‘कांग्रेसको जस्तो नैतिकता एमालेमा देखिएन, देउवाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

कांग्रेस इतिहासमा बीपीले पनि कार्यवाहक सुम्पिनुभएको थियो । देउवाले थोरै नैतिकता देखाएर कार्यवाहक दिँदा कद अझ उँचो हुनेछ । पूर्णबहादुर खड्का वा धनराज गुरुङलाई कार्यवाहक बनाएर उच्च नैतिकता देखाए देउवाको प्रशंसा हुनेछ । 

नेपालभ्युज

‘कांग्रेसको जस्तो नैतिकता एमालेमा देखिएन, देउवाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसले अनपेक्षितरूपमा सत्ता गुमाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति फेल खाँदा मुखमा आइसकेको सत्ताको बागडोर अन्तै पुगेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् । गठबन्धनबाट उम्मेदवार बनेर जितेका प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनिसके, तर कांग्रेस सभापतिलाई भने प्रश्नको ओइरो लागेका छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन किन जरुरी थियो र आज त्यसको औचित्य किन सकियो ? यो प्रश्नको जवाफ सभापति शेरबहादुर देउवाले दिनै पर्ने देखिन्छ । सत्तामा बसेपछि आन्तरिक समीक्षा नहुनुले कांग्रेसलाई अझ कमजोर बनाउँदै लगेको छ । २०६४ र २०७४ मा पनि कांग्रेसले पराजय भोगेको थियो । २०७९ मा पनि कांग्रेसको मत घटेको देखिन्छ ।

त्यसमा गम्भीर समीक्षा नै भएन । संसदीय दलको चुनावअघि नै पराजय हुन र भोट घट्नुको कारण खोजेको भए सायद यो अवस्था आउने थिएन । कांग्रेसको मत नयाँ पार्टीहरूले लिएका छन् । कांग्रेसले जितेको खेलमा पनि निराशा भोग्नुपरेको छ । कार्यकर्ताहरूको मिहेनतले पार्टीलाई पहिलो बनाएका थिए, तर अन्तिममा नतिजा उल्टिएको छ त्यो हिसाबले हेर्दा आम कार्यकर्तामा निराशा छ ।

त्यो निराशालाई कसरी सम्बोधन गर्ने र कसरी अगाडि जाने भनेर त्यसमा छलफल गर्न जरुरी छ । अबको बाटो घटेको मत फर्काउनेतर्फ केन्द्रित हुन जरुरी छ।

मत किन घट्यो भन्ने कारण निकालेर त्यसको उपचार गरे कांग्रेसले बाटो पहिल्याउनेछ । अर्को कुरा महाधिवेशन भइसकेपछि विधानको पालना गर्ने कुरामा, नीति निर्देशन गर्ने कुरामा, कसरी जाने के गर्ने ? चिन्तन सेतु गर्ने हो कि ? नीति अधिवेशनबारे कुनै छलफल नै भएको छैन त्यसबारे ध्यान दिने कि ?

एकपटकको बहुमत सधैंको बहुमत

प्रजातान्त्रिक, लोकतान्त्रिक राजनीतिमा नौतिकता चल्दोरहेनछ । एकपटकको बहुमत सधैंका लागि बहुमत हुँदोरहेछ । यो फेरिन निकै कठिन रहेछ । सुरुवातमा बहुमतले क्रियाशील सदस्यता बाँड्छ। त्यसपछि उसैले बाँडेको क्रियाशीलले महाधिवेशन प्रतिनिधि छनोट गर्छ । महाधिवेशन प्रतिनिधिले फेरि नेतृत्व छनोट गर्छ । आफैँले बाँडेको क्रियाशीलले आफैँलाई सभापति बनाउँछ ।

त्यसपछि, निर्वाचनमा टिकट पनि सभापतिले आफू अनुकूललाई दिने गरेको देखिन्छ । अनि अन्तिममा संसदीय दलको नेता पनि घुमिफिरी आफैँ । यसले गर्दा पछाडिको सधैँ पछाडि र अघिको सधैँ अघि देखिन्छ । तर, कांग्रेस इतिहासमा परिवर्तनको नजिर भने देखिन्छ । गिरिजाप्रसाद कोइरालाले २०५१ मा बहुमत हुँदाहुँदै राजीनामा दिनुभएको थियो।

२०६४ को पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेस पार्टी दोस्रो बनेपछि कार्यवाहक सभापति सुशील कोइरालाले राजीनामा गरे पनि गिरिजाप्रसादले अस्वीकार गर्नुभएको थियो  ।

यी नेताहरूले राजीनामा गर्दा पार्टीका केन्द्रीय कार्यसमिति-संसदीय दलमा उनीहरूकै बहुमत थियो । पार्टी सभापति शेरबहादुर देउवाले पनि त्यसबारे गम्भीर आत्मसमीक्षा गरेर निर्णय लिनुपर्छ ।

राजनीतिमा जसले त्याग गरेको छ त्यो मान्छे कहिल्यै सानो भएको छैन । त्यो कुरा उहाँले बुझ्नुपर्छ । कांग्रेस इतिहासमा बीपीले पनि कार्यवाहक सुम्पिनुभएको थियो । सुवर्ण शमशेरलाई कार्यभार दिनुभएको थियो ।

त्यसपछि कृष्णप्रसाद भट्टराईलाई पनि दिनुभएको थियो । त्यसकारण शेरबहादुर देउवाले थोरै नैतिकता देखाएर कार्यवाहक दिँदा उहाँको कद अझ उँचो हुनेछ । पूर्णबहादुर खड्का वा धनराज गुरुङलाई कार्यवाहक बनाएर उच्च नैतिकता देखाए देउवाको प्रशंसा हुनेछ ।

कांग्रेस निराश नै हुनुपर्ने अवस्थामा छैन

नेपाली जनताले यो पटक कांग्रेसलाई पहिलो पार्टी बनाएका छन् । पहिलो पार्टीको हिसाबले सरकारमा पहिलो दाबी स्वाभाविक थियो । तर, प्राविधिक कारणबस सरकारबाहिर बस्नुपरेको छ ।

२०५१ मा कांग्रेसले देखाएको नैतिकता एमालेले अहिले देखाएको भए तेस्रो दलका नेता सुरुवातमै प्रधानमन्त्री हुन सक्ने थिएनन् । २०५१ सालमा एमालेलाई दिनुपर्छ भनेर अल्पमतको सरकारलाई कांग्रेसले मत दिएको थियो ।

तर, अहिले राजनीतिक संस्कार अलिकति ओझेलमा परेको छ । २०६४ मा नेकपा माओवादीको सरकार भए पनि कांग्रेसले राष्ट्रपति पाएको थियो । डा. रामवरण यादव राष्ट्रपति बन्नुभएको थियो । अहिले पनि हिजो गठबन्धनमै रहेका प्रचण्ड प्रधानमन्त्री छन् । राष्ट्रपतिको चुनाव हुन बाँकी छ ।

पार्टीको आधारभूत परिवर्तनको कुरा गर्दै गर्दा सरकारका अंग, राष्ट्रपतिमा , सभामुखमा विभिन्न प्रदेशहरूमा चलखेल गर्ने र कुटनीति अवलम्बन गर्ने समय कांग्रेससँग छ । अझै पनि केही प्रदेशमा सरकार बन्ने र कांग्रेसकै उम्मेदवार नभए पनि कांग्रेसले समर्थन गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना रहन्छ । कांग्रेस निराश भइहाल्ने अवस्था केही पनि छैन ।

त्यसबारे पार्टीका नेताहरू गम्भीरताका साथ लाग्नुपर्छ । अहिलेको अवस्थामा पराजित सेनाजस्तो बनेर कांग्रेस सुस्ताउनुपर्ने आवश्यकता केही पनि छैन ।

(‘कसले सुधार्छ कांग्रेस ’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक शंकर तिवारीसँगको कुराकानीमा आधारित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved