राष्ट्रपतिमा एमालेका दुई विकल्प !

यदि एमालेले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपतिमा सिफारिस गर्न सकेन भने उसले उक्त पद गुमाउने देखिन्छ । किनकी भविष्यमा ओलीको ‘रबर स्ट्याम्प’ बन्नसक्ने पात्रलाई कुनै पनि हालतमा राष्ट्रपति नस्वीकार्ने निर्णयमा माओवादी केन्द्र पुगिसकेको छ ।

राष्ट्रपतिमा एमालेका दुई विकल्प !

काठमाडौं । राष्ट्रपति पदलाई लिएर सत्तारूढ गठबन्धनका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दरार पैदा हुने सम्भावना बढेको छ ।

सरकार निर्माणताका (पुस १० गते) राष्ट्रपति एमालेको भागमा परेको बुझाइ थियो, पछि त्यही स्थापित हुँदै आयो । तर अहिले त्यो अवस्था देखिँदैन । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र त्यसमा तयार देखिएको छैन । उसले राष्ट्रपतिको विषयलाई लिएर निर्णय नै गरिसकेको छ— राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने ।

त्यसो त एमालेलाई भने माओवादी केन्द्रको यो निर्णय मन परेको छैन । उसले राष्ट्रपति स्वतः आफूले पाउने सहमति भएको र त्यही सहमतिअनुसार एमालेले पाउनुपर्ने बताउँदै आएको छ । एमाले सचिव योगेश भट्टराईले भनेका छन्, ‘शक्ति सन्तुलनअनुसार भागबन्डा गर्दा राष्ट्रपति एमालेको भागमा परेको हो । त्यसेले एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ ।’

तर, माओवादी केन्द्रका नेताहरूले भने राष्ट्रपति एमालेले पाउने भनेर कहीँ सहमति नभएको बताउँछन् । ‘मौखिकरूपमा केही कुराकानी भएको थियो,’ माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल भन्छन्, ‘त्यसबाहेक केही पनि सहमति भएको थिएन । एमालेका साथीहरूले त्यसैलाई चाहिँ भद्र सहमति भन्ठान्नुभयो ।’

जे होस्, माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्ति निश्कलङ्क र सर्वस्वीकार्य हुनुपर्ने अडान राखेको छ । एमालेले सिफारिस गर्ने भनेर चर्चामा आएका व्यक्तिमा त्यो ‘रिक्वाइरमेन्ट’ नभेटिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । ‘एमालेले सिफारिस गर्ने भनेर चर्चामा जो-जो व्यक्ति आउनुभयो, उहाँहरूमा राष्ट्रपति हुने रिक्वायरमेन्ट नै देखिँदैन,’ माओवादी केन्द्रका एक पदाधिकारी भन्छन् ।

एमालेबाट राष्ट्रपति हुने भनिएकाहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य डोरमणि पौडेल छन् । त्यसमा पनि उपाध्यक्षद्वय नेम्वाङ र शाक्यको नामलाई ‘ब्याक’ राखिने गरिएको छ । एमाले नेताहरूकाअनुसार राष्ट्रपति एमालेले पाउने वातावरण बने पोखरेल र पौडेलमध्ये एकजनालाई पठाउने तयारी गरिएको छ ।

यी नाममा माओवादी केन्द्रले चित्त बुझाएको छैन । ती पदाधिकारीले भने, ‘एमालेले सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपतिमा सिफारिस गर्ने आँट गरेन । यसले पनि अहिलेको अवस्था ल्यायो, राष्ट्रपति पद दूरगामी हुन्छ, संरक्षक हुन्छ । त्यसैले सोचेरै निर्णय लिनुपर्ने हुन्छ ।’

यद्यपि अहिले एमाले अध्यक्ष केपी शर्मा ओली संयमित देखिन्छन् । झोकी स्वभावमा प्रस्तुत हुने ओली अहिले शान्तप्रायः नै छन् । पुस १० यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग २ दर्जनभन्दा बढीपटक भेटघाट भइसकेका छन् । ती भेटमा राष्ट्रपतिको विषय छुटेको हुँदैन । तैपनि सहमति भने निस्किएको छैन ।

‘उहाँ (केपी शर्मा ओली) ले धैर्य राखेर प्रधानमन्त्रीजीसँग संवाद गरिरहनुभएको छ । मिलेरै अगाडि बढ्ने मनसायमा उहाँ हुनुहुन्छ,’ एमाले सचिव भट्टराई भन्छन् ।

त्यसो त ओलीले संयमता अपनाउनुको अर्को कारण भने राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्र ‘निर्णायक’ हुनु पनि हो । सत्तारूढ र विपक्षी गठबन्धनमा माओवादी केन्द्र जुन कित्तामा उभिन्छ, त्यतैबाट राष्ट्रपति हुने निश्चितप्रायः देखिन्छ । यसैले पनि ओलीले संयमतापूर्वक संवाद अगाडि बढिरहेका छन् ।

अतः राष्ट्रपतिको निर्वाचनमा एमालेसँग अब दुईवटा विकल्प देखिन्छ ।

पहिलो, सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपतिमा सिफारिस गर्ने ।

एमालेले राष्ट्रपतिमा अघि सार्न ठिक्क पारेका व्यक्ति सर्वस्वीकार्य भएनन् भन्ने बुझाइमा रहेका माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘सर्वस्वीकार्य व्यक्ति जुनसुकै पार्टीबाट हुँदा पनि हुन्छ ।’

त्योसँगै उनले थपे, ‘फेरि सबै दलले मात्रै स्वीकारेर भएन । आमरूपमा जनताले, व्यवस्था र संविधानले पनि स्वीकार्नुपर्‍यो र उसले पनि यी व्यवस्था र संविधानलाई स्वीकार्नुपर्‍यो । राष्ट्रपति हुने व्यक्तिको सैद्धान्तिक लाइन पनि हेर्न जरुरी हुन्छ । त्यसैले हामीले राष्ट्रिय सहमतिबाट खोजौँ भनेका हौँ ।’

त्यसो त २०७४ सालमा प्रधानमन्त्री बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले २/२ पटक प्रतिनिधि सभा भङ्ग गरे । ओलीको प्रतिनिधि सभा भङ्गको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले छिनभरमै अनुमोदन गरिन् । अहिले माओवादी केन्द्रले यहीँबाट शिक्षा लिएर राष्ट्रपति बन्ने व्यक्ति सबै पक्षबाट सर्वस्वीकार्य हुनुपर्ने बताएको हो । ती पदाधिकारीले भनेका छन्, ‘विगतमा गल्ती भयो । त्यस्तै गल्ती अब नदोहोरियोस् भन्ने हाम्रो पार्टीको धारणा हो ।’

एमालेले आफ्नोबाट बनाउने भए माओवादी केन्द्रको पनि समर्थन पाउनेगरी सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपतिमा सिफारिस गर्नुपर्ने देखिन्छ ।

दोस्रो, राष्ट्रपति पद गुमाउने ।

यदि एमालेले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपतिमा सिफारिस गर्न सकेन भने उसले उक्त पद गुमाउने देखिन्छ । किनकी माओवादी केन्द्र भविष्यमा ओलीको ‘रबर स्ट्याम्प’ बन्नसक्ने पात्रलाई कुनै पनि हालतमा राष्ट्रपति नस्वीकार्ने निर्णयमा पुगिसकेको छ ।

यद्यपि बुधबार मात्रै भएको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग सबैलाई स्वीकार्य हुने व्यक्ति सिफारिस गर्ने बचनबद्धता गरेका छन् । अब एमालेले गरेको सिफारिसलाई हेर्ने माओवादी केन्द्रका नेता बताउँछन् ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सबैले स्वीकार्ने व्यक्ति राष्ट्रपतिमा सिफारिस गर्ने बताउँछन् । ‘गठबन्धन बन्दा शक्ति सन्तुलनकै आधारमा बन्ने हो । त्यस अवस्थामा राष्ट्रपति एमालेले पाउने भन्ने थियो, त्यहीअनुसार एमालेले दाबी गरिरहेको हो । राष्ट्रपति पद संविधानको संरक्षक भएकाले पनि ऊ सतर्कचाहिँ हुनैपर्छ । सबैले स्वीकार्ने व्यक्ति हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved