गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ, दर्जनौ घरमा लुटपाटको आरोप

नेपालभ्युज

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ, दर्जनौ घरमा लुटपाटको आरोप

भैरहवा ।  भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ ।

चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपीत हुन् ।

बस्ने ४३ वर्षीया तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित रु ५० लाख बराबरको चोरी गरेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।

यस्तै तिवारीले वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र रु तीन लाख ८० हजार चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट रु ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको  प्रहरीले जनाएको छ ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइललगायत नगद रु एक लाख १५ हजार समेत लुटेको थियो ।प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ ।

तिवारीबाट कटुवा पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउण्ड, दुईवटा खुकुरी, एक चक्कु, सलाई रिन्च तीनवटा, छिनो एक, एक मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर एक, ग्यासकटर, सात हजार छ सय ६५ नेपाली रुपैयाँ र पाँच हजार चार सय ४५ भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । तिवारी समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उनले बताए ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved