प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौं उपत्यकामा घर-जग्गा खरिद गर्न नपाउने कानुनको माग

नेपालभ्युज

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौं उपत्यकामा घर-जग्गा खरिद गर्न नपाउने कानुनको माग

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न माग गरे । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा पनि उनको आपत्ति थियो ।

सांसद सुवालले ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा पनि विरोध जनाए । ‘काठमाडौंमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हटने छैन’ उनले भने–‘पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौं उपत्यकामा खाद्यन्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था आउनसक्छ।’

२०७२ सालको जस्तो ठूलो भूकम्प काठमाडौंमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौं जनताको मृत्यु हुने अवस्था छ भन्दै सांसद सुवालले भने–‘प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्छ ।

काठमाडौं उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ।’ सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए । ८ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नपाएकोमा उनले आक्रोश व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved