विश्वकप २०२२ : यस्तो छ, नकआउट चरणमा हुने खेलको समीकरण

नेपालभ्युज

विश्वकप २०२२ : यस्तो छ, नकआउट चरणमा हुने खेलको समीकरण

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरू सकिएसँगै नकआउट चरणको समीकरण पूरा भएको हो ।

शुक्रबार भएको विश्वकपको अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्विजरल्यान्डले जित निकालेको थियो । त्यस्तै, पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।

अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह ‘बी’ बाट इङ्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता, समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

त्यस्तै, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्नेछन् ।

यस्तै, जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउन्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved