यसरी हुँदैछ गृहमा रविको ‘कम्ब्याक’

यसरी हुँदैछ गृहमा रविको ‘कम्ब्याक’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल सुरु गरेका छन्। प्रचण्डको कुरामा रवि लामिछानेसमेत सकारात्मक देखिएका छन्।

वैशाख १० को उपनिर्वाचन जितेलगत्तै टेलिफोनमार्फत रविलाई ‘बधाई तथा शुभकामना’ दिएका प्रचण्डले आइतबार बालुवाटारमै बाेलाएर थप बधाई थपिदिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेका बीचमा भएको टेलिफोन वार्ता र भेटमा चुनाव जितेकोमा बधाईको कुराभन्दा अझै ठूलो ‘सरप्राइज’ कुराकानी पनि भएको छ। तर, दुवैले ‘कुरो’को ‘चुरो’ बाहिर ल्याएका छैनन्।

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्रीले रविलाई उपप्रधानसहित कुनै एक मन्त्रालय लिएर सत्ता सहकार्य गर्न आग्रह गरेका थिए । प्रचण्डको आग्रहपछि रविले यस विषयमा पार्टी संसदीय दल र केन्द्रीय समितीले निर्णय गर्ने बताएका थिए। रविलाई गृहभन्दा अर्को मन्त्रालय प्रस्ताव गर्न खोजे पनि रविको बटमलाइन गृहमन्त्री नै भएको बुझेपछि प्रचण्डले त्याे पनि ‘ओके’ भनिसकेको स्रोतले बतायो।

प्रचण्डले तपाईंको स्पष्ट कुरा आएमा मलाई पनि गठबन्धन र मेरै दलभित्र कुराकानी गर्न सहज हुन्छ भनेको प्रचण्ड निकट स्रोतको दाबी छ। त्यसको जवाफमा रविले सरकारमा सहभागी हुने अवस्थामा ‘गृह’ बाहेकको कुरामा छलफल गर्न आवश्यक नरहेको भन्ने आशय व्यक्त गरेका थिए। यद्यपि, उनले सरकारमा सहभागी हुने नहुने विषयमा थप सोचेर जवाफ दिने भन्दै बालुवाटारबाट निस्केको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले टेलिफोनमार्फत बधाई दिएकै बेलामा भेटेर थप कुराकानी गरौं भनेकाले आइतबार लामिछाने बालुवाटार पुगेका हुन्। बालुवाटारमा आधा घण्टा बसेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले बधाई लिएपछि प्रधानमन्त्रीसँग १५ मिनेट छुट्टै कुराकानी गरेका थिए। ‘उहाँहरूबीच बधाई दिने/ लिने काम भएको हो त्योबाहेक अरु राजनीतिक विषय जानकारी भएन’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने–‘प्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीको रूपमा मात्रै होइन दुई पार्टीको नेतृत्व भेट हुँदा सरकार र राजनीतिक विषयमा पनि छलफल हुनु स्वाभाविक हो। तर, के विषयमा कुरा भयो भन्ने उहाँहरूबाटै आउला।’

प्रधानमन्त्रीसँग भेटेपछि रास्वपा सभापति लामिछानेसमेत दोधारमा रहेको बुझिएको छ। पार्टीका सांसद् स्वर्णिम वाग्लेलगायत केही नेता तत्काल सरकारमा जानै नहुने पक्षमा रहेको तर, रवि लामिछानेसहित उनको ‘कोर टिम’ गृहमन्त्री लिएर सत्तामा जानुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले सत्तामा ‘कम्ब्याक’ हुने तर गृह मन्त्रालय बटमलाइन रहेको आशय देखाएपछि प्रचण्ड पनि  त्यसमा सकारात्मक रहेको बुझिएको छ। प्रचण्डसँग भेटपछि रविले केही पार्टीका नेताहरूसँग बालुवाटार भेटबारे छलफल गरेका छन्।

तर, पार्टी तत्काल सरकारमा सहभागी हुँदा प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधव नेपाल नेतृत्वको पार्टी जस्तै जनाताले रास्वपालाई पनि ‘उस्तै रहेछ’ भन्लान् भन्ने पीर परेको रास्वपाका एक नेताले बताए।

पार्टी सरकारमा सहभागी हुने नहुने विषयमा सोमबारको बैठकपछि थप कुरा आउने रास्वपा सह-महामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन्। ‘अहिले हाम्रो मात्रै निर्णय र चाहनाभन्दा पनि जनताको कुरा पनि सुन्नुपर्छ’ उनले नेपालभ्युजसँग भने,‘हामीलाई जनताबाट सरकारमा गएर त्यहाँ भित्रको फोहोर सफा गर्नुपर्छ भन्ने र जानुहुँदैन भन्ने दुवैथरी प्रतिक्रिया आइरहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved