के हो ‘बनाना रिपब्लिक’ ? के नेपाल ‘केरा गणतन्त्र’ बन्दैछ ?

प्रारम्भमा ‘बनाना रिपब्लिक’ त्यस्ता साना देशका लागि प्रयोग गरिन्थ्यो, जसका निर्यातयोग्य वस्तु सीमित हुन्थे, अर्थतन्त्र सानो हुन्थ्यो, छिमेकको ठूलो देशको अर्थतन्त्रमा निर्भर रहनुपर्दथ्यो । यस्तो साना देशले केरा, नरिवल, जुट, उखु, काठजस्ता प्राकृतिक तथा कृषि उत्पादन मात्र निर्यात गर्ने सामर्थ्य राख्थे।

के हो ‘बनाना रिपब्लिक’ ? के नेपाल ‘केरा गणतन्त्र’ बन्दैछ ?

काठमाडौं। हिजोआज विश्वसञ्चार माध्यममा र नेपालमै पनि बारम्बार प्रयोग हुने शब्द हो– ‘बनाना रिपब्लिक’ अर्थात् ‘बनाना गणतन्त्र’ । ‘बनाना’ को ठेट नेपाली शब्द त ‘केरा’ नै हो तर यसलाई नेपालीमा अनुवाद गर्दा ‘केरा गणतन्त्र’ भनिनु सायद त्यति सभ्य र शोभनीय सुनिँदैन।

त्यसो भए यसको उचित अनुवाद के हो त ? यो भाषाविद्को काम हो । सम्भवत: पाकेको केराको रंग पहेलो हुने हुँदा यसलाई ‘पित गणतन्त्र’ भन्न उचित हुने हो कि ? भाषिक दृष्टिकोणले के भनिन्छ, भनिनुपर्ने हो वा भन्नु उपयुक्त हो ? त्यसलाई छोडेर यसको अर्थ, आशय र परिभाषामा जाउँ– बनाना गणतन्त्र भनेको हो ? कसरी उत्पति भएको थियो यो शब्द ? र यो कस्ता देशका लागि प्रयोग हुन्छ ?

प्रारम्भमा ‘बनाना रिपब्लिक’ त्यस्ता साना देशका लागि प्रयोग गरिन्थ्यो, जसका निर्यातयोग्य वस्तु सीमित हुन्थे, अर्थतन्त्र सानो हुन्थ्यो, छिमेकको ठूलो देशको अर्थतन्त्रमा निर्भर रहनुपर्दथ्यो । यस्तो साना देशले केरा, नरिवल, जुट, उखु, काठजस्ता प्राकृतिक तथा कृषि उत्पादन मात्र निर्यात गर्ने सामर्थ्य राख्थे।

यो शब्दको पहिलो प्रयोग अमेरिकी लेखक ओ हेनरीले सन् १९०४ मा होन्डुरसका लागि गरेका थिए । होन्डुरसमा केरा लगायतका फलफूलको व्यापक उत्पादन हुन्थ्यो । अमेरिकी व्यापारीले अत्यन्तै सस्तो मूल्यमा ती फलफूल आयात गरी राम्रो मुनाफा कमाउँथे । तर, होन्डुरस र त्यहाँ कृषकले भने खासै आम्दानी गर्न पाउँदैनथे ।

त्यसपछि यो शब्द कोस्टारिका, घाना र क्युवाका लागि प्रयोग हुन थालेको थियो । कोस्टारिकाको मुख्य उत्पादन फलफूल, घानाको नरिवल र क्युवाको मुख्य निर्यातयोग्य वस्तु उखु थियो । अमेरिकाका केरा व्यापारीले होन्डुरसको केरा अमेरिकी र विश्व बजारमा बेचेर कुस्त सम्पत्ति मात्र कमाएनन्, त्यसैको शक्ति प्रयोग गरी होन्डुरसमा राजनीतिक हस्तक्षेप समेत गर्न सक्ने हैसियत बनाए । हुँदाहुँदा यस्तो अवस्था आयो कि होन्डुरसको राजनीति र प्रशासन अमेरिकी केरा व्यवसायीले जसरी नचाउन चाह्यो, त्यसरी नै नाच्चे कठपुतली जस्तो बन्न पुग्यो।

ओ हेनरी अंग्रेजी साहित्यमा एक अनौठा र लोभाकर्षक कथाकार थिए । उनी छोटा कथा लेख्थे । उनको ‘क्याबेजेज एन्ड किंस’ कथा संग्रहको एक कथामा ‘बनाना रिपब्लिक’ शब्दको प्रयोग भएको थियो । त्यसमा उनले ६ महिना होन्डुरसको एक होटलमा लुकेर बस्दा देखेका परिदृष्य र अनुभव उतारेका थिए। पछि यो शब्द राजनीतिमा प्रयोग गर्न थालियो । त्यो बेला एक अमेरिकी युनाइटेड फ्रुट कम्पनीले होन्डुरसको अर्थतन्त्र, प्रशासन राजनीति कब्जा गरे बराबरको स्थिति उत्पन्न भएको थियो। युनाइटेड फ्रुट कम्पनीको मुनाफा र दबदबाबाट प्रभावित भएर अमेरिकामा दर्जनौं फलफूल व्यवसायी कम्पनी खुलेका थिए।

ती कम्पनीले अमेरिकी र अफ्रिकी महादेशका विभिन्न देशमा सस्तो जमिन लिज गरी व्यापक मात्रमा फलफूलको खेती गर्ने गर्थे । यसरी गरिएको खेतीमा सबैभन्दा धेरै मात्रामा केरा उत्पादन हुने हुँदा ओ हेनरीले ‘बनाना’ लाई त्यस्तो अर्थतन्त्रको प्रतीक बनाएका थिए ।

राजनीतिशास्त्रमा यसले दिने अर्थ ‘त्यस्तो राज्य जहाँ सीमित कृषि तथा प्राकृतिक उत्पादन हुन्छन्, त्यसमाथि पनि विदेश व्यापारीको हालीमुहाली हुन्छ, त्यसबाट उत्पन्न हुने आर्थिक शक्तिलाई प्रयोग गरेर उनीहरूले त्यस देशको राजनीतिक तथा प्रशासनिक शक्तिलाई समेत नचाउँछन्, त्यो देशका प्रशासक र राजनीतिज्ञहरू उनीहरूकै इसारामा नाच्छन्, राज्य भन्नु अन्तर्राष्ट्रिय व्यापारिक संस्थाहरूको एजेन्ट वा सहयोगीजस्तो बन्न पुग्दछ, तर आम जनताले भने त्यसको फाइदामा हिस्सेदारी पाउँदैनन्, आम जनताको व्यापक आर्थिक शोषण गरिन्छ’ भन्ने हुन्छ।

तसर्थ, आशयको दृष्टिकोणले ‘बनाना रिपब्लिक’ को नेपाली अनुवाद ‘रुग्ण गणतन्त्र’ वा ‘कठपुतली गणतन्त्र’ हुन सक्दछ । बीसौं शताब्दिको उत्तरार्द्धमा माल्दिभ्स र फिलिपिन्सलाई ‘बनाना रिपब्लिक’ भन्न थालियो । कारण माल्दिभ्सको अर्थतन्त्र, प्रशासन र राजनीति केही रिसोर्ट कम्पनीको हातमा थियो भने फिलिपिन्सको केही सुर्ती कम्पनीको।

‘बनाना रिपब्लिक’ को आधुनिक अर्थ भने झनै फरक र व्यापक हुँदै गएको छ । यसले सानो संख्याका निश्चित व्यापारी, राजनीतिज्ञ र प्रशासकको मिलोमतोमा निर्माण हुने अल्पतन्त्र (ओलीग्रासी) ले कब्जा गरेको र त्यस समूहको स्वार्थ अनुरुप चलाइरहेको अस्थीर र अराजक राज्य भन्ने अर्थ दिन्छ। तसर्थ, आधुनिक राजनीतिकशास्त्रमा यसको अर्थ ‘भ्रष्ट, अस्थीर र अराजक राज्य’ भन्ने हुन्छ।

सन् २०१८ मा द गार्जियनले बेलायतको लागि यो शब्द प्रयोग गरेको थियो । ‘युकेः अ बनाना रिपब्लिक’ लेखेको थियो । त्यसको कारण– प्रधानमन्त्री बोरिस जोनसनको अल्पतन्त्री शासन शैली र राजदरबारका अपारदर्शी क्रियाकलाप थिए।

नेपालको स्थितिसँग तुलना गर्ने हो भने ‘बनाना रिपब्लिक’ का यी सबै प्रकारका अर्थ मिल्दोजुल्दो छन् । नेपाल अहिले पनि सीमित निर्यातजन्य वस्तु भएको देश हो। नेपालका मुख्य निर्यातजन्य वस्तु अलैंची, चिया, अम्लिसो, अदुवा, कफी, छुर्पी आदि हुन् ।

दोस्रो कुरा– नेपालको अर्थतन्त्र ठूलो मात्रामा भारतसँग आधारित छ। निर्यात भन्दा आयात झण्डै १७ गुणा बढी छ। भारत, चीन, अमेरिकाको बढ्दो राजनीतिक, आर्थिक र सामरिक स्वार्थलाई सन्तुलन गर्न नेपाललाई हम्मेहम्मे परिरहेको छ।

तेस्रो– नेपालको अर्थतन्त्र र राजनीति सीमित राजनीतिक शक्ति र तिनका शीर्ष नेताहरुले कब्जा गर्दै लगेका छन् । राजनीतिक नेतृत्व, प्रशासन र व्यापारिक संस्थाको हित र मिलेमतोमा आर्थिक नीतिहरू तय हुने गर्दछन् । भ्रष्टाचार उत्तिकै बढ्दै गएको छ।

अलिक असभ्य र ठाडो अवश्य सुनिन्छ, तर देश निरन्तर ‘केरा गणतन्त्र’ भन्न मिल्ने स्थितितिर गइरहेकोमा धेरैको विमति नहोला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved