नेपाल टी–२० लिग विवाद : नेपाली क्रिकेटको साखमा पुगेको क्षति

नेपालभ्युज

नेपाल टी–२० लिग विवाद : नेपाली क्रिकेटको साखमा पुगेको क्षति

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिग विवादमा परेको छ । पुस ९ गतेदेखि सुरु भएको लिगको दोस्रो चरण चलिरहँदा खेलाडीले सम्झौता अनुरूप पारिश्रमिक नपाएको बाहिर आयो ।

कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा ‘स्पट फिक्सिङ’ भएको दाबी गर्दै आफू अलग भएको सामाजिक सञ्जालमार्फत घोषणा गरे। लिगमा बेटिङ भएको पनि आशंका गरिएको छ। तर क्यानले भने फिक्सिङको आरोप अस्वीकार गरेको छ ।

क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा यस्तो आपराधिक घटनाबारे जानकारी भए प्रमाणसहित एन्टी करप्सन युनिट एनसीयूलाई बुझाएर सहयोग गर्न आग्रह गरिएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको पारिश्रमिकको जिम्मेवारी लिने बताएका छन् । केहि गरी फ्रेन्चाईज टोलीले पारिश्रमिक नदिए क्यानले उपलब्ध गराउने उनको आश्वासन छ ।

साथै सेभेन थ्री स्पोर्टसका मालिक जतिन आहलुवालिया रकम जुटाउन भारत गएको पनि चन्दले जनाएका छन्।

विवाद बढ्दै जाँदा राष्ट्रिय खेलकुद परिषदले पनि छानबिन अघि बढाएको छ । उता सीआइबीले पनि छुट्टै छानबिन गरिरहेको छ ।

लिगको विवादले सिंगो नेपाली क्रिकेटलाई नै तानेको छ । पूर्वराष्ट्रिय क्रिकेटर तथा सरोकारवालाले नेपाली क्रिकेटको शाख जोगाउनुपर्ने भन्दै सामाजिक संजालमा आवाज उठाउन थालेका छन् ।

विवादसँगै क्यानको राजनीति र आन्तरिक समस्या पनि अगाडी आएको छ । क्यानका सदस्य छुम्बी लामाले लेखेको फेसबुक स्टेट्सले त्यस्तै संकेत गर्छ । लामाले नेपाली क्रिकेट दलाल र तस्करले कब्जा जमाएको भान आफूलाई भइरहेको लेखेका छन् ।

पूर्वकप्तान पारस खड्काले लिगमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनले यो खबरले स्तब्ध बनाएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् भनेका छन् ।

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि टोलीको एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको जनाएका थिए । उनका अनुसार त्यसबारे टोलीले एएसयूमा जानकारी गराएको थियो।

घरेलु लिगमा फिक्सिङ र बेटिङ भएको उजुरी परेपछि अपराध अनुसन्धान विभाग सीआईबीले पनि अनुसन्धान सुरु गरेको छ । साथै, गृह मन्त्रालयले पनि छानबिन गर्न आदेश दिएको छ।

पछिल्लो पटक एक पछि अर्को विवाद आइरहँदा नेपाली क्रिकेटको गरिमा नै दाउमा लागेको छ ।

क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता

सेभेन थ्री स्पोर्ट्स र क्यानबीचको सम्बन्ध सुरुवातमा केही धमिलो थियो । क्यानले कम्पनीसँग सम्झौता खारेज गर्ने प्रयास पनि गरेको थियो। कम्पनीले एक धम्कीपूर्ण इमेल पठाउँदै खारेज गरेमा कानुनी सहायता लिने बतायो । क्यानको धनगढीमा भएको बैठकले सम्झौतालाई मान्यता दिएको थियो।

पहिले क्यानले नेपाल टी–२० लिगको लागि सेभेन थ्री स्पोर्ट्सलाई १० वर्षको लागि भने पनि एजीएमपश्चात् ८ वर्षको नयाँ सम्झौता गरेको थियो । तथापि, क्यानले प्रतिस्पर्धाबिना नै सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिनु गैरकानुनी भएको भन्दै एभरेस्ट प्रिमियर लिग ईपीएल प्रालिका संस्थापक अमिर अख्तरले नेपाल टी–२० विरुद्ध रिट दर्ता गरेका छन् ।

लिग सेप्टेम्बर २४ देखि अक्टोबर २ मा आयोजन गर्ने भनिएको थियो। गृह मन्त्रालयले चुनावको वातावरणले सुरक्षा व्यवस्थामा समस्या पर्ने भन्दै लिग सार्न क्यानलाई निर्देशन दियो।

यसपश्चात् क्यानले डिसेम्बर २४ देखि जनवरी १० सम्म लिग आयोजनाको निर्णय गरेको थियो ।

पछिल्लो विवाद र नेपाली क्रिकेटको भविष्यबारे पूर्व खेलाडी शक्ति गौचन र खेल पत्रकार विनोद पाण्डे के भन्छन त ?

शक्ति गौचन, पूर्व राष्ट्रिय क्रिकेटर

पारिश्रमिकको प्रसंग दोहोरी रहनुमा आयोजक समितिको प्रतियोगितामा पकड बलियो नभएको बुभिन्छ। आयोजक र टोलीबीचको लिखित सम्झौता पनि कार्यान्वयनमा समस्या आइरहेको हो कि। यसको लागि खेलाडी अग्रसर त हुनु जरुरी नै छ साथै संघले पनि पहल गर्नु आवश्यक छ।

नभए खेलाडी पैसाको लागि मात्र खेल्ने रहेछन् भन्ने पनि सन्देश जानसक्छ। स्पट फिक्सिङबारे वास्तविकता के हो त्यो छानबिन समितिको अनुसन्धान पछि नै थाहा हुन्छ होला।

यदि, यस्तो भएको हो भने क्रिकेटरलाई आईसीसीले निलम्बन गर्न सक्छ। साथै गलत शैलीबाट आम्दानी गरेको पुष्टि भए राष्ट्रिय क्रिकेट टोलीको प्रतिष्ठा नै खतरामा आउँछ।

एउटै लिगमा नाता भएको २ मालिक सहभागी भएकोले पनि मिलेमत्तोको प्रसङ्ग उठेको हुन सक्छ। यो प्रसङ्गलाई क्यानले गम्भीरतापूर्वक तीव्ररूपमा समाधान गर्नु पर्दछ । यस्तो समस्यालाई अहिले नै समाधान गर्न नसके नेपाली फुटबलले भोगेको जस्तै क्षति नेपाली क्रिकेटले पनि भोग्नुपर्नु हुन सक्छ ।

विनोद पाण्डे, खेल पत्रकार

पहिलो संस्करणमा यस्तो विवाद आउँदा नेपालको क्रिकेट प्रति नै नराम्रो छाप बस्न गएको छ। अर्को प्रतियोगिता गर्दा विदेशी खेलाडीलाई ल्याउन नै समस्या आउने देखिन्छ। खेलाडीहरू विश्वस्त नहुन सक्छन्।

यस्तो प्रतियोगिताको लागि सबै प्रक्रिया सुरु देखि गर्नुपर्ने हुन सक्छ। क्यानलाई पनि व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गर्न नसक्ने संस्थाको रूपमा हेरिन सक्छ।

अहिलेको अवस्थामा, क्यानले विवाद कसरी समाधान गर्ने भन्ने सोच्नुपर्दछ। प्रतियेगितालाई कसरी समापनतर्फ लग्ने, खेलाडीको पारिश्रमिकको विषयलाई कसरी समाधान गर्ने, स्पट फिक्सिङको विषयलाई कसरी निर्मूल पार्ने, उजुरी परेको प्रसङ्गप्रति क्यानले चुस्त कदम उठाउनुपर्ने देखिन्छ।

यदि, कम्पनी भागेको नै हो भने समातेर ल्याउन निकै चुनौतीपूर्ण कार्य हुन सक्छ। यदि कम्पनी र क्यानबीच पनि असमझदारी उत्पन्न भएको भए क्यानसँग कानुनी प्रक्रिया रोज्ने विकल्प पनि छ।

तर, विदेशी कम्पनीविरुद्ध विदेशमा कानुनी प्रक्रियामा जाँदा क्यानको आर्थिक स्थितिको कुरा आउँछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved