भारतीय प्रधानमन्त्री मोदीको आसन्न अमेरिका भ्रमण : विश्वकै चासो

भारत र अमेरिका दुवै लोकतान्त्रिक मुलुक हुन् । अमेरिकालाई ‘विश्वको सबैभन्दा पुरानो आधुनिक लोकतन्त्र’ मानिन्छ भने भारतलाई ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ भनिन्छ । यसका बाबजुद अमेरिका र भारतबीच सधै एउटै विश्वदृष्टिकोण भने थिएन । अहिले पनि छैन ।

भारतीय प्रधानमन्त्री मोदीको आसन्न अमेरिका भ्रमण : विश्वकै चासो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ देखि अमेरिकाको राजकीय भ्रमण गर्दैछन्। यो भ्रमणलाई विश्वले नै चासोका साथ प्रतिक्षा गरिरहेको छ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री मोदी जुन २० मा न्युयोर्क पुग्ने छन् । त्यहाँ अमेरिकी अधिकारी र भारतीय डायस्पोराले उनको स्वागत गर्ने छन्।

जुन २१ मा प्रधानमन्त्री मोदीले न्युयोर्कमै ९औं अन्तर्राष्ट्रिय योग दिवसको एक कार्यक्रमको नेतृत्व गर्ने छन् । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा मोदी कार्यकालमा भारतकै प्रस्तावमा गरेको थियो । सन् २०१५ को जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

२२ जुनको विहान उनी वासिङ्गटन डिसी पुग्ने छन्। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको साउथ लाउनमा उनको स्वागत हुनेछ । कार्यक्रममा ७ हजार भन्दा बढीको उपस्थिति हुनेछ । प्रधानमन्त्री मोदीलाई २१ तोपको सलामी दिइने छ ।

त्यही दिन प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता हुनेछ । दुवै देशका सम्बद्ध अधिकारीले संयुक्त बैठक गर्ने छन्। वार्तामा मुख्यतः दुई देशबीचको कुटनीतिक सम्बन्ध, प्रविधि सहकार्य, प्रतिरक्षा र जलवायु परिवर्तनको सवालमा छलफल हुने छ ।

साँझ प्रधानमन्त्री मोदीले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । यो अमेरिकी कांग्रेसमा उनको दोस्रो सम्बोधन हुनेछ । यस अघि सन् २०१६ को भ्रमणमा पनि उनले संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

सोही बेलुका राजकीय रात्रीभोज आयोजना हुनेछ । भोजमा राष्ट्रपति बाइडेन, प्रथम महिला जिल, उपराष्ट्रपति कमला ह्यारिसलगायत उच्च अधिकारी सहभागी हुनेछन्।

२३ जुनको दिउँसो अमेरिकी विदेश मन्त्रालयले दिवा भोजको आयोजना गर्ने छ । यस क्रममा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग वार्ता गर्ने छन् । यसै दिन प्रधानमन्त्री मोदीले भारत-अमेरिका रणनीतिक साझेदारी मञ्चको कार्यक्रममा प्रवचन दिने छन ।

साँझ रोनाल्ड रेगन सेन्टरको भवनमा हुने भारतीय डायस्पोराको कार्यक्रमलाई सम्बोधन गर्ने छन्। यस क्रममा उनले भारतीय सफलताको कथा, भविष्यको योजना र दुरदृष्टि, कोभिड–१९ सँगको संघर्ष, आर्थिक बृद्धिको प्रवृति लगायतका विषयमा बोल्ने बताइएको छ । संभवत यही साँझ उनी फर्कनेछन् ।

प्रधानमन्त्री मोदीले ९ वर्षदेखि भारतीय शासनसत्ताको नेतृत्व गरिरहेका छन्। उनी सन् २०१४ डिसेम्बर ११ मा प्रधानमन्त्री भएका थिए । यसबीच ३ अमेरिकी राष्ट्रपतिसँग सहकार्य गर्ने अवसर उनले पाएका छन् ।

सन् २०१५ को जनवरीमा राष्ट्रपति बराक ओबामा भारत भ्रमणमा आएका थिए । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए । यही वर्षको जुनमा प्रधानमन्त्री मोदीको पहिलो अमेरिका भ्रमण भएको थियो ।

ट्रम्प शासनकालमा अमेरिका–सम्बन्ध तुलनात्मक रुपमा निक्कै बलियो र सुखद थियो । मोदी अमेरिका जाँदा ‘हाउडी मोदी’ र सन् २०२० को फेब्रुअरीमा ट्रम्प भारत आउँदा ‘नमस्ते ट्रम्प’ कार्यक्रम गरिएको थियो ।

बाइडेन शासनकालमा भने प्रधानमन्त्री मोदीको यो पहिलो भ्रमण हो । तर, जी–८, जी–२० लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा मोदी–बाइडेन भेटघाट भने भइसकेको छ ।

भनिन्छ– स्वामी विवेकानन्द अमेरिका भ्रमण गर्ने पहिलो भारतीय थिए । सन् १८९३ मा उनी सिकागो पुगेका थिए । भारत–अमेरिका सम्बन्ध भारतीय स्वतन्त्रताभन्दा धेरै अघि देखिको हो । हाल अमेरिकामा ६० लाख बढी भारतीय मूलका मानिस रहेका छन् ।

भारत र अमेरिका दुवै लोकतान्त्रिक मुलुक हुन् । अमेरिकालाई ‘विश्वको सबैभन्दा पुरानो आधुनिक लोकतन्त्र’ मानिन्छ भने भारतलाई ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ भनिन्छ । यसका बाबजुद अमेरिका र भारतबीच सधै एउटै विश्वदृष्टिकोण भने थिएन ।

दोस्रो विश्वयुद्धताका अमेरिकी राष्ट्रपति फ्रयाङिक्लन डि. रुजबेल्टले भारतीय स्वतन्त्रता आन्दोलनका नेता माहत्मा गान्धीलाई लेखेका थिए–‘लोकतन्त्र र सच्चाईप्रतिको हाम्रो साझा चासोले हाम्रा देशवासीलाई साझा शत्रुविरुद्ध एकसाथ उभिने कारण तयार गर्दछ ।’

उनको आसय नाजी जर्मन र जापानसँगको संघर्ष अमेरिकी मित्र राष्ट्र रहेको बेलायतलाई भारतले साथ दिओस भन्ने थियो तर महात्मा गान्धीले भारतीय स्वतन्त्रताका लागि ब्रिटिस साम्राज्य विरुद्धको जनसंघर्षलाई नै प्राथमिता दिएका थिए ।

भारतीय स्वतन्त्रता र शीत युद्धको सुरुवातपछि पनि यो दूरी कायमै थियो । भारत अमेरिकी धुरीमा सामेल होस भन्ने अमेरिकी चाहना थियो । तर, तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले असंलग्न आन्दोलनको नेतृत्व गरे । सन् १९७१ मा भारत र तत्कालिन सोभियत संघबीच शान्ति तथा मैत्री सन्धी नै भयो ।

विश्व दृष्टिकोणमा रहेको यो भिन्नता आज पनि कायमै छ । युक्रेनमाथि रुसी आक्रमणको घटनामा अमेरिकाले युक्रेनलाई साथ दिइरहेको छ भने भारतले वार्ताबाट युद्धको अन्त्य हुनु पर्ने धारणा राख्दै आएको छ । राष्ट्र संघमा भएको रुसविरुद्धको मतदानमा भारत तटस्थ बसेको थियो।

विश्लेषक भन्छन् कि अमेरिका र भारत सम्बन्धमा लोकतान्त्रिक मूल्यप्रणाली र समान विश्व दृष्टिकोण भन्दा साझा हित, सरोकार र चासो महत्वपूर्ण छन्। चीनसँगको सीमा समस्या र लामो समयदेखिको प्रतिस्पर्धाका कारण भारतलाई अमेरिकाको सहयोग र निकटता अपरिहार्य बनाउँछ ।

त्यसैगरी अमेरिका भारतलाई दक्षिण एशियाको एक निर्णायक राष्ट्र मान्दछ । अमेरिकाले भारतसँग हिन्द–प्रशान्त रणनीतिमा साथ र साझेदारी खोजिरहेको छ । यसका बाबजुद भारतले रुससँगको निकटतालाई कायमै राखेको छ ।

भारतका अधिकांश सैन्य सामाग्री र हतियार रुसी प्रविधिमा आधारित छन्। चाहेर पनि भारतले रुससँगको सम्बन्धको मूल्यमा अमेरिकालाई अंगाल्न सक्दैन। अर्कोतिर अमेरिकाले भने भारतबाट दीगो सहकार्यको अपेक्षा गरेजस्तो देखिन्छ ।

अमेरिका–भारत सम्बन्धका यस्ता अनेक आयाम छन, जसले प्रधानमन्त्री मोदीको आसन्न राजकीय भारत भ्रमणलाई विश्वकै लागि सर्वाधिक चासोयुक्त र महत्वपूर्ण बनाउँदछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved