बंगलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

नेपालभ्युज

बंगलादेशका शीर्ष विपक्षी नेता जमानतमा रिहा

ढाका । बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेतालाई पक्राउ गरिएको एक महिनापछि सोमबार रिहा गरिएको अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री मिर्जा अब्बासलाई राजधानी ढाकाबाहिरको जेलबाट मुक्त गरिएको प्रहरीले जनाएको छ ।

मध्य ढाकास्थित बिएनपी मुख्यालयमा सयौँ समर्थकले उनीहरूलाई स्वागत गरेको पार्टीका प्रवक्ताले एएफपीलाई बताए । बिएनपी कार्यालयमा आलमगीरले पत्रकार, नेता तथा कार्यकर्तासँग संक्षिप्त कुराकानी गरेका थिए ।

बीएनपीले एक दशकयताकै सबैभन्दा ठूलो राजनीतिक र्‍याली आयोजना गर्नुभन्दा एक दिनअघि डिसेम्बर ९ मा शीर्ष नेता आलमगीर र अब्बासलाई पक्राउ गरिएको थियो ।

पार्टीले आफ्ना दुई हजारभन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको, कम्तीमा एक जनाको गोली हानी हत्या गरिएको र हजारौँलाई प्रहरीले र्‍यालीमा सहभागी हुनबाट रोकेको आरोप लगाएको छ ।

गत डिसेम्बर ७ मा हिंसा भड्किएको र प्रहरीको काममा अवरोध पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

बीएनपीकी अध्यक्ष खालिदा जियाले १० वर्षको जेल सजाय भुक्तान गर्न थालेयता आलमगीर बङ्गलादेशका सर्वोच्च विपक्षी अधिकारी हुन् ।

जियाका छोरा र उत्तराधिकारी लण्डनमा निर्वासित जीवन बिताइरहेका छन् । उनलाई आजीवन काराबासको सजाय पनि सुनाइएको छ ।

हालैका वर्षमा आलमगीर देशको प्रमुख विपक्षी व्यक्तित्वको रूपमा उदाएका छन् । उनले मध्यमार्गी, दक्षिणपन्थी र वामपन्थी दलको विविध समूहलाई भेला गर्दै देशभरि सरकारविरूद्ध शृङ्खलाबद्ध प्रदर्शन आयोजना गरेका थिए ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकारको नेतृत्वमा नयाँ निर्वाचनको मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै हालैका महिनामा बङ्गलादेशमा विरोध प्रदर्शन सुरु भएको छ ।

गिरफ्तारीको बाबजुद, बीएनपीले डिसेम्बर १० मा राजधानीमा कम्तीमा एक लाख समर्थकको उपस्थितिमा विशाल प्रदर्शन गरेको थियो । पार्टीका सांसदले भ्रष्टाचार र सरकारको दमनको विरोधमा संसद्बाट राजीनामाको घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घसँगै पश्चिमा सरकारहरूले पनि एसियाको सबैभन्दा तीव्र आर्थिक वृद्धि दर भएको मुलुकमध्येको एक बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved