मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु

नेपालभ्युज

मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु

झापा । मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गरेका छन् ।

मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताए ।

उनले १८ वर्षपछि मेची रङ्गशालामा भएको यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासँगै भद्रपुर क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका रहने बताए । मन्त्री लिङ्देनले खेल सम्पन्न गर्न र यसलाई बर्सेनि निरन्तरता दिन आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विभिन्न खेलका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पुगेका झापाली खेलाडीका कारण गौरव महसुस भइरहेको बताए । उनले सरकारसँग खेलाडीलाई खेल खेलेरै बाँध्न सक्ने आधार तयार गरिदिन समेत आग्रह गरे ।

आजदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर–झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु १३ लाख र उपविजेता टिमलाई नगद रु सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ए डिभिजन क्लबहरू र भारत, भूटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० वटा क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved