कतार विश्वकपबाट बाहिरिएसँगै पदबाट हटेका मुख्य प्रशिक्षक

विश्वकपमा सोचे अनुरुपको नतिजा ननिस्कँदा थुप्रै देशका मुख्य प्रशिक्षकको जागिर गएको छ । विश्वकपबाट बाहिरिएपछि कुनकुन प्रशिक्षक हटे त ? हेरौं ।

कतार विश्वकपबाट बाहिरिएसँगै पदबाट हटेका मुख्य प्रशिक्षक

काठमाडौं । फिफा विश्वकप–२०२२ को उपाधिको लागि फ्रान्स र अर्जेन्टिना आइतबार भिड्दैछन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्को भोलि आमने सामने हुनेछन्।

कतार विश्वकपको फाइनल भिडन्त बाँकी रहँदा २८ टोली घर फर्किइ सकेका छन्। विश्वकपमा सोचे अनुरुपको नतिजा ननिस्कँदा थुप्रै देशका मुख्य प्रशिक्षकको जागिर गएको छ । विश्वकपमा बाहिरिएपछि कुनकुन प्रशिक्षक हटे त ? हेरौं ।

टिटे

ब्राजिलको यात्रा क्वाटरफाइनलमा सकिएसँगै मुख्य प्रशिक्षक टिटेले राजीनामा दिए। उनले विश्वकपको अन्त्यमा आफ्नो पदबाट हट्ने घोषणा गरेका थिए। तथापि, क्रोएसियासँग पेनाल्टीमा ४–२ ले ब्राजिल पराजित भएसँगै टिटेले पनि पद त्यागे।

ब्राजिल कतार विश्वकपमा बलियो टोलीको रुपमा सहभागी भएको थियो। तर, सोचेअनुरुप छैंटौँ उपाधि जित्न सकेन। सन् २०१६ मा जिम्मेवारी सम्हालेका टिटेको प्रशिक्षणमा नै ब्राजिल सन् २०१८ विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो। उनकै प्रशिक्षणमा ब्राजिलले सन् २०१९ को कोपा अमेरिका जितेको थियो ।

लुइस भ्यान गाल

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भ्यान गालले विश्वकपमा आफ्नो तेस्रो कार्यकाललाई अन्त्य गरे। क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध नेदरल्याण्ड्स ४–३ ले पराजित भएसँगै गालले राजीनामा दिएका थिए।

सन् २०१९ मा सन्यास लिइसकेका गाल सन् २०२० को यूरोको लागि प्रशिक्षणमा फर्किएका थिए। पहिलो पटक सन् २००२ देखि २००२ को विश्वकपमा गाल मुख्य प्रशिक्षक हुँदा नेदरल्याण्ड्स छनोट हुन असफल भएको थियो।

सन् २०१४ को विश्वकपमा भने गालले नेदरल्याण्ड्सलाई विश्वकपको सेमिफाइनलमा पुर्याएका थिए।

जेराडो मार्टिनो

मेक्सिको विश्वकपमा समूह चरणबाट नै बाहिरिएसँगै मार्टिनोले राजीनामा दिए। मेक्सिको पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरी र दोस्रोमा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो।

अन्तिम खेलमा भने साउदी अरेबियाविरुद्ध मेक्सिकोले जित निकालेको थियो। तर, अन्तिम १६ मा पुग्न भने सो जित पर्याप्त भएन। मार्टिनोले सन् २०१९ देखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

रोबर्टो मार्टिनेज

बेल्जियम समूह चरणमा तेस्रो हुँदै बाहिरिएसँगै मार्टिनेजले राजीनामा दिए। सन् २०१८ को विश्वकपमा बेल्जियमले तेस्रो स्थान प्राप्त गरेको थियो।

सन् २०१६ मा मुख्य प्रशिक्षकको पदमा नियुक्त भएको मार्टिनेजले सन् २०२० को यूरो मा बेल्जियमलाई क्वाटरफाइनल पुर्याउन सफल भएका थिए।

ओटो एडो

घाना समूह चरणको पुछारमा रहँदै विश्वकपबाट बाहिरिएपछि ओटो एडोले पद त्यागेका थिए। दक्षिण कोरियालाई पराजित गर्दै मनोबल उच्च बनाएको घाना पोर्चुगल र उरुग्वेसँग भने स्तब्ध भयो।

उनले प्रतियोगिताअगाडि नै आफुले मुख्य प्रशिक्षकबाट हट्ने निर्णय लिएको बताएका थिए।

पाउलो बेन्टो

अन्तिम १६ मा  ब्राजिलसँग पराजित भएसँगै दक्षिण कोरियाका पाउलो बेन्टोले मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिए। दक्षिण कोरिया उरुग्वेसँग बराबरी, घानासँग पराजित र पोर्चुलमाथि जित निकाल्दै अन्तिम १६ मा पुगेको थियो।

लुइस एनरिके

अन्तिम १६ मा मोरक्कोसँग स्पेन पराजित भएको २ दिनपश्चात स्पेनिस फुटबल संघले लुइस एनरिकेलाई बर्खास्त गरेको थियो ।

एनरिकेको स्थानमा यु–२१ टोलीका प्रशिक्षक लुइस दे ला फ्युन्तेलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।

एनरिकेको प्रशिक्षणमा स्पेन सन् २०२० यूरोको सेमिफाइनल र सन् २०२१ नेसन्स लिगको फाइनलमा पुगेको थियो।

फर्नान्डो सान्तोस

क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले फर्नान्डो सान्तोसलाई बर्खास्त गर्यो। सन् २०१४ सेप्टेम्बरमा मुख्य प्रशिक्षक नियुक्त भएका सान्तोसले पोर्चुगललाई सन् २०१६ को यूरो र सन् २०१९ को नेसन्स् लिगको उपाधि जिताएका थिए ।

यो विश्वकपमा रोनाल्डोलाई बेन्चमा बसाएर उनी चर्चामा आएका थिए । तर उनको रणनीतिले काम नगरेपछि चर्को आलोचना खेपेका छन् । सान्तोसको प्रशिक्षणमा पोर्चुगल सन् २०१८ को विश्वकप र यूरो २०२० को अन्तिम १६ मा पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved