यसरी बनेका हुन् अमेरिकाका ५० राज्यको नाम

अमेरिका पुरानो संघीय राज्य हो । यसको जन्म नै संघीय ढाँचामा भएको थियो । अमेरिकाका ५० राज्यको नाम कहाँबाट किन र कसरी लिईयो भन्ने चर्चा सायद नेपालको बहसमा समेत सान्दर्भिक हुन सक्दछ ।

नेपालभ्युज

यसरी बनेका हुन् अमेरिकाका ५० राज्यको नाम

काठमाडौं। प्रदेश १ को नाम ‘कोशी’ राखेसँगै नेपालमा ७ वटै प्रदेशको नामाकरण पूरा भएको छ । प्रदेशहरूको नामाकरण पूरा भएपनि यससम्बन्धी असन्तुष्टि र बहस जारी नै छ । ‘कोशी’ नामाकरणविरुद्ध प्रदेशमा विरोध भइरहेका छन् ।

संघीय गणतन्त्रमा राज्य वा प्रदेशको नाम कहाँबाट लिइन्छ र कसरी राखिन्छ ? यसका आ-आफ्नै उदाहरण छन् । अमेरिका पुरानो संघीय राज्य हो । यसको जन्म नै संघीय ढाँचामा भएको थियो । अमेरिकाका ५० राज्यको नाम कहाँबाट किन र कसरी लिइयो भन्ने चर्चा सायद नेपालको बहसमा समेत सान्दर्भिक हुन सक्दछ ।

सन् १७७६ मा अमेरिकाको स्वतन्त्रता घोषणा हुनुअघि त्यहाँ मूलत: बेलायत, स्पेन र फ्रान्सका उपनिवेश थिए । तसर्थ, कतिपय नाम अंग्रेजी, स्पेनिश, फ्रान्सेली भाषाबाट आए । तर अधिकांश नाम अमेरिकी जातीय समुदाय र मौलिक बोलीबाट आएका छन् ।

अलाबामा दुई शब्द ‘अल्बा’ र ‘अमो’ को मिश्रण हो । यी दुई त्यहाँका मुख्य रेड इन्डियन जातीय समुदाय थिए । यसको अर्थ कृषिकार्यका लागि जङ्गल बाँड्ने र जमिन खार्ने प्रथम समुदाय हुन्छ । ‘अलास्का’ अल्यूट जातीय भाषाको ‘अलयेस्का’ बाट बनेको हो, जसको अर्थ ‘महान् भूमि’ भन्ने हुन्छ । ‘अल्यूट’ एक जाति थियो ।

‘एरिजोना’ शब्दको उत्पतिबारे स्वयम् अमेरिकी प्रष्ट छैनन् । तर, अमेरिका राज्यको गठन अघि नै त्यो क्षेत्रलाई स्थानीय बासिन्दाले एरिजोना भन्थे । अर्कान्सस भने ओहियो भ्यालीमा बसोबास गर्ने क्युपाओ जातिबाट बनेको हो ।

क्यालिफोर्निया स्पेनिश उपहार हो । यो १६औं शताब्दीकी एक स्पेनिश राजकुमारी ‘क्यालिफिया’ नामबाट बनेको हो । त्यसैगरी ‘कोलोराडो’ पनि स्पेनिश भाषाको नाम हो, ‘कलर रोजो’ बाट बनेको हो, जसको अर्थ ‘रंग रातो’ हुन्छ । त्यहाँ बग्ने नदी किनारको बालुवाको रंग रातो थियो । अचेल त्यसलाई कालोराडो नदी भनिन्छ ।

‘फ्लोरिडा’ पनि स्पेनिश भाषाको फ्लोरिडो बाट बनेको मानिन्छ, जसको अर्थ फूलेका फूलले भरिएको जमिन भन्ने हुन्छ । ‘मोन्टाना’ स्पेनिश शब्द हो, त्यहाँको एक पहाडको नाम हो यो । नेभाडा भने स्पेनिश भाषाको ‘सिइरा निभादा’ बाट बनेको मानिन्छ, यसको अर्थ हुन्छ— हिउँले ढाकिएको जमिन ।

‘कनेक्टिकट’ स्थानीय ‘अल्गोक्वाइन’ भाषाको शब्द हो, यसको अर्थ हुन्छ— लामो नदीको छेउछाउको जमिन । ‘डेलावर’ डेला नामको ‘नदी’ र ‘बर’ को खाडीको नामलाई जोडेर बनाइएको हो । तर, यी नाम स्थानीय भाषाका हुन् । म्यासाच्युसेट पनि यही भाषाको शब्द हो, यसको अर्थ नीला पहाड भएको भूमि हुन्छ । मिसिसीपी र मिसैरी दुवै नदीका नाम हुन् तर ‘अल्गोक्वाइन’ भाषाका शब्द हुन् ।

‘मिचिगन’ भने स्थानीय चिपेवा भाषाबाट बनेको हो । अर्थ ‘मिची’ र ‘गन’ ठूलो पोखरी हुन्छ । ‘हवाई’ हवाईन जातिबाट बनेको हो । ‘इडाओ’ जातिको नाम हो । मिन्सेटा जातिबाट मिनासोटा बन्छ । नेब्रास्का भने ‘ओटियो’ जातिको भाषाबाट बनेको हो । त्यसै गरी युटाह युटाही जातिबाट बनेको हो ।

१७औं शताब्दीमा त्यहाँ पुगेका फ्रान्सेलीले स्थानीयलाई ‘इलि नोइस’ अर्थात् ‘असल मान्छे’ भन्ने गर्दथे । त्यहीबाट ‘इलिनोइस’ बन्यो । यो भने फ्रान्सेली भाषाको शब्द हो । त्यसैगरी लुजियाना पनि फ्रान्सेली शब्द हो, जो फ्रान्सका सम्राट लुईस चौथौंको नामबाट बनेको हो ।

बोरमन्ट पनि फ्रान्सेली भाषाको शब्द हो, यसको अर्थ हुन्छ– हरिया पहाडहरू । ‘इन्डियाना’ ले भने मूल अमेरिकी आदिवासी ‘रेड इन्डियन्स’ को भूमि भन्ने बुझाउँछ । ‘लोवा’ एक कविला जातिको नामबाट आएको हो । ‘कान्सस’ पनि ‘कान्स’कविला जातिको नामबाट बनेको हो । ‘केन्टुकी’ एक स्थानीय भाषा ‘इरोक्वीइस’ को ‘केन–ता–तेन’ बाट बनेको हो, जसको अर्थ भविष्य राम्रो भएको भूमि भन्ने हुन्छ।

जर्जिया भने बेलायतका राजा जर्ज द्धितीयको नामबाट राखिएको हो, जसले १७७२ मा यसलाई बेलायती उपविनेशको मान्यता दिने कागजातमा लालमोहर लगाएका थिए । ‘माइने’ भने बेलायतीहरूले अंग्रेजी भाषाबाट दिएको नाम हो, जसको अर्थ मूल भूमिभन्दा टाढाको टापू भन्ने लाग्दछ । त्यसैगरी ‘मेरीलेण्ड’ राजा चार्ल्स प्रथमकी पत्नी रानी मारियाको नामबाट रहेको मानिन्छ ।

न्यू ह्याम्पसायर भने अंग्रेज क्याप्टेन जोहन मिसन ह्याम्पसायरको नामबाट बनेको हो । क्याप्टेन ह्याम्पसायरले आफ्नो बाल्यकाल यहाँ बिताएका थिए । सन् १६२९ मा आफू शक्तिशाली भएपछि यो ठाउँको नाम आफ्नो नामबाट राखेका थिए । न्यू जर्सी पनि व्यक्तिको नाम अंग्रेज अधिकारी सर जर्ज कारटर्टको नामबाट बन्यो । त्यसै गरी न्यूयोर्क राजा चार्ल्स द्धितीयका भाइ ड्युक अफ योर्कको नाममा रहेको हो । ल्याटिन भाषामा ‘योर्क’ शहर हुन्छ ।

क्यारोलिना ब्रिटिस राजा चाल्र्सको स्थानीय उच्चारण ‘कारालोस’ हुँदै अपभ्रंश भएको बनेको मानिन्छ । सन् १७१२ मा क्यारोलिनालाई उत्तर र दक्षिणका विभाजन गरिएको थियो । डाकोडा भने स्थानीय सिउस भाषाको शब्द मानिन्छ, यसको अर्थ मित्रताको भूमि भन्ने हुन्छ । डाकोडा पनि उत्तर र दक्षिणमा विभाजित छ ।

‘न्यू मेक्सिको’ भने सन् १८४८ को अमेरिका-मेक्सिको युद्धपछि अमेरिकातिर पर्न गएको मेक्सिकोको भूभाग हो । मेक्सिको देश ‘मिजिट्ली’ जातिको भूमि भन्ने अर्थमा प्रयोग हुन्छ । ‘ओहियो अरोक्विइस भाषाको ‘सुन्दर नदी’ अर्थ दिने शब्दबाट बन्दछ । ओक्लाहोम एक स्थानीय भाषाको ‘ओक्ला’ र ‘हुम्मा’ यसको अर्थ पनि रेड इन्डियन जाति भन्ने हुन्छ । वायोमिङ पनि यही भाषाको शब्द हो । रोडे आइलैण्डको अर्थ पनि राता जातिहरूको टापु भन्ने नै हो ।

‘ओरेगन’ भने आँधी आइरहेन क्षेत्र भएको हुँदा अंग्रेजीको हुरिकन वा फ्रान्सेली भाषाको ‘ओराकन्स’ मध्ये एकबाट बनेको हुन सक्दछ । यी दुवैको अर्थ आँधीहुरी हुन्छ । पेन्सेल्भेनिया भने अंग्रेजीको ‘पेन्स’ र ल्याटिन भाषाको ‘सिल्भानीया’ को जोड हो, यसको अर्थ ‘पेन्सको जंगल’ । एक अंग्रेज अधिकारी वियिलम पेन्सले अधिनस्थ गरेको जंगली क्षेत्रको अर्थमा यो नाम रहेको हो ।

टेनेसी क्रिक भाषाको टेनोकीबाट बन्छ । सन् १५६७ मा स्पेनिश अधिकारी जुनो पार्डोले स्थानीय भाषाबाट गाउँको नाम लिँदा यो शब्द पहिलोपटक अभिलेख गरेका थिए । टेक्सास भने केडो र हाइनिस जातिको अभिबादन गर्ने शब्द ‘टेइ’ र ‘सास’ बाट बन्छ जसको अर्थ हुन्छ– नमस्कार मित्र ।

बेलायती महारानी एलिजाबेथ प्रथमलाई ‘भर्जिनिया क्वीन’ पनि भनिन्थ्यो । भर्जिनीया र पश्चिम भर्जिनिया दुई राज्य छन । बासिङगटन डिसी भने अमेरिकाका प्रथम राष्ट्रपति तथा स्वतन्त्रता सेनाका कमान्डर जर्ज बासिङगटनको सम्मानमा उनकै नामबाट अमेरिकाको स्थापनापछि सरकारी निर्णयबाट राखिएको नाम हो ।

‘विस्कोन्सन’ फ्रान्सेलीहरूको एक समुदायले रेड इन्डियन जातिलाई उच्चारण गर्दा अपभ्रंश भएको शब्द मानिन्छ । समग्रमा भन्नु पर्दा अमेरिकी राज्यहरूको नाम बाहिरका ४ भाषा अंग्रेजी, स्पेनिश, फ्रान्सेली र ल्याटिनबाट र अधिकांश स्थानीय जाति र भाषाबाट बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved