किम्फ आजदेखि, विभिन्न प्रयोगात्मक फिल्महरू देखाइने

नेपालभ्युज

किम्फ आजदेखि, विभिन्न प्रयोगात्मक फिल्महरू देखाइने

काठमाडौं। काठमाडौंमा आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुँदैछ । किम्फको यो २०औँ संस्करण हो । यो वर्ष किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । फेस्टिभल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्नेछ ।

फेस्टिभलमा बलिउड निर्देशक प्रकाश झा मुख्य वक्ताको रूपमा सहभागी हुनुहुनेछ । किम्फमा झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ को विशेष प्रदर्शन हुँदैछ । यस वर्षको संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ ।

कोरोना महामारीका कारण दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको फेस्टिभलमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन् । फेस्टिभलको पहिलो दिन आज मह शिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुने भएको छ ।

आजदेखि सुरु हुने किम्फ २६ गतेसम्म चल्नेछ । समापनमा पोलियो उन्मूलनका लागि अपाङ्गता भएका अस्ट्रेलियन नागरिकले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ प्रदर्शन हुनेछ ।

साथै, अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीन वटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई एक लाख र पचहत्तर हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved