उपनिर्वाचन : अन्तिम प्रचारप्रसारका लागि सबै भीआईपी फिल्डमा !

बारामा गठबन्धन र एमाले, चितवनमा रास्वपा र गठबन्धनको सभा

नेपालभ्युज

उपनिर्वाचन : अन्तिम प्रचारप्रसारका लागि सबै भीआईपी फिल्डमा !

काठमाडौं। वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको प्रचार-प्रसार र सभा आज रातिदेखि गर्न नपाइने भएको छ।
निर्वाचन अगाडिको मौन अवधि सुरु हुनुअगावै आजै दिउँसो बारा र चितवनमा सत्ता गठबन्धन र प्रतिपक्षी दलका छुट्टाछुट्टै सभा आयोजना हुँदेछन्।

बारा-२ र चितवन-२ मा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पूर्वप्रधानमन्त्रीहरू जाँदैछन्।

त्यसैगरी, एमालेको बारामा आजै बृहद सभा हुँदैछ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चितवनमा आजै सभा राखेको छ। रास्वपाले चितवनमा गर्ने ‘बृहत् चुनावी सभा’लाई चितवन–२ का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्नेछन्।

यसैगरी, चितवन २ मा आजै सत्ता गठबन्धनले पनि चुनावी सभा गर्दैछ। सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्दै छन्।

चितवन–२ मा रास्वपाबाट सभापति लामिछाने, कांग्रेसबाट कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

उता, सत्ता गठन्धनबाट बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् भने एमालेले पूर्वमन्त्रीसमेत रहेका नेता पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। यहाँ जनमत पार्टीका शिवचन्द्र कुसवाहा र रास्वपाका रमेश खरेल पनि प्रतिस्पर्धी छन्।

सत्ता गठबन्धनले गढीमाई र एमालेले नेपाल–भारत सीमा क्षेत्रनजिकै पर्ने पचरौतामा आज अन्तिम आमसभा गर्दैछन्।

सत्ता गठबन्धनको सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, एमालेको सभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बारा-२ मा मुख्य रूपमा जसपाका यादव, जनमतका कुशवाहा, एमालेका उम्मेदवार पौडेल र रास्वपाका उम्मेदवार रमेश खरेलबीच नै प्रतिस्पर्धा हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved