रास्वपाभित्र असन्तुष्टि, रविलाई लालविक्रमले सम्झाए तीन सन्दर्भ

‘हामीले बन्दसूचीमा पनि डिजिटल डेमोक्रेसीबाटै उम्मेदवार टुङ्ग्याएका हौँ । त्यो यताउता भयो भने डिजिटल डेमोक्रेसीमाथि प्रहार भएको सावित हुन्छ । यो हुनु हुँदैन भन्नेमा म छु ।’

नेपालभ्युज

रास्वपाभित्र असन्तुष्टि, रविलाई लालविक्रमले सम्झाए तीन सन्दर्भ

काठमाडौं । पूर्वप्रत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि देखिन थालेको छ ।

खासगरी समानुपातिक सांसद चयनको विषयलाई लिएर असन्तुष्टि देखिन थालेको हो । सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट पराजित लालविक्रम थापाको नेतृत्वमा यसबारे बिहीबार केन्द्रीय कार्यालय, बसुन्धारामा खबरदारी सभा सम्पन्न भयो ।

सुनसरी जिल्ला सभापतिसमेत रहेका थापाले भने, ‘पार्टीप्रति मलाई धेरै माया छ, सम्मान छ । म चाहन्छु— पार्टी आफ्नो लिकबाहिर नजओस्, पार्टी नबिग्रियोस् । त्यसैले खबरदारी गरेका हौँ ।’

थापाले आफूले सभापति रवि लामिछानेदेखि महामन्त्री मुकुल ढकालसम्मलाई भेटेरै कुराकानी गरेको उल्लेख गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो मात्रै पार्टी होइन, यो ३ करोड नेपालीको पार्टी हो । यसको पुष्ट्याइँ यही निर्वाचनले गरेको छ ।’

मूलत: समानुपातिक सांसद चयनमै असन्तुष्ट रहेका थापाले सभापति लामिछानेलाई ३ सन्दर्भहरू सम्झाएका छन् । सभापति लामिछानेलाई भेटेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफूले मूलत: ३ सन्दर्भहरू सम्झाएको बताए ।

१, डिजिटल डेमोक्रेसीमाथि प्रहार नहोस्;

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण एसियामै डिजिटल डेमोक्रेसीको सुरुवात गर्ने पहिलो पार्टी भएको दाबी गर्दै थापाले यो कहीँबाट प्रहार हुन नहुने बताए । सभापति लामिछानेलाई पनि यही कुरा सम्झाएका उनले समानुपातिक सांसद चयनमा तल-माथि हुने आशङ्का व्यक्त गर्दै उनले भने, ‘हामीले बन्दसूचीमा पनि डिजिटल डेमोक्रेसीबाटै उम्मेदवार टुङ्ग्याएका हौँ । त्यो यताउता भयो भने डिजिटल डेमोक्रेसीमाथि प्रहार भएको सावित हुन्छ । यो हुनु हुँदैन भन्नेमा म छु ।’

आफ्ना मान्छे पर्दैनन् भनेर खबरदारी गर्नुभएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘मलाई कोही सांसद बनाउनु नै छैन । मेरा मान्छे पनि छैनन् बन्दसूचीमा । मलाई त पार्टी गलत दिशामा नजाओस्, आफैँले सुरू गरेको डिजिटल डेमोक्रेसीमाथि कुनैखाले प्रहार नहोस् भन्ने चिन्तामात्रै छ । त्यसैले मैले नेताहरूको ध्यानाकर्षण पनि गरेको हुँ ।’

२, सरकारमा नजाउँ, तलै बसेर खबरदारी गरौँ;

थापाले जनताले आफूहरूलाई प्रतिपक्षमा बसेर खबरदारी गर भनेर मत दिएकाे निष्कर्ष निकाले । ‘अहिलेको म्यान्डेड भनेकै प्रतिपक्षमा बस्नका लागि हो, सरकारमा जानका लागि होइन । यदि सरकारमै जाउ, सरकार नै गठन गर भनेको भए जनताले बहुमत दिइहाल्थे । यो बुझ्नुपर्छ,’ उनले भने ।

सरकारमा जाने भन्ने विषय कहीँ-कतैबाट सुनेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानु हुँदैन । यो प्रतिपक्षमा बसेर जनताको विश्वास कमाउने बेला हो । मैले यही कुरा नेताहरूलाई सम्झाएको छु ।’

सरकारमा जाँदा पार्टी बिग्रनसक्ने आशङ्का थापाको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी यही संसदीय कार्यकालमा सरकारमा गयो भने जनताको विश्वास टुट्न पनि सक्छ, त्यसैले यसलाई ख्याल गरौँ भनेर मैले नेताहरूलाई भनेको छु ।’

३, पार्टी र नेतृत्वमाथिको प्रहार बुझौँ

उनले पार्टीका केन्द्रीय सभापति रवि लामिछाने देशले नै रुचाएको नेता भएको बताए । ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध धेरै लागेका छन्,’ उनले भने, ‘यो हामी कसैका लागि सह्य विषय होइन । हामी यो चाहँदैनौँ । मैले किन प्रहार भइरहेको छ, क-कसले प्रहार गरिरहेका छन् भनेर बुझ्न र प्रतिरोध गर्न जरुरी छ भनेको छु ।’

नागरिकताको विषयलाई लिएर सभापति लामिछानेलाई खुइल्याउन प्रयास भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘सभापतिज्यूको लोकप्रियता र उहाँप्रतिको जनताको माया देखेर यहाँ कोहीचाहिँ अत्तालिएका छन् । हाम्रो खबरदारी यसविरुद्ध पनि हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved