लाजेहाङको शव उठाइँदै, आन्दोलनरत पक्षको माग पूरा भएको हो ?

पहिचान पक्षधर आन्दोलनमा घाइते भइ उपचारको क्रममा निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ को शव उठाइने भएको छ । शव वैशाख ९ गते शनिवार उठाउने तयारी गरिएको छ ।

नेपालभ्युज

लाजेहाङको शव उठाइँदै, आन्दोलनरत पक्षको माग पूरा भएको हो ?

काठमाडौं । पहिचान पक्षधर आन्दोलनमा घाइते भइ उपचारको क्रममा निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ को शव उठाइने भएको छ । शव वैशाख ९ गते शनिवार उठाउने तयारी गरिएको छ ।

विराटनगरमा चैत ५ गते भएको पहिचान पक्षधर आन्दोलनमा घाइते भइ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत लाजेहाङको चैत १० गते निधन भएको थियो । त्यसपछि परिवारसँगको समन्वयमा आन्दोलनरत घटकहरूले आफ्नो माग पूरा नभइकन शव नउठाउने अडान राखेको थियो ।

आन्दोलनरत घटकहरूले कोशी प्रदेश नामाकरण खारेजीसँगै पहिचानको पक्षमा पुन:नामाकरण गरिनुपर्ने, दिवङ्गत लाजेहाङ शहीद घोषणा हुनुपर्ने, दिवङ्गत लाजेहाङ-परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका मागहरू राख्दै लाजेहाङको शव नउठाउने अडान राखेको थियो । सरकारले लाजेहाङलाई शहीद घोषणा गरिसकेको छ भने क्षतिपूर्तिबापत्‌को रकमसमेत उपलब्ध गराइसकेको छ ।

तर, कोशी प्रदेश नामाकरण खारेजीसँगै पहिचानको पक्षमा पुन: नामाकरण भने भएको छैन । तर, पनि किन शव उठाउन लागिएको हो ? भन्ने प्रश्नमा आन्दोलनरत घटक किरात राई यायोक्खाका महासचिव भीमराज राई भन्छन्, “शहीद घोषणा गर्ने र क्षतिपूर्तिबापत् केही रकम उपलब्ध गराउने काम भएको छ भने कोशी प्रदेश नामाकरण खारेजीसँगै पहिचानका आधारमा पुन: नामाकरणबारे सरकारले विश्वस्तखाले आश्वासन दिएको छ । यसपछि शव उठाउन लागिएको हो ।”

परिवारले पनि शव उठाउन चाहेको महासचिव राईले बताए । “परिवारले पनि अब धेरै नराखौँ भन्ने प्रस्ताव ल्यायो । त्यसो त शव सड्न थालेको छ । त्यसकारण उठाउन लागिएको हो,” महासचिव राईले भने ।

अहिलेसम्म लाजेहाङको शव शव-गृहमै थियो । शनिवार ९ गते बिहान १० बजे धरानमा र ११ बजे इटहरीमा श्रद्धाञ्जली सभा राखिएको छ । यस्तै दिउँसो १२ बजे विराटनगरमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै दिउँसो २:३० बजे लाजेहाङ निवास बेलबारीमा शव पुर्‍याइनेछ ।

यसपछि दिउँसो ४ बजे अन्तिम संस्कार गरिनेछ । लाजेहाङ सङ्घीय लिम्बूवान् राष्ट्रिय मञ्चको लिम्बूवान् भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर थिए ।

०७९ फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेश नं. १ को नाम कोशी पारित गरेपछि पहिचान पक्षधर घटकहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । आन्दोलतरत घटकहरूमा किरात राई यायोक्खासहित किरात याक्थुम चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, पहिचानसहितको प्रदेश नं. १ पुन: नामाकरण अभियान समिति, नेपाल शेर्पा सङ्घलगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved