चौथो महाधिवेशन भएकै घरमा एमालेको सचिवालय बैठक : बन्ला विगत-वर्तमान जोड्ने सेतु ?

रणनीतिक योजना पनि कि चर्चाका लागि मात्रै ?

चौथो महाधिवेशन भएकै घरमा एमालेको सचिवालय बैठक : बन्ला विगत-वर्तमान जोड्ने सेतु ?

काठमाडौं । तस्वीरमा देखिएको घर कम्युनिष्ट नेता बलबहादुर सुनुवारको हो । र, घरको ठेगाना हो— तत्कालीन सगरमाथा अञ्चलको सिरहा जिल्लाको विष्णुपुरकट्टी गाविस-३ सर्रेआम्वास ।

जहाँ, २०४६ भदौ ९-१४ मा तत्कालीन नेकपा (माले), हालको एमालेको चौथो महाधिवेशन सम्पन्न भएको थियो । एमालेले उक्त महाधिवेशनलाई महत्त्वपूर्ण मोडका रूपमा चित्रण गर्छ । किन पनि भने त्यही महाधिवेशनबाट मदन भण्डारी महासचिव बनेका थिए, त्यही महाधिवेशनले माओ‌ विचारधारा त्यागेको थियो भने अन्य थुप्रै महत्त्वपूर्ण र दूरगामी निर्णयहरू गरेको थियो ।

यससम्बन्धी रमेश रुछेन राईले आफ्नो पुस्तक ‘श्वेतशार्दूल’मा लेखेका छन्, “विष्णुपुरकट्टीबाट पार्टीले माओ विचारधारा परित्याग गरी झापा कालदेखिको ‘उग्रपन्थी’ सोच त्यागेको थियो । कम्युनिष्ट पार्टीले नेपालको सन्दर्भमा पहिलोपल्ट बहुलवाद स्वीकार गरेको थियो । पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारा हटाइयो ।”(पृष्ठ:१४४ रमेश रुछेन राई/श्वेतशार्दूल)

सही घरमा चौथो महाधिवेशन सम्पन्न भएको आउँदो भदौ ९ गते ठ्याक्कै ३४ वर्ष पूरा हुँदैछ । त्यही अवसर पारेर एमालेले त्यही घरमा सचिवालय बैठकको आयोजना गरेको छ ।

किन त्यही घर छानियो ?

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली विगत र वर्तमानलाई जोड्ने प्रयासस्वरूप त्यही घरमा सचिवालय बैठकको आयोजना गरिएको बताउँछन् ।

“इतिहास/विगत र वर्तमानलाई जोड्ने प्रयास गरौँ भनेर सचिवालय बैठक त्यहाँ आयोजना गरिएको छ,” उनले भने ।

उनले थपे— मुख्यत: हामी कस्तो-कस्तो मोडहरू पार गरेर यहाँ आइपुग्यौँ भन्ने सन्दर्भमा समीक्षा गर्ने र अझ सुदृढ भएर अगाडि जाने भनेर पनि हामीले ३४ वर्षपछि पुन: त्यही घरमा बैठकको आयोजना गरेका हौँ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सम्झनास्वरूप त्यहीँ बैठक राखिएको सुनाउँछन् । त्यसो त चौथो महाधिवेशनमा उनी झापा जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधि भएर त्यहाँ पुगेकी थिइन् । अब पुन: त्यहाँ पुग्न पाउँदा खुसी पनि भएको सुनाउँछिन् उनी ।

“हामीले त्यही महाधिवेशनपछि महत्त्वपूर्ण कदम चाल्दै अगाडि बढेका हौँ । त्यहाँ भएका निर्णयहरूले हामी यहाँसम्म आइपुग्यौँ । अब फेरि त्यहीँ ठाउँमा एकपटक पुगौँ भन्ने स्वत: कुरा उठ्यो र सहमति भयो । अब त्यहीँ बैठक हुनेछ,” उपाध्यक्ष शाक्यले भनिन् ।

कतिपय नेताहरूले पनि महत्त्वपूर्ण निर्णय हुने दाबी गर्छन् । नेपालभ्यूजसँग एमालेका एक नेताले भने, “चौथो महाधिवेशनले महत्त्वपूर्ण निर्णयहरू गर्‍यो र यहाँसम्म हामी आयौँ, कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुग्यो । अब पुन: दूरगामी प्रकारको निर्णय गर्नका लागि हामी पुन: त्यहीँ पुग्दैछौँ ।”

कसरी भएको थियो चौथो महाधिवेशन ?

पञ्चायतकालीन समय थियो । भूमिगतरूपमा महाधिवेशन सक्नुपर्ने थियो । त्यसैले पहिलो चुनौतीका भनेको सुरक्षा चुनौती थियो । सुरक्षित ठाउँमा बैठक बसाउनु नेताहरूका लागि कम चुनौतीचाहिँ थिएन ।

त्यस सम्बन्धमा अध्ययन गर्ने, स्थल छनोट गर्ने, व्यवस्थापन गर्ने जिम्मा पूर्वाञ्चल प्रमुख मदन भण्डारी र मध्य-दक्षिण प्रमुख ईश्वर पोखरेलले पाएका थिए । उनीहरूले नै छनोट गरेका थिए महाधिवेशन स्थलका रूपमा विष्णुपुरकट्टीको त्यो घर ।

सुरक्षालाई नै मुख्य मानेर उच्च सतर्कता अपनाइएको थियो । घरधनी बलबहादुर सुनुवार भरुवा बन्दुकसहित आफैँ सुरक्षार्थ खटिएका थिए । महाधिवेशन स्थलबाट टाँङ्गिएको डोरी ७ सय मिटर उतासम्म पुर्‍याइएको थियो । जबकी केही घटना घटिहाले डोरी हल्लाएर सूचना दिन सकिन्थ्यो । पार्टीले पञ्च वा प्रहरीहरू आए सामना गर्न निर्देशन जारी गरेको थियो ।

लामो समयपछि भएको महाधिवेशनले महत्त्वपूर्ण निर्णय गर्ने भन्दै त्यसको औचित्यबारे पार्टीले सार्वजनिकरूपमै भनेको थियो— गठन भएयताका १० वर्षभित्र हाम्रो पार्टीले कम्युनिष्ट आन्दोलनभित्रका साना तथा मझौला गरी अनेक समूहलाई एकताबद्ध बनाउने, दक्षिणपन्थ विरोधी विचारधारात्मक सङ्घर्षको क्रममा पार्टीभित्र उत्पन्न भएका उग्रवामपन्थी विचार र प्रवृत्तिहरूलाई सच्याउने तथा अन्तर्राष्ट्रिय र देशको कम्युनिष्ट आन्दोलनभित्रका विगत अनुभवहरूलाई ख्याल गर्दै नेपाली क्रान्तिका सिद्धान्त, नीतिहरू, कार्यक्रम एवम् रणनीति कार्यनीतिलाई मार्क्सवादी सिद्धान्त र देशको वस्तुगत स्थितिसङ्गत ढङ्गले सही र व्यवस्थित बनाउने महत्त्वपूर्ण काम गर्दै आएको छ । यिनै महत्त्वपूर्ण उपलब्धिहरूलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुरूप सर्वोच्च पार्टी भेला आयोजित गरी संस्थागत गर्ने र क्रान्तिकारी पार्टी निर्माणको कामलाई विधिसम्मत ढङ्गले अघिबढाउने क्रममा चौथो राष्ट्रिय महाधिवेशन आयोजित भएको हो । चौथो महाधिवेशनको रूपमा पार्टीको महाधिवेशन आयोजित गर्ने कुराले हाम्रो पार्टी एकीकृत नेकपा र त्यसका गतिविधिहरूलाई आफ्नै पूर्ववर्ती इतिहासको रूपमा स्वीकार गर्दछ र आफूलाई त्यसको उत्तराधिकारी र निरन्तर विकासको परिणामको रूप ठान्छ भन्ने कुरा प्रष्ट हुन्छ । (पृष्ठ:१३६, रमेश रुछेन राई/श्वेतशार्दूल)

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, हाम्रो मार्गदर्शक सिद्धान्त, नेपाली जनवादी क्रान्तिको वर्तमान कार्यक्रम, सङ्गठनात्मक प्रस्ताव र पार्टी विधान गरी पाँचवटा दस्ताबेज प्रस्तुत भए । तत्कालीन महासचिवले झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । अरु दस्ताबेजहरू मदन भण्डारी, माधवकुमार नेपाल, जीवराज आश्रितलगायतले प्रस्तुत गरे ।

त्यसबेला महाधिवेशनमा सैद्धान्तिक विवादसमेत थियो । पार्टीको मार्गदर्शन सिद्धान्तमा मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारा भन्ने थियो । माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट हटाउने प्रस्ताव भयो । त्यसपछि अमृत बोहरासहित १२/१३ जनाले असहमति राखेका थिए ।

जसमा अन्त्यमा मतदान नै गर्नुपरेको थियो । त्यसमा माओत्सेतुङ्ग विचारधारा अल्पमतमा पर्‍यो । यसबारे अष्टलक्ष्मी शाक्यले आफ्नो पुस्तक ‘मेरो पाइला मेरो अनुभव’ मा लेखेकी छन्, “मतदान हुँदा माओत्सेतुङ्ग विचारधारा अल्पमतमा परेको थियो । तर, बहुमतको निर्णयलाई स्वीकार गर्ने त्यसबेला राम्रो परम्परा पार्टीमा थियो । आफू अल्पमतमा परेपछि पार्टी निर्णय नमान्ने, त्यही मतका आधारमा समूह (गुट) बनाउने अहिलेको जस्तो खराब प्रचलन त्यसबेला थिएन ।” (पृष्ठ:१४७ अष्टलक्ष्मी शाक्य/मेरो पाइला मेरो अनुभव)

पाँच दिनसम्म चलेको महाधिवेशन भदौ १४ गते २१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सकियो । मदन भण्डारी महासचिव बने । यसबारे श्वेतशार्दूलमै रमेश रुछेनले लेखेका छन्, “त्यो महाधिवेशनले तत्कालीन मालेको आन्तरिक संरचना पनि बदलियो । नेतृत्वमा मदन भण्डारी उदाए । अब भने पार्टीले नयाँ भूमिका तय गयो । अनि, मोर्चा निर्माण गर्दै पार्टी जनआन्दोलनमा होमियो ।”(पृष्ठ:१४४ रमेश रुछेन राई/श्वेतशार्दूल)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved