अन्तर्वार्ता

कार्यक्रम नै नभएका नयाँ दलले धेरै फूर्ति नलाए हुन्छ : चित्रबहादुर केसी

जो-जो आएपनि, जस्तो-जस्तो अनुहार आएपनि यो बुर्जुवा संसद्‌ले जनताका आधारभूत आवश्यक्ता समेट्नै सक्दैन, यो मान्नुस् तपाईंले । करोडौं-करोडौं खर्च गरेर आएका जनप्रतिनिधिले जनताको आधारभूत आवश्यक्तालाई केन्द्रमा राखेर काम गर्नै सक्दैनन् । आफ्नो खर्च असुल गर्नमै उनीहरूको ध्यान हुन्छ । अधिकांश सांसदको ध्याउन्न त्यही नै हुन्छ, हेर्दै जानुस् । 

नेपालभ्युज

कार्यक्रम नै नभएका नयाँ दलले धेरै फूर्ति नलाए हुन्छ : चित्रबहादुर केसी

काठमाडौं । चित्रबहादुर केसी पाका वामपन्थी नेता हुन् । राष्ट्रिय जनमोर्चा (राजमो) का केन्द्रीय अध्यक्षसमेत रहेका उनी यसपटक पनि बाग्लुङ क्षेत्र नं. २ बाटै निर्वाचित भएका छन् ।

०७२ सालमा उपप्रधानमन्त्रीसमेत बनेका उनी ०६४ सालमा पनि बाग्लुङबाटै निर्वाचित भएका थिए । ०७० मा समानुपातिकतर्फबाट सांसद बनेका केसी ०७४ सालमा भने सांसद बन्न सकेनन् । उनको नाम बन्दसूचीको पहिलो नम्बरमा भएपनि उनको पार्टीले थ्रेसहोल्ड’ पार गर्न सकेन ।

०७४ सालमा प्रत्यक्षतर्फबाट निर्वाचित पार्टीकी उपाध्यक्ष दुर्गा पौडेल भने यसपटक संसद् छिर्न असमर्थ रहिन् । सत्ता गठबन्धनको समर्थन बोकेर चुनाव लड्न प्यूठान पुगेकी उनलाई नेकपा (एमाले) का सूर्य थापाले हराए ।

यसो हुँदा यसपटक निर्वाचित संसद्‌मा पनि राजमोसँग एक सिटभन्दा धेरै भएन । संसदीय राजनीतिमा पार्टीको बिँडो थामेका अध्यक्ष केसी नयाँ संसद् पनि पुरानोभन्दा अलग नहुने ठान्छन् । उनीसँग चुनावसँगै नयाँ सरकार, राजनीतिक समीकरण र अब राष्ट्रिय राजनीतिमा देखिने सम्भावित दृश्यबारे नेपालभ्यूजकर्मी धनबल राईले कुराकानी गरेका छन् ।

तपाईं पुराना र पाको वामपन्थी नेता हुनुहुन्छ, यसो हेर्दैगर्दा यसपटकको निर्वाचन कस्तो देख्नुभयो ?

छाँटकाँट राम्रो देखिएन । योसँगै ४ पटक सांसद भएँ म । तर, अगाडिको ३ पटक निर्वाचन यस्तो भद्दा देखिएको थिएन, यस्तो भद्रगोल देखिएको थिएन । अहिले धेरै बिग्रिएछ निर्वाचन प्रणाली र नेता/कार्यकर्तासँगै जनता पनि बिग्रिएछन् । मैले त नेता/कार्यकर्ता किनबेचदेखि मतदाता किनबेच देखेँ, यो निकै अस्वभाविक लाग्यो । म पटक्कै सन्तुष्ट छैन । निको चाल छैन ।

यसपटकको निर्वाचनमा पुराना दल खुम्चिँदै गएको र नयाँ दल अगाडि आएको देखियो, यसका पछाडि तपाईं के-के कारणहरू देख्नुहुन्छ ?

पुराना दलले राजनीतिलाई व्यवसाय बनाएपछि नयाँ दल आएका हुन्, यो स्पष्टै छ । अहिलेको परिवर्तनको अगुवाहरू त उनीहरू नै हुन्, जसले जे गफ लगाएपनि । तर, अहिले आएर उनीहरूले पनि राजनीतिलाई सेवाको रूपमा नलिइकन व्यवासायको रूपमा लिए । यसले गर्दा नयाँ दलहरूको उदय सजिलो भयो ।

तर, नयाँ दलहरू आउनेबित्तिकै देश बनिहाल्यो, उलटफेर नै हुन्छ भन्नेचाहिँ हुँदैन । यसअघि पनि त नयाँ नाम राखेर त आएकै हुन् । उनीहरू कहाँ छन् अहिले ? नयाँ आउँदैमा सुधार नै गरिहाल्छन् भन्ने लाग्दैन । तर, पुराना दलका अराजनीतिक हर्कतले नयाँ दललाई सघायो । तर, समग्रमा राजनीति बिग्रिएकै हो ।

सत्ता गठबन्धनको बाँडफाँटमा दुई निर्वाचन क्षेत्र पाएको तपाईंको पार्टी राष्ट्रिय जनमोर्चाले १ सिट मात्रै जित्यो, सरकारमा जानुहुन्छ कि जानुहुन्न ? 

अहिलेसम्म सरकारमा सामेल हुने भनेर पार्टीले निर्णय गरेको छैन । हामीले सरकारलाई गुण वा दोषको आधारमा समर्थन वा विरोध जनाउने भनेका छौँ । राम्रो गर्‍यो समर्थन गर्छौँ र नराम्रो गर्‍यो भने विरोध गर्नेछौँ । सरकारमा गइहाल्ने भन्नेचाहिँ छैन ।

सत्ता गठबन्धनले एउटा मन्त्रालय दिन्छ, ठूलो कुरा रहेन । तर, समग्र राजनीति राम्रो छैन । त्यो भएर हाम्रो पार्टी सरकारमा जाँदैन । राजनीति सुधार्न लागिपर्छौँ ।

संघीयता रहिरह्यो भने देश सही दिशामा जाँदैन भनेर भन्दै आउनुभएको छ, तर चुनावचाहिँ त्यही संघीयता पक्षधर दलको सहयोगमा जित्नुभयो, यसको तादत्म्यता मिल्यो त ?

संघीयता त खारेज गर्नुपर्छ, यसको विकल्पै छैन । यत्रो खर्च संघीयतामा लागेको छ । अनि यसलाई हाम्रो जस्तो गरिब देशले कहाँबाट धान्न सक्छ ? साधारण खर्चकै कुरा गर्दा पनि १५ खर्ब जान्छ, अनि देश खरानी हुँदैन ? यसबाट देश बचाउनका लागि संघीयता खारेज हुनैपर्छ ।

अब जहाँसम्म मैले संघीयता पक्षधर दलको समर्थनमा चुनाव जितेँ भन्ने कुरा भयो, त्यो त कार्यगत एकता न हो । योचाहिँ कुनै मुद्दाविशेषको एकता हो । यो दलगत मुद्दा मिलेर एकता गरेको कहाँ होर ?

हामी सबै दलहरू मिलेर ०७२ मा संविधान ल्याएको, त्यो पनि ०७४ मा बनेको ठूलो वामपन्थी दलले च्यातचूत पारे । यसपछि बनेको न हो यो गठबन्धन । यसलाई हामीले प्रतिगमनविरुद्धको गठबन्धन भनेका हौँ । त्यसैले हामी अहिले पनि कार्यगत एकतामै छौँ । त्यसकै सहयोगमा मैले चुनाव जितेँ । यसलाई ठूलो रूप दिनु हुँदैन ।

अहिलेको गठबन्धनको उद्देश्य भनेको चाहिँ संविधान र लोकतन्त्रलाई जोगाउने मात्रै हो ।

यसपटक संसद्‌मा २७/२८ वर्षका युवा पनि आएका छन्, जहाँ ८१ वर्षीय तपाईं पनि सँगै निर्वाचित हुनुभएको छ । अबको संसद् कस्तो देखिन्छ यी सबै सन्दर्भलाई नियाल्दा ?

जो-जो आएपनि, जस्तो-जस्तो अनुहार आएपनि यो बुर्जुवा संसद्‌ले जनताका आधारभूत आवश्यक्ता समेट्नै सक्दैन, यो मान्नुस् तपाईंले । करोडौं-करोडौं खर्च गरेर आएका जनप्रतिनिधिले जनताको आधारभूत आवश्यक्तालाई केन्द्रमा राखेर काम गर्नै सक्दैनन् । आफ्नो खर्च असुल गर्नमै उनीहरूको ध्यान हुन्छ । अधिकांश सांसदको ध्याउन्न त्यही नै हुन्छ, हेर्दै जानुस् ।

त्यो भएर नयाँ अनुहार आए, नयाँ दल आए, जनताले नयाँ कुरा पाउने भए भनेर खुसी नहुँदा पनि हुन्छ । यो भ्रम मात्रै हो । अरुले पत्याए पत्याउन्, मैलेचाहिँ पत्याउन्न । राजा, राणा, पञ्चायत र खराब राज्य प्रणालीविरुद्ध आन्दोलन गरेका, जसको सिद्धान्त छ, जसको विचार र राजनीतिक छवि राम्रै छन्, ती दलहरूले त केही गर्न सकेका छैनन् । अनि कार्यक्रमविहीन नयाँ दलले आएर के हुन्छ ? तपाईं आफैँ भन्नुस् न । उनीहरूसँग केही कार्यक्रम छ त ?

यो बुर्जुवा संसद् हो । यहाँ डिग्री गरेर फुत्त आएको, गर्छु भनेर नयाँरूपमा आएको कोही-कसैले फूर्तिफार्ती नलाए हुन्छ । यो बुझ्न जरुरी छ ।

गठबन्धनकै कतिपय नेताले चुनावसँगै हामीले भन्ने गरेको प्रतिगमन सच्चियो भनेर भन्न थालेका छन्, यसबारे तपाईंको बुझाइ के छ ?

प्रतिगमन सच्चिएको होइन, झनै आफ्नै रफ्तारमा अघि बढेर गएको छ । लोकतन्त्र, गणतन्त्र चाहिँदैन, ०७२ को संविधान खारेज गर्नुपर्छ भनेर कसरी आएका छन् संगठित रूपमा उनीहरू ? योचाहिँ हेर्नुपर्दैन ? यसकै विरुद्ध गठबन्धन भएको हो ।

त्यसको रक्षा गर्नका लागि यो गठबन्धन टिकिरहनुपर्छ । नभए पुन: आफ्नै रफ्तारमा अघि बढेको यो प्रतिगमन अझ सशक्तरूपमा आउँछ र अहिलेसम्म प्राप्त भएका उपलब्धि ध्वस्त बनाउँछ, यसबारे सबै दलको ध्यान पुग्नु जरुरी छ ।

अन्तिममा, नयाँ दलको उदय र अहिलेको व्यवस्थाबीच कुनै सम्बन्ध छ ?

पुराना दलप्रतिको राजनीतिक वितृष्णाको फाइदा उठाएर नयाँ दल आएका हुन् । र, जो अगाडि आएका छन्, उनीहरूसँग खास कार्यक्रम नै केही छैन । उनीहरूले पुराना दलले गरेनन्, हामी गर्छैँ भन्छन्, त्यो त कार्यक्रम होइन, झ्वाँक मात्रै हो । उनीहरूले पुरानाले भ्रष्टाचार गरेर खाए, हामी खाँदैनौँ भन्छन्, त्योचाहिँ कार्यक्रम भयो त ? त्यसैले जनताले नयाँ दलसँग पनि धेरै अपेक्षा नराख्दा ठिक हुन्छ होला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved