‘शालिकराम र शम्भुको मृत्युमा रविलाई नमुछौँ, तथ्य बुझौँ रहस्यमा नकुदौँ’

अनि यस्ता तथ्यहीन र आधारहीन कुरालाई ‘सत्य’ मानेर सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूले एकपटक सोच्ने कि ?

‘शालिकराम र शम्भुको मृत्युमा रविलाई नमुछौँ, तथ्य बुझौँ रहस्यमा नकुदौँ’

काठमाडौं । २०७६ साउन २० गते राति टेलिभिजनकर्मी शालिकराम पुडासैनी चितवनको भरतपुर महानगरपालिका २ पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत भेटिए । आत्महत्या गर्नुअघिको उनको भिडिओ क्लिपमा ‘रवि दाइ’ भन्ने शब्द उल्लेख थियो । त्यहीकारण आत्महत्या दुरुत्साहनको अभियोग लगाएर उनका टिम लिडर रवि लामिछानेलाई पक्राउ गरियो र लामो हिरासत बसाइपछि धरौटीमा छाडियो ।

२०८० वैशाख ४ गते भरतपुर महानगरपालिका ११ भोजाडस्थित एक घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसेका शम्भु थापा खसेर घाइते भए । राति ३ः५४ बजे उनी छतबाट भुइँमा बजारिएको सीसीटीभी फुटेज बाहिर आयो । उनको टाउकोमा गम्भीर चोट देखियो । सुरूमा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरिएका शम्भुको पछि काठमाडौंस्थित मेडीसीटी अस्पतालमा उपचारको क्रममा वैशाख १९ गते मृत्यु भयो ।

संयोग यस्तो पर्‍यो कि, शालिकराम पुडासैनी त्यतिबेलाका टेलिभिजनकर्मी र अहिले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेका सहयोगी थिए । यता शम्भु थापा पनि उनै रविका निजी चालक थिए । शालिकरामले आत्महत्या गर्दा रवि टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ सञ्चालन गरिरहेका थिए । यता शम्भु छतबाट खस्दा रवि मस्त निद्रामा थिए । उपनिर्वाचनको प्रचारप्रसारबाट शम्भुसँगै फर्केका रविलाई उक्त घटना भएपछि मात्रै जानकारी भएको देखिन्छ ।

यहाँ उल्लेख गर्न खोजिएको प्रसङ्गचाहिँ दुवै घटना रविद्वारा घटाइएको र यसको अपराधी रवि लामिछाने नै हुन् भन्ने जसरी यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ । एकातिर रविका समर्थकले उनको विरोध सहनै नसक्ने र अर्कोतिर रविलाई देख्नै नचाहने समूह सञ्जालमा सक्रिय छन् । सामाजिक सञ्जाल हेर्ने हो भने यी दुवै समूह अत्यन्त भ्रामक र तथ्यहीन आरोप लगाउन र ‘श्रद्धाञ्जलि’ सहितको तुच्छ शब्दमा खण्डन गर्न अभ्यस्त पनि छन् ।

तथ्यको गहिराइमा नपुगी सत्यभन्दा बाहिर गएर यस्ता अराजक समूहले गरेका टिप्पणीले समाज धमिल्याउने मात्रै होइन, व्यक्तिको राजनीतिक र सामाजिक प्रतिष्ठासमेत सिध्याउन सक्छ । अहिले यस्तै ‘ट्रेन्ड’ चलिरहेको छ । आफ्नो फलोअर्स बढाउने वा ‘भाइरल’ हुने नाममा अरुको चरित्रमाथि ‘धब्बा’ लगाउने वा ‘श्रद्धाञ्जलि’ नै दिने अराजकता बढ्दो छ ।

पछिल्लो समय कुनै अपराधको घटना हुनासाथ ‘सामाजिक सञ्जाल’ मा नै त्यसको छिनोफानो सुरू हुन थालेको छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइनका पत्रकार पुग्न नसकेको ठाउँमा पनि यूट्युबर र फेसबुकेहरूको उपस्थिति हुने र व्यक्तिगतदेखि दुर्घटनाका कारुणिक घटनालाई समेत सार्वजनिकीकरण गर्न थालिएको छ । आम मानिसले कुन औपचारिक मिडिया हो र कुन हैन भनेर छुट्याउन नसक्ने अवस्था छ । जसको शिकार रवि र उनको पार्टी पनि भएको छ ।

निर्मला हत्या प्रकरणमा अहिलेसम्म अदालतले कसैलाई दोषी ठहर गरेको छैन । तर, सामाजिक सञ्जालमा ‘हत्यारा’ भन्दै तस्वीरसमेत सार्वजनिक गरियो । कुनै पनि घटनाको अनुसन्धान सुरू नहुँदैको अपराधी हुन् र को निर्दोष हुन् भन्दै सामाजिक सञ्जाल र ब्लगमार्फत बाहिर आइहाल्छ । अहिले शालिकराम पुडासैनी र शम्भु थापाको आत्महत्या र दुर्घटनालाई लिएर पनि रवि लामिछाने र उनको पार्टीमाथि आक्रामक शैलीमा ‘सामाजिक सञ्जाल’ प्रयोगकर्ताहरू उत्रेका छन् ।

तथ्य र प्रमाण नभएको विषयलाई क्षणिक आवेग र मनोरञ्जनको नाममा गरिने यस्ता हर्कत अक्षम्य अपराध हो र सभ्य समाजको लागि दु:खद् पक्ष पनि हो । रविका अनेक गुण अवगुण होलान् । उनको विचार र सोच पनि अलग होला तर, मनै नपर्ने शत्रु नै भए पनि रहस्यको कुरालाई तथ्य मानेर निरन्तर प्रहार गर्नु मानवीय हिसाबले पनि गलत प्रयोग हो । उनको नागरिकतामा समस्या थियो, त्यो अदालतको फैसलासँगै सच्चिएर आइसक्यो । उनको राहदानीमा समस्या होला वा जे होला त्यो पनि कानुनकै शरण र अदालतकै ढोकामा छ । त्यसको छिनोफानो नेपालको कानुन, संविधान वा अदालतको व्याख्याले गर्दछ । त्यसको फैसला सामाजिक सञ्जालको भित्ता र ‘टिकटक’ को पर्दाले होइन, कानुन र संविधानको धाराले गर्ने हो ।

कोही व्यक्ति मन नपरेकै आधारमा उसको निजी जीवन र राजनीतिक जीवनको गलत फैसला गर्ने अधिकार कसैलाई छैन । गुण र दोषको आधारमा रवि र उनको पार्टीलाई समर्थन वा विरोध गर्न पाइन्छ तर, तथ्यहीन कुरालाई झुटको सहारामा बङ्ग्याउनु हुँदैन । अहिले रवि लामिछाने र उनको पार्टी यसैको सिकार बन्दैछ । रविका कतिपय अभिव्यक्ति ठाडो होलान्, कति कुरा अपत्यारिला पनि लाग्न सक्छन् । तर, त्यसलाई प्रतिवाद गर्न र सभ्य भाषामा बहस गर्न पनि पाइन्छ । हाम्रो संविधान र कानुनले नागरिकको बोल्न पाउने हक सुनिश्चित गरेकै छ ।

तर, आवेगमा वा भावना र रहस्यमा बगेर अनावश्यक आरोप लगाउँदै गर्दा उसमाथि ठूलो अन्याय भएको हुनसक्छ । रविले गरेका गल्तीको सजाय उनैले भोग्ने हो । तर, सजाय भोग्न पनि त्यो गल्ती प्रमाणित त हुनुपर्ला नि ? रविलाई शालिकरामको आत्महत्या वा शम्भुको दुर्घटनामा कुन अदालत वा कुन कानुनले दोषी भनेको छ ? यदि दोषी ठहरिएर पनि सजाय नपाएको वा कानुनदेखि भागेको हो भने त्यसको पनि कानुनी उपचार नै बाँकी हुन्छ । त्यसमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफैँले आरोप लगाउने र फैसला सुनाउने होइन । आज रविलाई तथ्यहीन कुरामा आरोप लगाउँदै गर्दा त्यही नियति आफ्नो भयो भने त्यसमा बोल्ने की नबोल्ने ?

कसैलाई दोषी करार गर्ने दुईवटा मात्रै बाटो छ। पहिलोः जुन व्यक्तिमाथि आरोप लागेको छ, उसैले मैले अपराध गरेको हुँ भन्दै कबुल गर्नुपर्छ । जुन हत्याका घटनाहरूमा देखिन्छ । जहाँ सुरूमा अपराध लुकाउन खोजे पनि आरोपितले अपराध कबुल गर्न बाध्य हुन्छ ।

दोस्रो: अपराध गर्नेले कबुल गरेन तर घटनाको अनुसन्धानले त्यो पुष्टि भयो भने अर्थात् दोषीले मैले गरेको हो नभने पनि दसी र प्रमाणले त्यो पुष्टि हुन्छ र अदालतले त्यसैलाई ठोस आधार र प्रमाण मान्छ भने ।

अब रवि लामिछानेमाथि लागेका आरोपलाई हेर्ने हो भने त्यो दुवै अवस्था देखिँदैन । रविले अपराध गरेको भनेर आरोप स्वीकार गरेका पनि छैनन् र उनीविरुद्धमा दसी प्रमाण फेला परेका पनि छैनन् ।

तर, सामाजिक सञ्जालमा रवि नै मुख्य योजनाकार र अपराध गर्ने व्यक्ति हुन् भन्ने करार गर्न खोजिँदै छ । कसैले गर्दै नगरेको कुरामा यति धेरै गाली र बद्नामी सहनु भनेको उनीमाथि सामाजिक सञ्जाःल प्रयोगकर्ताको अर्को अपराध हो । अदालतको फैसलामा पुडासैनीको मृत्युको कारण झुन्डिएर भएको उल्लेख छ । तर, मृतकको शवमा घाउचोट भएको मिसिलमा संलग्न प्रमाणमा देखिनमा झुन्डिएर आत्महत्या गरेको व्यक्तिको शरीरमा के-कसरी घाउचोटको अवस्था रहयो भन्ने अनुसन्धानबाट नखुलेको अदालतको आदेशमा उल्लेख छ ।

आदेशमा मृतक पुडासैनी र प्रतिवादीहरूबीच पटकपटक फोन सम्पर्क हुनुलाई एउटै टेलिभिजनमा काम गर्ने सहकर्मी र पछि पूर्वसहकर्मी भएको देखिने अवस्था र प्रतिवादी कार्कीका बीचको फोन सम्पर्क अस्वाभाविक नभएको फैसलामा उल्लेख छ । ‘फोन सम्पर्कमा के-कस्तो संवाद भएको थियो र सो संवादमा धम्की वा दबाबको भाषाशैलीका शब्दहरू प्रयोग भएका थिए वा थिएनन् भन्नलाई भ्वाइस रेकर्ड नभएको अवस्थामा निजहरूबीच अवाञ्छित संवाद भएको थियो र सोही संवाद नै मृत्युको कारण थियो भनी अनुमान गर्न कानुनतः मिल्ने अवस्था पनि तत्काललाई देखिएन,’ अदालतले भनेको छ ।

प्रतिवादीले धाक-धम्की, दबाब नदिएको, कुनै षड्यन्त्र नगरेकाले आरोपमा पूर्णतः इन्कार रही गरेको बयान मिसिलमा संलग्न रहेको अदालतको आदेशमा उल्लेख छ । अब शम्भुको कुरा गर्दा दुर्घटनामा चोटपटक लागेको प्रष्ट छ । प्रहरी र अस्पतालले समेत दुर्घटनाकै कारण भनेर प्रारम्भिक रिपोर्ट दिएको छ । त्यसमाथि रविविरुद्ध कसैको उजुरी पनि छैन ।

अनि यस्ता तथ्यहीन र आधारहीन कुरालाई ‘सत्य’ मानेर सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूले एकपटक सोच्ने कि ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved