यसरी सम्भव भयो यूएईविरुद्ध रोमाञ्चक जित : त्यसपछि दिपेन्द्र स्टम्प लिएर दौडिए…

लिग २ क्रिकेटमा नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित्न सक्यो । एकदिवसीय मान्यता जोगाउने मुख्य उदेश्य थियो । तर त्यो भन्दा ठुलो सफलता हाल लाग्यो । बिहीबार यूएईविरुद्धको जित नेपालको लगातार छैठौं थियो । नेपाली क्रिकेटमा यस्तो विगतमा कहिल्लै भएको थिएन ।  

यसरी सम्भव भयो यूएईविरुद्ध रोमाञ्चक जित : त्यसपछि दिपेन्द्र स्टम्प लिएर दौडिए…

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तिम खेलमा नेपालको जित ऐतिहासिक बन्यो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार नेपालले यूएईलाई डीएल मेथडबाट ९ रनले हराउँदै विश्वकप क्वालिफायरमा पुग्यो।

३५ मध्ये १८ खेल जितेर चौथो स्थानमा रहेको नेपाललाई विश्वकप क्वालिफायर पुग्न केवल १ जितको आवश्यकता थियो । यूएईलाई जितेर नेपाल तेस्रो स्थानमा उक्लिँदै क्वालिफायरमा पुग्यो।

क्वालिफायरमा पुग्न महत्वपुर्ण रहेको यो खेलमा नेपाललाई समर्थन गर्न बिहान ७ बजेदेखि त्रिवि मैदानमा दर्शक लाम लागेका थिए । अधिकांश टिकट भने बुधबार राति नै बुक भैसकेको थियो ।

समर्थक मैदान आउने क्रम भने दिउँसोसम्मै जारी थियो । तर भित्र प्रवेश गर्न भने सम्भव थिएन । गाडी तथा मानिसको अत्यधिक चाप भएका कारण त्रिविको मुल गेटबाटै प्रवेशमा कडाइ गरिएको थियो । २५ हजारभन्दा धेरै दर्शकले मैदानमै पुगेर प्रत्यक्ष खेल हेरेको अनुमान गरिएको छ । कतिपयले रुखमा चढेर पनि खेलको मज्जा लिइरहेका थिए ।

टस जितेसँँगै यूएईले ब्याटिङ रोज्यो । बुधबार पीएनजीविरुद्ध २३५ रनको लक्ष्य पछ्याएर ६ विकेटको जित निकालेको यूएईको ब्याटिङ लाइनअफ फर्ममा नै थियो । यसकारण पनि नेपालविरुद्ध यूएईलाई रन बनाउन निकै सहज भयो ।

निरन्तर भरपर्दो बलिङ प्रदर्शन गर्दै आएको नेपाल आजको खेलमा भने धरमरायो । २.५ ओभरमा आर्यन लाक्रालाई ६ रनमा आउट गरेपनि दोस्रो विकेटका लागि निकै कुर्नु पर्यो।

१६.२ ओभरमा नेपालले कप्तान मुहम्मद वसीमलाई ६३ रनमा आउट गर्यो । २२.६ ओभरमा चुन्डंगापोयिल रिजवान ७ रनमा आउट भए । आयान अफजल खानलाई दिपेन्द्र सिंह ऐरीले ३ रनमा आउट गरेपछि नेपाल खेलमा फर्कियो । त्यतिबेला यूएईले २६ ओभरमा १२८ रन बनाएको थियो र चार विकेट गइसकेको थियो ।

३७.३ ओभरमा रोहन मुस्तफालाई २० रनमा ऐरीले नै एलबीडब्लु धरापमा पारे । तर, वृत्य अरविन्द क्रिजमा जमिसकेका थिए । सातौ क्रममा आएका आसिफ खानले अरविन्दसँग मिलेर नेपाली बलरको धुलाई गरे ।

अन्तिम ८ ओभर नेपालका लागि घातक नै भयो । विष्फोटक ब्याटिङ गरेका आसिफले ४२ बलमा १०१ रन जोडे । उनी अन्तिमसम्म आउट भएनन् । आसिफ एसोसियट राष्ट्रबाट कम बलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने। उनले ११ छक्का र ४ चौका प्रहार गरेका थिए । अरविन्द इनिङ्सको अन्तिम बलमा ९४ रन बनाएर आउट भए ।

तर त्यतिबेलासम्म यूएईको स्कोर ३१० पुगिसकेको थियो । नेपालका आज कुनै पनि बलर चल्न सकेनन् । दिपेन्द्रले २ विकेट लिँदा ललित, सोमपाल र सन्दीपका नाममा १–१ विकेट रहयो । अर्को एक विकेट लिएको भए सन्दीप कम खेलमा १०० विकेट लिने खेलाडी हुन्थे ।

एकदिवसीयमा हालसम्मकै उच्च लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ सुरु गर्यो तर निराशाजनक रुपमा । ओपनर आसिफ शेख तेस्रो बलमा नै शुन्य रनमा आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल पनि १.३ ओभरमा ५ रन बनाएर पेभेलिएन फर्के । कप्तान रोहित कुमार पौडेल पनि टिक्न सकेनन् । ६.५ ओभरमा १६ रन बनाएर उनी आउट भए।

लगालग तीन विकेट झरेपछि नेपाली समर्थकमा चिन्ता देखियो । तर ओपनर कुशल भूर्तेल र भीम सार्कीले केही आशा जगाए । यो जोडीले नेपाललाई ९८ रनसम्म पुर्‍यायो ।

कुशल ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । यसपश्चात भीम र आरिफ शेखले ८३ रनको साझेदारी गरेर नेपाली आशा जीवितै राखे ।

भीम ६७ रन बनाएर ३०.६ ओभरमा पेभेलिएन फर्के । आरिफ ५२ रन बनाएर ३९.१ ओभरमा आउट भए । तर यतिबेलासम्म नेपालको स्कोर २२५ पुगिसकेको थियो । नेपालसँग अझै चार विकेट बाँकी थियो । यद्यपी ओभर भने कम हुँदै गएको थियो ।

सुस्त सुरुवात गरेका गुल्सन झाले ४२ औं ओभरमा २० रन हानेर नेपाली टोलीको हौसला बुलन्द गरे । उनलाई अर्को छेउबाट दिपेन्द्र सिंह ऐरीले साथ दिए । ३६ बलमा नेपाललाई ४२ रन आवस्यक थियो । गुल्सन ५० र दिपेन्द्र १० रन बनाएर क्रिजमा थिए । तर मौसम धुम्मिन थाल्यो । अँध्यारो हुन थालेपछि एम्पायरले खेल रोके ।

तर त्यतिन्जेल नेपालले आफ्नो काम तमाम गरिसकेको थियो । अम्पायर र जहूर खानबीच केही छलफल देखियो । यूएईका खेलाडीमा तनावको भाव उत्पन्न भएको थियो । नेपाली खेलाडी तथा समर्थक पनि के भईरहेको छ बुझ्न सकिरहेका थिएनन्।

त्यही बेला दिपेन्द्र स्टम्प बोकेर मैदानमा दौडिन थाले । अन्य खेलाडीले पनि उनलाई साथ दिए । ‘लाईट प्याड’ का कारण डिएल मेथडद्धारा नेपाल विजेता भैसकेको थियो ।

यससँगै नेपाली टोली जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भयो । नेपालले टेस्ट मान्यता भएका राष्ट्रसँग खेल्ने रहर पुरा भएको छ ।

सन् २०१४ मार्च १६ मा नै बङ्गलादेशमा भएको विश्वकप टी–२० प्रतियोगिता खेलेको नेपालका लागि एकदिवसीय क्रिकेटमा यो सबैभन्दा माथिल्लो उपलब्धि हो ।

लिग २ क्रिकेटमा नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित्न सक्यो । एकदिवसीय मान्यता जोगाउने मुख्य उदेश्य थियो । तर त्यो भन्दा ठुलो सफलता हाल लाग्यो । बिहीबार यूएईविरुद्धको जित नेपालको लगातार छैठौं थियो । नेपाली क्रिकेटमा यस्तो विगतमा कहिल्लै भएको थिएन ।

अब २०२३ मार्च १६ मा नेपालले एकदिवसीय विश्वकप छनोट खेल्ने भएको  छ । त्योसँगै नेपाली क्रिकेटले अर्को उचाइ हासिल गर्ने पक्का छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved