फेरि वाम एकताको हल्ला : पुग्ला भ्यागुताको धार्नी ?

नेपालका वामपन्थी दलको एकता र विभाजनको चिरफार

नेपालका वामपन्थीहरू कमजोर भए एकताको कुरा गर्छन्, शक्तिशाली भए फुटको । विभाजनको भोलिपल्टबाट एकता प्रक्रियाका लागि वार्ता र संवाद सुरू गर्छन् । अनि एकता भएको भोलिपल्टबाट विभाजनको तयारी ।

फेरि वाम एकताको हल्ला : पुग्ला भ्यागुताको धार्नी ?

काठमाडौं । भनिन्छ— नेपालका वामपन्थीहरू कमजोर भए एकताको कुरा गर्दछन्, शक्तिशाली भए फुटको । विभाजनको भोलिपल्टबाट एकता प्रक्रियाका लागि वार्ता र संवाद सुरू गर्छन् । अनि एकता भएको भोलिपल्टबाट विभाजनको तयारी । देशका वामपन्थी समूहहरूको राजनीतिक चरित्र र संगठनात्मक व्यवहारले यो भनाइलाई ठ्याक्कै चरितार्थ गर्छ ।

को वामपन्थी ?

त्यसो त को वामपन्थी हो वा हैन भन्ने ठहर गर्नसमेत त्यति सजिलोचाहिँ छैन । विश्व राजनीतिमा वामपन्थको भिन्नै परिभाषा छ र नेपालमा भिन्नै बुझाइ । ‘लेफ्ट’ शब्द फ्रान्सेली राज्य क्रान्ति बेलाको नेशनल एसेम्बलीबाट सुरूवात भएको थियो– जसको अर्थ हुन्थ्यो, निरंकुश राजतन्त्र र दैवी शक्तिको सिद्धान्त विरोधी एसेम्बलीमा देब्रेतिर बसेका सदस्यहरू । अर्थात् वामपन्थको विश्वव्यापी परिभाषा हो– स्वतन्त्रता, समानता र भातृत्वका पक्षधर क्रान्तिकारीहरू ।

नेपालमा भने ‘कम्युनिष्ट घटक’ हरूलाई वामपन्थी भन्ने गरिन्छ । यिनले मार्क्सवाद-लेनिनवादजस्ता सिद्धान्तलाई मार्गदर्शक बनाएका हुन्छन् । कार्ल मार्क्स, फ्रेडरिख एंगेल्स, भिआई लेनिन, जोसेफ स्टालिन, माओ त्से तुङ, किम इल सुङ, हो चि मिन्ह, फिदेल क्यास्त्रो, मार्सल टिटो, चारु मजुमदारजस्ता विश्व कम्युनिष्ट नेताको विचारधारा र विरासतलाई बोक्दछन् भने तिनलाई यहाँ ‘वामपन्थी’ भन्ने गरिन्छ ।

अर्थात् नेपाली वामपन्थको सार कम्युनिष्ट घोषणापत्र, सर्वहारा राज्यको सिद्धान्त र साम्यवादसँगको वैचारिक निकटता हो ।

वाम गुटफुटको अन्तहीन श्रृंखला

नेपालको कम्युनिष्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा स्थापना भएको थियो । स्थापनाको केही वर्षपछि देखि नै त्यहाँ मूलतः ४ गुट जन्मिएका थिए र समानान्तर ढंगले अघि बढेका थिए ।

ती थिए–संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको गुट, पहिलो महाधिवेशनका महासचिव मनमोहन अधिकारीको गुट, दोस्रो महाधिवेशनका महासचिव डा.केशरजंग राजमाझीको गुट र उदियमान नेता मोहनविक्रम सिंहको गुट, जो एकीकृत पार्टीको महासचिव कहिल्यै भएनन् तर, एउटा सानो गुटको महासचिव भने ८६ वर्षको उमेरमा अहिलेसम्म छन् ।

विसं २०१९ सालमा भएको नेकपाको तेस्रो महाधिवेशनले यी सबैभन्दा फरक तुल्सीलाल अमात्यलाई महासचिव छान्यो । र त्यसपश्चात् कम्युनिष्ट समूहमा व्यापक गुटफुट सुरूवात भयो । त्यो क्रम अहिलेसम्म पनि छँदैछ ।

कति छन् वामपन्थी समूह ?

देशका कम्युनिष्ट समूहरूको संख्या गणना गर्न त्यति सजिलो कुरा हैन । ती कहिले फुट्छन, कहिले जुट्छन्, हिसाबकिताब राखेर साध्य हुँदैन। विसं २०२० को दशकबाट यो क्रम सुरूवात भएको थियो ।

६० वर्षपछि २०८० को दशक सुरू हुन लाग्दा पनि यो क्रम जारी नै छ । हालै सम्पन्न निर्वाचनमा ४७ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाएका थिए । तीमध्ये– ११ वटा दल कम्युनिष्ट नाम वा विचारधाराका थिए । तर, अझै कतिपय समूहले निर्वाचनमा भाग लिएका थिएनन् ।

जस्तो, कि नेकपाका वैद्य, विप्लव, आहुतिजस्ता समूहले निर्वाचनमा भाग लिएका थिएनन् । तसर्थ, देशमा यतिखेर ठूला, मझौला र साना गरी करिब २ दर्जन वाम समूह छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

विचारको दाबी, अहंकारको लडाइँ

औषत सबै कम्युनिष्ट समूहले फुटको मुख्य कारण वैचारिक भएको दाबी गर्दछन् । तर, यतिका धेरै कम्युनिष्ट समूहबीच फरक-फरक राजनीतिक विचारधारा, एजेण्डा, दृष्टिकोण र कार्यदिशा छन् भनेर पत्याउन भने सकिँदैन । यथार्थमा कम्युनिष्ट समूहहरू वैचारिक आधारमा कम र नेतृत्वको अहंकारको लडाइँका कारणले धेरै फुटेका हुन्छन् ।

सामान्यतः कम्युनिष्ट समूहको विचारलाई दुई धारमा बाँड्न सकिन्छ ।

एक– संसदीय बहुदलीय लोकतन्त्रलाई सिद्धान्ततः स्वीकार गरी आफ्ना क्रियाकलाप गर्नेहरू र दुई– नयाँ जनवादी क्रान्ति, सर्वहारा राज्य, सर्वहारा अधिनायकत्वको स्थापना हुँदै समाजवाद, साम्यवाद ल्याउन चाहनेहरू ।

यस आधारमा हेर्दा देशका करिब २ दर्जन कम्युनिष्ट समूहमध्ये आधाभन्दा बढी पहिलो समूहमा पर्दछन् भने दोस्रो समूहमा पर्ने मुख्य तीन वटा छन्– वैद्य, विप्लव र आहुतिका समूह । यी तीनवटै समूहको संगठनात्मक शक्ति र जनप्रभाव पहिलो समूहका कम्युनिष्ट घटकको भन्दा कमजोर र न्यून देखिन्छ ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेमकिपा भने पहिलो समूहका संसद्‌‌भित्र उपस्थित दलहरू हुन् ।

‘मिनी कम्युनिष्ट’ को भिन्नै कथा

देशमा थप केही यस्ता राजनीतिक दलहरू पनि छन, जो कम्युनिष्ट आन्दोलनकै गर्भबाट जन्मिएका थिए तर अहिले आफूलाई ‘कम्युनिष्ट’ को साटो ‘सोसलिष्ट’ भन्न रुचाउँछन् । यस्ता समूहमा मुख्यतः उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई लिनपर्ने हुन्छ ।

जसपा नेताहरू उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङलगायत कुनै समय नेकपाका विभिन्न घटकमा स्थापित कम्युनिष्ट नेताहरू थिए । नेसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव पनि पूर्वकम्युनिष्ट नेताहरू नै हुन् । हालैको चुनावमा जसपाले एमालेसँग र नेसपाले माओवादीसँग सहकार्य र तालमेल गरेका थिए ।

आफूलाई ‘कम्युनिष्ट’ भन्न नरुचाए पनि यी समूहको कार्यशैली, संगठनात्मक सिद्धान्त, व्यवहार र सवाल कम्युनिष्ट समूहसँग मिल्दाजुल्दा छन् । नेसपाले भने यस चुनावमा नेकपा ( माओवादी केन्द्र) गोलाकारभित्रको हसियाँहथौडा चुनाव चिह्नबाटै चुनाव लडेको थियो ।

डा. भट्टराई करिब ७ वर्ष अघि माओवादीबाट निस्किएका थिए । प्रकारान्तले नेसपाको फेरि माओवादी केन्द्रसँगै पार्टी एकता हुने सम्भावना छ भने जसपा र एकीकृत समाजवादीबीच पनि पार्टी एकताको पहलकदमी र संवाद भइरहेका समाचार बाहिर आएका छन् ।

फुट मात्रै हैन, एकता पनि

वामपन्थी समूहहरू फुटेका मात्रै छैनन्, बारम्बार जुटेका पनि छन् । २०४६ सालपछि तत्कालीन मार्क्सवादी र मालेबीचको एकता त्यस्तै एक ठूलो घटना थियो । यही एकताबाट एमाले धारको जन्म र विकास भयो ।

अर्कोतिर चौमधारका मसाल र सर्वहारावादी श्रमिक संगठन मिलेर माओवादी बनाए । त्यो अर्को ठूलो एकता थियो, जसले जनयुद्धको थालनी र नेतृत्व गर्‍यो ।

वामपन्थी आन्दोलनको सबैभन्दा ठूलो एकता भने २०७५ जेष्ठ ३ गते भएको थियो– एमाले र माओवादी केन्द्रकाबीचमा । यो एकताबाट नेकपा (नेकपा) एक विशालकाय कम्युनिष्ट पार्टी, चीन र भियतनामपछिको संसारकै तेस्रो ठूलो कम्युनिष्ट पार्टीको निर्माण भयो ।

देशको इतिहासमा पहिलोपटक करिब दुईतिहाइको कम्युनिष्ट सरकार पनि बन्यो । तर, कम्युनिष्टहरू मिलेको भोलिपल्टदेखि विभाजनको खोजी गर्दछन् भन्ने आरोप यहाँ पुष्टि भयो । एकता ३ वर्ष नपुग्दै नेकपा (नेकपा) ४ टुक्रा भयो ।

किन टिकेन नेकपा (नेकपा) ?

नेकपा (नेकपा) विभाजित भएर फेरि एमाले र माओवादी केन्द्र मात्रै बनेनन्, माधव नेपाल र झलनाथ खनालजस्ता पूर्वएमाले अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू समेत त्यहाँबाट निस्किएर नेकपा ( एकीकृत समाजवादी) बनाए । वामदेव गौतमले भिन्नै ‘कम्युनिष्ट एकता अभियान’ बनाए ।

नेकपा (नेकपा) नटिक्नुका मुख्य कारण पनि आमरूपमा वैचारिक थिएनन् । घटनाक्रम जटिल हुँदै जाँदा त्यहाँ वैचारिक मतभेद पनि देखिए त्यो भिन्नै कुरा हो । तर, प्रारम्भ भने पार्टी कसले कब्जा गर्ने भन्ने अहम्‌को लडाइँबाट भएको थियो ।

‘आधाआधा प्रधानमन्त्री खाने’ ओली र प्रचण्डबीचको गोप्य सम्झौता ओलीले पालना नगर्दा घटनाक्रम दुई-दुई पटकको असंवैधानिक संसद् विघटनसम्म पुग्यो र अन्ततः नेकपा तुहिएर गयो । केवल त्यो विशालकाय पार्टीको पतन मात्रै भएन, राजनीतिक स्थिरताको भाष्यसमेत फेरि एकपटक अर्थहीन सावित भयो ।

फेरि वाम एकताको हल्ला

नेकपाको विभाजनपछि फरक-फरक गठबन्धन र तालमेलबाट चुनाव लडेका कम्युनिष्ट समूहले फेरि एकताको कुरा गर्न थालेका छन् । नेकपा विभाजित हुँदा निर्वाचनमा सबैभन्दा कमजोर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले कम्युनिष्ट एकताको कुरा फेरि जोडतोडले उठाउँदैछ ।

उसले विभिन्न कम्युनिष्ट घटक र वामपन्थी समूहसँग एकताको प्रयत्न गर्न औपचारिक वार्ता समिति नै बनाएको छ भने उपेन्द्र यादव नेतृत्वको जसपासँग केही अनौपचारिक कुराकानी भइसकेको बताइन्छ ।

अर्कोतिर माओवादी केन्द्र र नेसपाबीच पनि एकता हुने सम्भावना छ । एकीकृत समाजवादीले अपेक्षित चुनावी नतिजा हासिल गर्न सकेन । यो समूहले संघीय प्रतिनिधिसभाको ३ प्रतिशत थ्रेसहोल्ड काट्न सकेन भने गठबन्धनमा पाएको प्रत्यक्षतर्फका १९ मध्ये १० सिटमा मात्र विजय हासिल गर्न सक्यो ।

यो समूहमा अस्तित्व रक्षाको छटपटी अरु समूहमा भन्दा अलिक बढी देखिएको छ । यसभित्रको अनौपचारिक समाचारअनुसार यो समूहका नेताले पार्टीको भिन्नै अस्तित्व रक्षा गर्न सक्ने आत्मविश्वास गुमाएका छन् । त्यहाँ आफ्नो माउपार्टी एमालेमै फर्किन पर्ने दबाब बढ्दै गएको छ ।

लचिलो बन्दै एमाले

एकीकृत समाजवादीसँग पार्टी एकताको पक्षमा एमाले र अध्यक्ष ओली समेत लचिलो हुँदै गएको बताइन्छ । यसमा एमालेलाई ठूलो राजनीतिक लाभसमेत हुनेछ । एकीकृत समाजवादीको १० सिट थपिँदा एमाले झण्डै कांग्रेसकोे हाराहारीमा पुग्ने छ ।

अन्य केही साना समुहलाई एकतामा ल्याउन सक्ने हो भने एमाले फेरि संघीय प्रतिनिधि सभामा सबैभन्दा ठूलो, कांग्रेसभन्दा पनि ठूलो दल हुन सक्ने छ । कथम् संविधानको धारा ७६ (३) कार्यान्वयन हुने अवस्था आएमा त्यो बेला एमालेलाई ठूलो लाभ हुनेछ ।

अर्कोतिर एमालेको मत यसपटक करिब ७ लाख घटेको छ । यो स्थितिमा अर्को चुनावसम्म पनि एकता बिना एमालेले एक्लै बहुमत हासिल गर्न वा सबैभन्दा ठूलो दल हुन सम्भव छैन । तसर्थ, एमाले फेरि एकताका लागि लचिलो हुनु स्वभाविक हो ।

पुग्ला त भ्यागुताको धार्नी ?

त्यसो त एमाले र एकीकृत समाजवादी मात्र हैन, एमाले र माओवादीसमेत यतिखेर नाटकीय ढंगले नजिकिएका छन् । एमालेकै समर्थन र सहयोगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका छन् ।

‘देउवाले दिएको धोका पछि’ निर्वाचनपूर्वको गठबन्धन तोड्न प्रचण्ड सहजै राजी भए । ‘धोकेबाज देउवा’ को साथ छोडेर प्रचण्ड बालकोट पुगेको केही क्षणमै एमाले अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भए ।

यी घटनाक्रमले वाम एकताको नयाँ सम्भावनालाई उजागर अवश्य गर्दछ तर, दीगो र भरपर्दो हुन्छ यसै भन्न सकिन्न । कम्युनिष्ट नेताहरूबीचको प्रेम र घृणाको सम्बन्ध अनुमान गर्नु जो कसैका लागि पनि  निक्कै कठिन काम हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved