थिए, “दुर्भाग्यवश, तपाईंहरूको भारत छिमेकी छ । तर, भाग्यवश भारत तपाईंहरूको छिमेकी छ । तपाईंहरूले विशाल सम्भावना समात्न सक्नुहुन्छ । तर, यही समयमा नेपाल र अन्य छिमेकीप्रति भारतको नीति मित्रवत् छैन र नेपालका लागि फाइदाजनक छैन ।”

कुनै पनि राजदूतले आफ्नो देश र काम गर्न गएको देशबाहेकको विषयमा सार्वजनिकरूपमा नकारात्मक टिका टिप्पणी गर्न मिल्दैन । चिनियाँ राजदूतहरूले विगतमा यो सीमारेखा उल्लंघन गर्ने गरेका थिएनन् । बरु, पश्चिमा देशका आवासीय कूटनीतिज्ञ तथा आक्कल-झुक्कल भ्रमणमा आउने अधिकारीले त्यसरी टिप्पणी गरेका थिए ।

जस्तो, नेपालमा आउने अमेरिकी कुटनीतिक अधिकारीहरूले चिनियाँ परियोजना बीआरआईमा सहभागी नहुन नेपाललाई भन्दै आएका थिए । आर्कातिर एमसीसी प्रकरणमा अमेरिकाले नेपाललाई जबर्जस्ती लाद्न खोजेको आरोप चिनियाँले लगाएका थिए । तर, चिनियाँ राजदूतले भारतका बारेमा यस्ता टिप्पणी विगतमा गरेका थिएनन् ।

पूर्वराजदूत विजयकान्त लाल कर्ण भन्छन्, “चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक र कूटनीतिक मर्यादाविपरित छ । उनलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्छ ।’ यद्यपि, केही कानुनविद् र विष्लेषकले भने चिनियाँ राजदूतले सत्य बोलेको भन्दै खण्डन गर्नु नपर्ने टिप्पणी गरेका छन् ।

राजदूतले बोलेको सत्य/असत्य जे भए पनि यसरी तेस्रो देशका विषयमा खुला टिप्पणी गर्नु भने सर्वथा अनुचित हुने धेरैको मत छ ।

भारत र चीन सँगै स्वतन्त्र भए पनि भारतले विकास नगरेको पनि उनको टिप्पणी छ । उनले भारतबाट ठूलो मात्रामा कृषिजन्य सामग्री आयात गरेकोमा नेपालप्रति टिप्पणी गरेका छन् । नेपालले बिजुली भारत बेचेको विषयमा पनि उनले नकारात्मक टिप्पणी गरेका छन् । तर, चीनले नेपालको सामाजिक आर्थिक विकासमा सहयोग नगरेको सन्दर्भ भने राजदूतले भुलेका छन् । चिनियाँ उदासिनताका कारण नेपालमा बीआरआई अन्तर्गतका योजना अघि बढ्न नसकेको विषयमा उनी मौन छन् ।

चीनतर्फका नाका लामो समयदेखि बन्द हुँदा नेपालमा परेको प्रभावका विषयमा पनि राजदूत बोल्न चाहँदैनन् । तर, नेपाललाई नै अप्ठेरोमा पार्ने गरी अनावश्यक रूपमा उनले अर्को छिमेकीलाई विवादमा तान्न खोजेका छन् ।

चीनले नेपालबाट भारतविरोधी फायर खोलेको हो भने यसको परिणाम नेपाल र चीन दुवैका लागि प्रत्युत्पादक हुनेछ । नेपाललाई चीनको सामरिक स्वार्थमा तान्ने अनेक प्रयासमध्ये यो पनि एक हुन सक्छ । किनभने नेपालले चीनबाट प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)लाई अस्वीकार गरिसकेको छ । एमसीसी पनि चिनियाँ चाहनाविपरीत अघि बढेको छ ।

भारतसँग चीनको आफ्नै समस्या छ । नेपालको पनि फरक खालको समस्या छ । भारतसँगका समस्या सुल्झाउन नेपालले आफ्नै ढंगले प्रयास गर्नुपर्छ र गरिरहेको पनि छ । यस्तोमा चीनले आफ्नो सामरिक स्वार्थका लागि जबर्जस्ती नेपाललाई बीचमा तान्नु उपयुक्त हुँदैन । भारतविरुद्धको फायर खोल्ने उद्देश्य नै हो भने चीनले त्यो नेपालबाट हैन आफ्नै भूमिबाटै खोलोस् ।

तत्कालका लागि भने अमर्यादित अभिव्यक्ति दिने चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनु आवश्यक छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved