आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै, नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने

गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपालभ्युज

आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै, नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने
फाइल तस्वीर

काठमाडौं । निर्वाचन आयोगले आज विहीबार चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्दैछ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज चुनाव–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आज राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठनको प्रकिया सुरु हुनेछ ।

प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस  २  गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ  १ सय ६५  र  समानुपातिकतर्फ  १ सय १०  जना  प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएका छन् । प्रदेश सभातर्फ ३ सय ५० जना पुरुष निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य चुनावमा ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल सहभागी भएका थिए । समानुपातिक  निर्वाचन प्रणालीतर्फ  कुनै  राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ ।

जसमध्ये बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० दलको धरौटी जफत भएको छ । प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेसमा २६, बाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी जफत भएको छ ।

चुनाव–२०७९  बाट  ७ वटा  दलले  राष्ट्रिय  दलको  मान्यता  पाएका  छन् । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले प्रतिनिधि सभामा  समानुपातिकतर्फ  कुल  सदर  मतको तीन प्रतिशत प्राप्त गरेको र प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved