गठबन्धन टुटेपछि कांग्रेसमा देउवामाथिको दबाब बढ्यो, अब के होला ?

घटनाक्रम र कांग्रेसभित्र कै प्रतिक्रियाहरु हेर्दा अगामी दिनमा देउवामाथिको दबाब बढ्ने प्रष्ट छ । तर, यस्तो असन्तुष्टि कति अगाडिसम्म जान्छ र देउवापक्षले त्यसको प्रतिरक्षा कसरी गर्छ, त्यो भने आम जिज्ञासाको बिषय बनेको छ ।

गठबन्धन टुटेपछि कांग्रेसमा देउवामाथिको दबाब बढ्यो, अब के होला ?

काठमाडौं । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गठबन्धन जोगाउन नसक्दा नेपाली कांग्रेसलाई निक्कै ठूलो वेफाइदा भएको भन्दै पार्टीभित्र असन्तुष्टि तीव्र भएको छ ।

देउवाप्रति असन्तुष्टि जनाउनेले कांग्रेस सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनु पर्ने अन्यथा विशेष महाधिवेशन बोलाएर हटाउन सकिनेसम्मको धम्की दिएका छन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेले ट्वीट गरेका छन्–‘नेकां सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउबाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनु पर्दछ । हिजो पार्टीका साथीले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने छ ।’

नेता घिमिरेका यो भनाई शेखर–गगन समूहको रणनीतिक सोच हो कि घिमिरेको निजी आक्रोश ? प्रष्ट छैन । देउवा इतर गुटका अधिकांश नेताले पछिल्लो राजनीतिक अवस्थाबारे निराशा व्यक्त गरेका छन् ।

संसदीय दलको निर्वाचनमा देउवाका समर्थक बनेका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन टुट्नमा माओवादी अध्यक्ष प्रचण्डको भन्दा कांग्रेस सभापति देउवाकै बढी दोष र अर्घेलो रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । पौडेलले भनेका छन्–‘ प्रचण्डलाई प्रधानमन्त्री दिने चुनाव अघिकै आन्तरिक सहमति थियो । देउवाबाट धोका खाएपछि प्रचण्डले यस्तो निर्णय गरे ।’

उनले गठबन्धन टुट्दा कांग्रेसको हातबाट सबै चिज गुमेको गुनासो समेत गरेका छन् ।

अर्का नेता अर्जुन नरसिंह केसीले पनि यसको दोष पार्टी सभापति देउवामाथि थोपरेका छन् । उनको ट्वीटमा भनिएको छ–‘म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकार, स्वकेन्द्रित निर्णय, चरम सत्तालिप्साको दुषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै गठबन्धन टुटेको छ।’

घिमिरेले भजनमण्डली भनेर देउवा निकट समूहका सदस्यलाई लक्षित गरेका हुन् । यसभित्र मुख्यतः पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, आरजू देउवा, मीन विश्वकर्मालगायत पर्दैछन । अर्जुन नरसिंह केसीले भने सिधै देउवामाथि आक्रमण गरेका छन् ।

अर्को एक ट्वीटमा केसीले– ‘जे भयो भयो, अब चिन्ता हैन, चिन्तन गरेर अघि बढौं’ भन्ने आग्रह गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले भने कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन्। उनको ट्वीटमा भनिएको छ–‘ देशभरिबाट साथीहरुले सोधिरहनु भएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यति भने, डन्ट वोरी। भएको के हो, सबैलाई थाहा छ । त्यसैले आलोचना, आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मूभ हुनेछौं। नयाँ बिहानी हुने छ ।’

यसरी महामन्त्री शर्माले भने कांग्रेस कार्यकर्तालाई प्रतिपक्षी भूमिकाका लागि मानसिक रुपमा तयार गर्ने प्रयत्न गरेका छन् ।

अर्का महामन्त्री गगन थापाले भने आफूले सुरुदेखि नै गठबन्धनबाट धोका हुन सक्ने भन्दै आएको स्मरण गराउँदै ‘नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लबजस्तो भएको’ अरोप लगाएका छन् । नेपाल लिट्रेचर फेस्टिवलको पोखरा कार्यक्रमा पुगेर उनले ‘संसदीय दलको नेताको चुनाव हारेर आफू झंझटबाट जोगिएको’ ठट्यौलो टिप्पणी पनि गरे ।

देउवा इतर समूहका नेता शेखर कोइरालाले भने–‘कांग्रेसलाई प्रचण्डले धोका दिएको’ अभिव्यक्ति दिएका छन् । उनले देउवामाथि पनि प्रहार गरेका छन् ।

गठबन्धन टुटेपछिको राजनीतिक परिदृष्य र देउवाका कदमबारे उनी निकट कार्यकर्ता भने मौन छन् । देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले भने–‘माओवादी र प्रचण्डमा एकोहोरो भर पर्नु हुँदैन थियो, एमाले र माओवादी बिनाको समीकरण समेत सम्भव थियो,वैकल्पिक गणितमा राम्रो ध्यान नदिँदा कांग्रेसले महत्वपूर्ण अवसर गुमाएको छ ।’

घटनाक्रम र कांग्रेसभित्र कै प्रतिक्रियाहरु हेर्दा अगामी दिनमा देउवामाथिको दबाब बढ्ने प्रष्ट छ । तर, यस्तो असन्तुष्टि कति अगाडिसम्म जान्छ र देउवापक्षले त्यसको प्रतिरक्षा कसरी गर्छ, त्यो भने आम जिज्ञासाको बिषय बनेको छ ।


Comment

One thought on “गठबन्धन टुटेपछि कांग्रेसमा देउवामाथिको दबाब बढ्यो, अब के होला ?

  1. Sher Bahadur Deuba is the whole and sole responsible to the present crisis of Nepali Congress. He should not handshake for alliance with Chhabilal alias Puspa Kamal being aware of his attitude as a power monger. He can’t be and never and ever loyal to neither to the nation nor with any person because of his destructive character.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved