हेर्न र पढ्न मिल्ने ‘झापाको प्रतिविम्ब’ बिमोचन

नेपालभ्युज

हेर्न र पढ्न मिल्ने ‘झापाको प्रतिविम्ब’ बिमोचन

झापा । जिल्लाको भौगोलिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्काउने ‘झापाको प्रतिविम्ब’ नामक क्यालेन्डर किताब शनिबार विमोचन भएको छ । यो हेर्न र पढ्न मिल्ने किताब हो । वार्षिक समयावधिमा आधारित क्यालेन्डर प्रकाशित हुने गरेको सबैलाई जानकारी भए पनि शिक्षा र जानकारीमूलक किताब नै क्यालेन्डरमा पहिलोपटक देखेको साहित्यकार देवीचरण भण्डारी बताउछन्।

झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले किताबको विमोचन गरेका हुन् । उनले पुस्तकमा रहेका जानकारीहरू झापालाई अध्ययन गर्न चाहने अध्येता, शिक्षक, विद्यार्थी र सर्वसाधारण पाठकका लागि उपयोगी रहेको बताए।

बीस पृष्ठको उक्त रङ्गीन क्यालेन्डरमा झापाका १५ वटै पालिकाको धार्मिक तथा पर्यटकीयस्थलको परिचय दिइएको छ । सबै पालिकाका प्रमुखदेखि सदस्यसम्मका जनप्रतिनिधिको नाम, सम्पर्क नम्बर र पालिकाको भौगोलिक र राजनीतिक अवस्थितिको तथ्यांक किताबमा समावेश भएको किताबका लेखक खेमराज दाहालले बताए ।

पालिका र वडा तहको जनसङ्ख्या, धर्म, जाति, भाषा, मौसम, सिमाना, शैक्षिक संस्था, स्वास्थ्य प्रतिष्ठानलगायतका अत्यावश्यक जानकारी र सम्पर्क नम्बरहरू क्यालेन्डर किताबमा समेटिएको हुँदा यो समग्र जिल्ला चिनाउने नयाँपनसहितको सङ्ग्रहणीय किताब रहेको मेची बहुमुखी क्याम्पसका प्रमुख जीवन पोखरेल बताउछन् ।

चन्द्रगढीको डाइनामिक ग्रुप प्रकाशक रहेको सो किताबलाई क्यालेन्डरजस्तै भित्तामा टाँगेर राख्न सकिन्छ र पाना पल्टाउँदै अगाडिको विषयवस्तु अध्ययन गर्न सकिन्छ । प्रकाशक संस्था डाइनामिक ग्रुपका अध्यक्ष खगिन्द्रा खुशीले किताब प्रकाशनमा यो नौलो प्रयोग भएको जनाउँदै लेखकले किताबमा तथ्य र सत्य उजागर गर्न निकै मेहनत गरेको पाइएको बताए ।

किताबमा झापामा जन्म भएका र कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त साहित्यकार, खेलाडी, कलाकार लगायतको संक्षिप्त परिचय समेटिएको छ ।
–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved