सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीबाट ‘ग्यारेन्टी’ चाहन्छ एकीकृत समाजवादी !

हुन त एकीकृत समाजवादीले सरकारमा सहभागी हुने वा नहुनेबारेको निर्णय थाँती राख्दै विश्वासको मत दिने निर्णय गरिसकेको थियो । तर, सरकारमा सहभागी हुनुअघि एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डबाट ‘सम्मानजनक प्रस्ताव’ आओस् भन्ने चाहन्छ ।

सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीबाट ‘ग्यारेन्टी’ चाहन्छ एकीकृत समाजवादी !

काठमाडौं । २०७४ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टुटेपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको सम्बन्ध भने टुटेन । बरु झनै बलियो भयो, प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले गरेको दुई/दुईपटकको संसदीय ‘कू’विरुद्ध उनीहरू माइतीघर मण्डलादेखि सर्वोच्च अदालतसम्म सँगसँगै देखिए ।

प्रचण्ड-नेपालबीचको नेकपाकालीन सम्बन्ध पुस १० गते बिहानसम्म यथावतै थियो । तर, त्यसबीचमा केही दरार देखियो । नेपाललाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै बालुवाटारमा छाडेर बालकोट हान्निएका प्रचण्ड त्यसपछि प्रधानमन्त्री बनेरमात्रै बालुवाटार फर्किए ।

प्रचण्ड प्रधानमन्त्री बनेर बालुवाटार पुग्दा नेपाल भने गठबन्धनविहीन बने । यस विषयलाई लिएर नेपालले प्रचण्डसँग चित्त दुखाए । बालकोट जाँदा कमसेकम मलाई भन्नुपर्थ्यो भनेर उनले सार्वजनिकरूपमै पनि भने ।

यसपछि प्रचण्डकै लचकतामा हात्तीवनस्थित एक घरमा उनीहरूबीच ‘वान् अन वान्’ वार्ता भयो । जहाँ नेपालले चित्त दुखेको कुरा बताउँदा प्रचण्ड बालकोट जानुअघि सल्लाह नगर्नु आफ्नो गल्ती भएको भनेर स्वीकार गरे ।

सँगै प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी हुन आह्वान पनि गरे । यसपश्चात् ‘पार्टीमा कुरा राख्छु’ भन्दै उठेका नेपालले अहिले स्यायी समितिका सदस्यहरूलाई ‘प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने ?’ भनेर सोधिरहेका छन् ।

यसमा अधिकांश नेताले सरकारमा सहभागी हुँदा राम्रै हुने भनिरहेका छन् । पार्टी उपमहासचचिव डा. गंगालाल तुलाधरले भने, ‘धेरैजना कमरेडले सहभागी होऔँ भनेर भन्नुभएको छ । प्रमुख राजनीतिक मोडमा हामी सँगै रहेर नेतृत्व गरेको हुनाले पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा हुन्छ भन्ने उहाँहरूको भनाइ छ ।’

उसो त सर्वोच्च अदालतले तत्कालीन नेकपा फुटाएपछि दलविहीनताको अवस्थाबाट गुज्रिरहेका नेपालको दल नेकपा (एकीकृत समाजवादी) निर्माणमा प्रचण्डले मुक्तकण्ठले सघाएका थिए ।

हुन त एकीकृत समाजवादीले सरकारमा सहभागी हुने वा नहुनेबारेको निर्णय थाँती राख्दै विश्वासको मत भने दिने निर्णय गरिसकेको थियो । तर, सरकारमा सहभागी हुनुअघि एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डबाट ‘सम्मानजनक प्रस्ताव’ आओस् भन्ने चाहन्छ ।

यसअघि हात्तीवनमा भएको वार्तामा पनि नेपालले प्रचण्डलाई ‘तपाईंबाट पनि सम्मानजनक र प्रष्ट प्रस्ताव आउनुपर्‍यो’ भनेर भनेका थिए । त्यसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।

सम्मानजक प्रस्ताव भनेको राज्यका प्रमुख पदमा समानरूपमा बाँडफाँट हुनु भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘सरकारमा सहभागी भइसकेपछि त निश्चितरूपमै समानरूपमा अवसरहरू पाउनुपर्‍यो भनिएको हो । एक हिसाबले भन्ने हो भने त्यसको प्रत्याभूति खोजिएको हो । यही कुरा अध्यक्षले प्रधानमन्त्रीजीलाई भन्नुभएको हो ।’

उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइले पनि यसलाई थप पुष्टि गर्दछ । ‘उहाँहरू अगाडि गएर सरकार बनाउनुभएको हो । त्यसपछि हामीलाई बोलाएको हो । यस्तो परिस्थितिमा हामीले पनि सोच्न पाउनुपर्‍यो— कि हामीले सरकारलाई किन समर्थन गर्ने अथवा सरकारमा किन सहभागी हुने ? हाम्रो पार्टीलाई के लाभ पुग्छ त्यो प्रक्रियाबाट ? त्यसबारेमा सोच्नुपर्‍यो,’ उनले भने ।

एकीकृत समाजवादी सरकारमा सहभागी हुनुपूर्व कमसेकम एक/दुई चरण यसबारे छलफल होस् भन्ने चाहन्छ । उपमहासचिव खतिवडाले भनेका छन्, ‘सरकारमा सहभागी हुनुअगाडि नै एक/दुई चरण बस्ने कुरा हाम्रो छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved