‘टोपबहादुर दाइ राति लुसुक्क मेरो घरमा आउनुभयो, केहीबेरमै प्रहरी पनि आइपुग्यो’

जहाँबाट टोपबहादुर रायमाझी पक्राउ परे

रायमाझीले आफू गिरफ्तारी दिन आएको बताए । तर, एक रात भए पनि किन लामखुट्टे लाग्ने प्रहरीको कोठामा जानु भनेर यता आएको रायमाझीले पौडेललाई बताएका थिए ।

नेपालभ्युज

‘टोपबहादुर दाइ राति लुसुक्क मेरो घरमा आउनुभयो, केहीबेरमै प्रहरी पनि आइपुग्यो’

काठमाडौं। नक्कली शरणार्थी प्रकरणका एकजना मुख्य अभियुक्त पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परे । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि भागेका उनी १२औं दिनपछि काठमाडौंमा पक्राउ परेका हुन् ।

बुढानीलकण्ठ पासीकोटस्थित एक गाउँलेको घरमा आइपुगेका रायमाझी आइतबार राति साढे ८ बजेतिर प्रहरीको नियन्त्रणमा परेका थिए । अर्घाखाँचीमा एउटै गाउँमा घर भएका र पहिलेदेखि नै चिनजान भएका नारायणप्रसाद पौडेलको घरमा रायमाझी राति पौने सात बजेतिर लुसुक्क एक्लै पुगेका थिए ।

‘राति त्यस्तै पौने सात बजेको थियो होला घण्टी बजेपछि मेरो श्रीमतीले ढोका खोलिन्, उहाँ म त आएँ भाइ भन्दै भित्र छिर्नुभयो ।’ पौडेलले नेपाल भ्युजसँग भने, ‘बाहिर गाडी पनि थिएन । अरु कसैलाई पनि देखिएन । घर आइपुग्दा एक्लै हुनुहुन्थ्यो ।’

त्यसपछि केही गफगाफ भए । रायमाझीले आफू गिरफ्तारी दिन आएको बताए । तर, एक रात भए पनि किन लामखुट्टे लाग्ने प्रहरीको कोठामा जानु भनेर यता आएको रायमाझीले पौडेललाई बताएका थिए । उनका अनुसार आज सोमबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर गिरफ्तारी दिने गरी आफू काठमाडौं आएको रायमाझीले बताएका थिए ।

गफगाफका क्रममा पौडेलले अहिलेसम्म कहाँ लुक्नुभयो त भनेर सोधे । जवाफमा रायमाझीले भने, ‘भाइ म पोखरातिर बसेको थिएँ । अब यसरी हुँदैन भनेर काठमाडौं आइपुगें ।’

कुराकानीका क्रममा रायमाझीले ‘अब जे हुन्छ अदालतबाटै हुन्छ’ भनेका थिए । तर, यो गफगाफ लामो समय चलेन । केही खानपिन हुँदै थियो प्रहरी टोली खोज्दै सोही घरमा पुग्यो । पौडेलले भने, ‘सवा ८ बजेको थियो होला ढोकाको घण्टी बज्यो । श्रीमतीले ढोका खोलिन, प्रहरीको टोली रहेछ । मन्त्रीज्यु यतै हुनुहुन्छ भन्दै भित्र छिरे । त्यसपछि हामीसँग जाउँ भन्दै उहाँलाई गाडीमा राखेर लगे ।’

यसअघि, अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँछु भनेका रायमाझी त्यही राति बाटोबाटै भागेका थिए । छोरा सन्दीप बुटवलबाट पक्राउ परेपछि रायमाझी काठमाडौं नआई पोखरातिर लागेका थिए । पोखरामा रायमाझी बसेको घर प्रहरीले ट्रयाक गरेको थियो । तर शनिबार प्रहरी त्यहाँ पुग्दा रायमाझी काठमाडौं हिँडिसकेका थिए ।

रायमाझी पोखराबाट काठमाडौंतिर लागेको थाहा पाएपछि लोकेसन ट्रयाक गर्न सुरु गरेको प्रहरी अधिकारी बताउँछन् । पासीकोटमा उनी रहेको थाहा पाएपछि प्रहरीले ३/४ घरमा सोधपुछ गरेको थियो । पौडेलले पनि आफ्नो घर आउनु पहिला प्रहरीले वरपरका अरु घरमा पनि सोधपुछ गरेको पछि आफूले पनि थाहा पाएको बताए ।

रायमाझी चारपटक सांसद, पाँचपटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव भइसकेका छन् । अर्घाखाँचीबाट लगातार चारपटक निर्वाचित भएका उनी पछिल्लोपटक भने नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको योजनामा मतियार बनेको पाइएको छ । अहिलेसम्म यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved