को हुन् बाल्यकालमै विदेश जान बाध्य दाजुभाइ ? जसको फोटो भाइरल बन्यो !

फोटोमा देखिएको उनीहरूको अवस्थाले जो कोहीले पत्तो पाउँछ की, उनीहरू बाध्यताले विदेसिँदैछन्। भविष्य बनाउन पढ्नेलेख्ने उमेरमा घरपरिवार छाडेर विदेश जान लागेको ती दाजुभाइका फोटोले सबैको मन चसक्क बनाएको छ। उनीहरूले भर्खरै १६ वर्ष टेके । तर …

को हुन् बाल्यकालमै विदेश जान बाध्य दाजुभाइ ? जसको फोटो भाइरल बन्यो !
रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली, जसको यो फोटो मलेसिया जाँदैगर्दा काठमाडौं विमानस्थल खिचिएको फोटो

काठमाडौं। नेपालमा युवाहरूको पीडादायी अवस्था झल्काउने तस्वीर अहिले सामाजिक सञ्जालहरूमा भाइरल छ। झट्ट हेर्दा दाजुभाइजस्तै देखिने फोटो दुई किशोरहरूको हो, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको देखिन्छ।

जुँगाको रेखी बस्दै गरेका दुई कलिला किशोरहरू खादा लगाएका छन्। निधारमा राताम्मै टीका लगाएका उनीहरूले पछाडि झोला भिरेका छन्। विमानस्थलमा विदेश प्रवेश गर्ने टर्मिनलका खिचिएको सो फोटो हेर्दा आफन्तले बिदाई गरेको उनीहरू स्वदेश छाड्न लागेको भन्ने बुझ्न कठिन छैन।

फोटोमा देखिएको उनीहरूको अवस्थाले जो कोहीले पत्तो पाउँछ कि उनीहरू बाध्यताले विदेसिँदै छन्। भविष्य बनाउन पढ्ने-लेख्ने उमेरमा घर परिवार छाडेर विदेश जान लागेको ती दाजुभाइको फोटोले सबैको मन चसक्क बनाएको छ।

अब उनीहरूले गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि विदेशमा कठोर श्रम र पसिना बगाउनुपर्ने छ। उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन। उमेरै नपुगीकन उमेर बढाएर विदेश जान बाध्य भएको हुनसक्ने कतिपयको अनुमान छ।

दुई किशोरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको छ। फेसबूक, ट्वीटर टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल सो फोटोले बेरोजगारी समस्या बारेमा बहस समेत निम्त्याएको छ।

टेकराज विक र शिवलाल ओलीको फोटो सञ्जालमा भएका पोस्ट र आएका प्रतिक्रिया

को हुन् ती भाइहरू ?

कलिलै उमेरमा घर व्यवहारले थिचिएर विदेश जान बाध्य उनीहरू हुन् रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली। झट्ट हेर्दा बालक देखिने उनीहरूको आमाबुवाकै काखमा रमाउने, विद्यालयमा पढ्ने उमेर हो। तर, बालकैमा बिदेसिनुको अथाह पीडा र पढ्ने उमेरमा खाँडी जानुको बाध्यता आइलागेको छ।

सोही क्रममा उनीहरूले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको हो।
उनीहरू वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै थिए।

चौरजहारी नगरपालिका वडा नम्बर १३ का जगवीर कामी र गौरी नेपालीका कान्छा छोरा हुन् टेकराज विक। यमबहादुर ओली र आमा मनकुमारी ओलीका छोरा हुन् शिवलाल ओली। घरमा बिहान बेलुका चुल्हो बाल्ने अवस्था नभएपछि विदेसिनुको विकल्प नभएको वडाध्यक्ष टंकप्रसाद ओलीले बताए। उनले नेपालभ्यूजसँग भने ‘‘उनीहरू मेरै वडाका भाइहरू हुन्। उनीहरूमा पढाइ पूरा गर्ने र रोजगारी पाएसम्म नेपालमै बसेर केही गर्ने रहर नभएको होइन र त्यो रहर कसैगरी पूरा नहुने देखेपछि विदेश गए।’’

स्थानीय श्रीकृष्ण शर्माकाअनुसार आर्थिक अवस्था कमजोर भएपछि टेकराजले राम्रोसँग पढ्न पाएनन्।

गाउँको विद्यालयमा सात कक्षा सम्म मात्रै पढे। उनी परिवार पाल्नकै लागि भारतमा मजदुरी गर्न गएका थिए। त्यहाँ राम्रो कमाइ नभएपछि उनी अहिले मलेसिया गएका हुन्।

यता शिवलालले भने एसएलसी पास गरेका छन्। प्लस टू पढ्ने उनमा रहर थियो। तर घरायसी अवस्थाका कारण उनी विदेश जान बाध्य भएका वडाध्यक्ष टंकप्रसाद ओलीले बताए।

स्थानीयकाअनुसार उनीहरूले भर्खरै १६ वर्ष टेके। तर विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिएका थिए। वडाध्यक्ष ओलीले उनीहरुले जन्मदर्ताकै आधारमा नागरिकता बनाएको बताए। उनले भने ‘‘कतिपयले सानै उमेरको पनि भनेका छन्। तर जन्मदर्ताको आधारमा उनीले नागरिकता बनाएका रहेछन्। सोही अनुसार पासपोर्ट लिएर विदेश गए।’’

टेकराज विक र शिवलाल ओलीको फोटो सञ्जालमा भएका पोस्ट

मलेसियाको पोल्टीफर्ममा थालिसके काम

शिवलाल ओली र टेकराज विकले मलेसिया पुगेको भोलिपल्ट बिहीबारैबाट काम थालेका छन्। एक पोल्टीफर्ममा काम गरिरहेको टेकराजका दाइ नाता पर्ने विजय तिरुवाले बताए। उनीहरू कुखुराको हेरचाह गर्ने, खाना खुवाउने काम गरिरहेका छन्।

कुखुराका खाना ओसार्नेदेखि खुवाउनेसम्मका काममा उनीहरू लागेका छन्। एक मेनपावर कम्पनीलाई झन्डै डेढडेढ लाख रुपैयाँ बुझाएर उनीहरू गएको स्थानीयले बताउँछन्। विदेश जानको लागि उनीहरूले गाउँमै ऋण खोजेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved