पूर्वमा बाढीपहिरोको क्षति: एक जनाको मृत्यु, २५ बेपत्ता

मनसुन सुरु हुन बाँकी नै रहँदा भएको वर्षाबाट कोसी प्रदेशका अधिकांश जिल्ला प्रभावित बनेका छन्। विशेष गरी सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा क्षति पुगेको छ। ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिए पनि सबै विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्।

नेपालभ्युज

पूर्वमा बाढीपहिरोको क्षति: एक जनाको मृत्यु, २५ बेपत्ता

काठमाडौं। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकको पूर्वी क्षेत्रमा धनजनको क्षति भएको छ। शनिबार राति आएको बाढी र पहिरोमा परी कम्तीमा एक जनाको ज्यान गएको छ भने २५ जना हराएका छन्।

ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिए पनि सबै विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन्। क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ।

सयौँ मानिस विस्थापित बनेका छन्। मनसुन सुरु हुन बाँकी नै रहँदा भएको वर्षाबाट कोसी प्रदेशका अधिकांश जिल्ला प्रभावित बनेका छन्। विशेष गरी सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा क्षति पुगेको छ।

बाढीपहिरोले ती क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन्। नदीको बहाव ह्वात्तै बढ्दा आसपासका बस्ती जोखिममा परेका छन्। केही स्थानमा बढीपहिरोको जोखिमले सर्वसाधारण विस्थापित बनेका छन्।

पूर्वका बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार र राहतका लागि सांसदहरूको माग

कहाँ कति क्षति

सङ्खुवासभा – एकै ठाउँमा १६ बढी बेपत्ता

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन्। चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत मजदूर बेपत्ता भएका हुन्।

१९ जना कार्यरत रहेकोमा ३ जना सुरक्षित रहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। एक जनाको शव भेटिएको छ।

पाँचथरमा ५ जना बेपत्ता

शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको सदरमुकाम फिदिममा पाँच जना बेपत्ता भएका छन्। केही सडक तथा पुलहरू बगेका छन्। हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत मजदुर र पसल व्यवसाय गरेर बस्नेहरू बेपत्ता भएका हुन्।

हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम–४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन्।

पहिराले पुरेका एक बालकको सकुशल उद्धार गरिएको छ। बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ।

ताप्लेजुङको ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना हराइरहेका छन्। उनीहरूको खोजी जारी छ। पुरिएर हराउनेहरूमा एकै परिवारका तीन जना छन्। अर्का घरमा एक जना बेपत्ता छन्।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्ज्वल बेपत्ता भएका हुन्। छिमेकी गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। बाढीले सडकसमेत अवरुद्ध गरेको छ। स्थानीयका केही घर जोखिममा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved