यी गीतसँगै हुर्किएका केटाकेटी जवान भइसके, युवाहरूलाई बुढेशकालको तुषारोले ढाकिसक्यो, तर यो गीत अझै पुरानो भएको छैन।
नेपालभ्युज
‘होलीले मेरो रंगायो नयाँ चोली हे.. होलीले मेरो रंग्यायो नयाँ चोली इन्द्रेणी रंग लिई आयो होली, फागुन महीनामा खेलौँ होली’
होलीसँगै सम्झनामा आउँछ किरण खरेलको यो केही कालजयी गीत, गुञ्जिन्छ शहर-बजार र गाउँ बस्तीहरूमा। होलीको सिग्नेचर गीत बनेको यो संगीत नसुन्ने सायदै होलान्।
३० वर्ष पहिले उदितनारायण झा र दीपानारायण झालगायतको स्वरमा पहिलोपटक सार्वजनिक यो गीत होलीको बेला उहिले रेडियो र टेलिभिजनमा बज्थ्यो, आजका दिनमा पनि सामाजिक सञ्जाल टिकटकलगायतमा ट्रेण्डिङ छ धेरैले यो गीतमा लिपसिङ भिडिओ अपलोड गरेका छन्।
जबजब होली नजिकिँदै जान्छ, यो र होलीका लागि तयार गरिएकाहरू यस्तै अन्य गीतको चर्चा हुन्छ। नेपाली सञ्चारमाध्यममा होलीको अवसरमा नेपाली, हिन्दी, भोजपुरी गीतहरूको धेरै प्रयोग हुन्छ।
‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग? कौन तालपर गोरिया नाचे कौन तालपर हम? जोगीरा सर र र…’
तराई–मधेशमा प्रचलित फागुपूर्णिमा अर्थात होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ आजका दिनमा पनि उत्तिकै लोकप्रिय छ।
वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मधेशका शहर र गाउँ/देहातमा गाइने यस्ता गीत पछिल्लो समय लोप हुँदै गएका छन्।
तथापि आजका दिनमा पनि होलीमा यो गीतको विकल्पको रूपमा अन्य कुनै गीत देखिएको छैन। यसपालिको होलीमा चर्चामा रहेका केही गीत यस्ता छन्:
१) होलीले मेरो रंगायो नयाँ चोली…
नेपाली सञ्चारमाध्यममा सबैभन्दा बढी बज्ने नेपाली भाषाको होली गीत हो। उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ, पूर्णिमा श्रेष्ठको स्वरमा सजिएको यो गीत यसपालिको होलीमा सामाजिक सञ्जालदेखि सडकसम्ममा गुञ्जिरहेको छ।
यसमा राजेश हमाल र कृष्टि मैनालीले समूह कलाकारहरूसँग आकर्षक नृत्य गरेका छन्। हरेक वर्षको होलीमा रेडियो तथा टेलिभिजनमा यो गीत पटक–पटक बजिरहन्छ।
त्यसो त यो गीत भन्दा अघि र पछि पनि होली विशेष गीत नबनेका होइनन्, यद्यपि नेपालीमा समाजमा यो गीतले एउटा छुट्टै स्थान बनाइसकेको छ।
२) फागू हो
होली आएपछि जताततै सुनिने अर्को नेपाली गीत हो ‘फागु हो फागु’। नीर शाह निर्देशित फिल्म ‘वसन्ती’मा समावेश यो गीत नबजे आज पनि होली आएको आभास हुँदैन।
यो गीतसँगै हुर्किएका केटाकेटी जवान भइसके, युवाहरूलाई बुढेशकालको तुषारोले ढाकिसक्यो तथापि यो गीत अझै पुरानो भएको छैन।
हरेक होलीमा जस्तै यस वर्ष पनि यो गीत उत्तिकै उल्लाससहित बजिरहेको सुनिन्छ। गीतको शब्द नीर शाह आफैँले लेखेका हुन् भने सङ्गीत शम्भुजित बाँस्कोटाले गरेका हुन्। गीतमा निरुता सिंह, करिस्मा मानन्धरलगायत कलाकारलाई फिचर गरिएको छ।
३) जनकपुरमे होली हे
फिल्ममा समावेश गरिएको अर्को गीतमा पर्छ ,‘जनकपुर मे होली हे’। नेपाली फिल्म सीतामा समावेश यस गीतमा सम्भुजित बाँस्कोटाले सङ्गीत दिएका छन्।
गीतमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारङ्गा श्रेष्ठ खेलेका छन्। अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म जनकपुर आसपासमै छायाङ्कन गरिएको थियो।
४) होली रे
चलचित्र बटरफ्लाइमा नामको फिल्ममा एउटा होली गीत समावेश छ। सौराहामा छायाङ्कन गरिएको उक्त गीत अघिल्लो वर्षको होलीको अवसरमा सार्वजनिक गरिएको थियो।
रङ्गको अत्यधिक प्रयोग गरिएको ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’ गीतमा अभिनेत्री प्रियङ्का कार्की तथा अभिनेता आर्यन अधिकारीले आकर्षक नृत्य गरेका छन्।
प्रमोद ढुङ्गानाको शब्दको उक्त गीतमा विकास चौधरीको सङ्गीत छ भने राजेशपायल राई तथा माण्डवी त्रिपाठीले त्यसमा स्वर दिएका छन्।
५) होरी मे गोरी
पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको बेला निकै बज्ने गरेको छ।
गीतमा नेहा प्रियादर्सन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र सङ्गीत प्रवेश मल्लिकको रहेको छ।
फिल्मको यस गीतले होली तराईमै मनाइ रहेको दृश्यलाई समेटेको छ। नेपाली फिल्म भएता पनि तराईमा होली सन्दर्भलाई कैद गरेकै कारण यस गीतमा शब्द भोजपुरीमा छ। सौगात मल्ल , मलिना जोशी र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन्।
६) आऊ न आऊ खेलौँ होली
फागु नै नाम राखेर निर्माण भएको फिल्ममा ‘आऊ न आऊ खेलौँ होली’ भन्ने गीत छ। हामीले होलीको चर्चा गरिरहँदा यो भुल्ने कुरै भएन।
अभिनेत्री करिश्मा मानन्धरको निर्माण तथा सम्झना उप्रेती रौनियारको निर्देशन रागेको फिल्ममा ‘आऊ न आऊ खेलौँ होली’ गीत समावेश छ।
गीतमा दयाराम पाण्डेको शब्द रहेको छ। यसमा वसन्त सापकोटाले सङ्गीत गरेका छन्।
७) रंग रंगा
‘रंगा रंगा’ गीत गीतले पनि पछिल्लो समय रंगप्रेमीलाई नचाउने गरेको छ। नेपाली फिल्म ‘गाजलु’ मा समावेश गीत हो यो। ‘रंगा रंगा’ बोलको गीतमा शब्द तथा सङ्गीत दिएका छन् जैन जेले।
यसमा शिवानी मोक्तानको स्वर रहेको छ। गीतमा फिल्मका कलाकारहरू अनमोल केसी, गौरव पहाडी , सृष्टि श्रेष्ठ , मेनुका प्रधान, सलोन बस्नेत लगायत फिचर्ड छन्। फिल्म हेमराज विसीको निर्देशनमा तयार भएको हो।
Facebook Comment
Comment