विश्वकप फुटबल : मोरक्को र क्यानडा भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : मोरक्को र क्यानडा भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा बिहीबार मोरक्को र क्यानडा भिड्दै छन्।

अल थुमामा स्टेडियममा हुने खेलमा मोरक्को र क्यानडा नेपाली समयअनुसार राति पौने ८ बजे आमने सामने हुनेछन्। यसअघि मोरक्को र क्यानडा ३ पटक आमने सामने भएका छन्। जसमध्ये मोरक्कोले २ खेल जित्दा १ खेल भने बराबरीमा सकिएको थियो। विश्वकपमा भने यो मोरक्को र क्यानडाको पहिलो भिड्न्त हो।

दोस्रो पटक विश्वकपमा सहभागी भएको क्यानडा मोरक्कोविरुद्धको खेलमा अङ्क जोड्ने योजनामा रहेको छ। सन् १९८६ मा पहिलो पटक विश्वकप खेलेको क्यानडा समूह चरणको सबै खेलमा पराजित भएको थियो।पाँचौँ पटक विश्वकपमा सहभागीता जनाएको मोरक्को भने दोस्रो पटक नकआउट चरणमा पुग्न चाहन्छ। यसअघि, सन् १९८६ को संस्करणमा मोरक्को नकआउट चरणमा पुगेको थियो।

कतार विश्वकपमा मोरक्कोले क्रोएसियासँगको खेल गोलरहित बराबरी खेल्दा बेल्जियममाथि भने २–० को जित निकाल्न सफल भएको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० ले र क्रोएसियासँग ४–१ ले पराजित भएको थियो।

बेल्जियमलाई पराजित गरेको मोरक्को उच्च मनोबलको साथ समूह चरणको अन्तिम खेलमा प्रस्तुत हुनेछ। बेल्जियमविरुद्धको खेलमा दबाबमा भएता पनि मोरक्कोले गोल गर्न सफल भयो। अचराफ हाकिमीको उत्कृष्ट डिफेन्समा मोरक्कोको पोस्ट सुरक्षित देखिन्छ। क्यानडाविरुद्धको खेलमा बराबरी मात्र खेले पनि बेल्जियमले अन्तिम १६ को स्थान सुनिश्चित गर्नेछ।

तथापि, क्यानडालाई सस्तोमा लिन नसक्ने बेल्जियमले राम्ररी बुझेको छ। पछिल्लो २ खेलमा प्राविधिक रूपले क्यानडा बलियो रूपले नै प्रस्तुत भएको थियो। बेल्जियमविरुद्धको खेलमा क्यानडाले गोल गर्ने अवसर पाएको थियो। तर, बललाई पोस्ट चुमाउन असमर्थ भयो।

अल्फोन्सो डेभिसले गुमाएको पेनाल्टी प्रहार पनि क्यानडाको लागि महङ्गो साबित भयो। क्रोएसियाविरुद्धको खेलमा भने डेभिसले प्रतियोगिताको नै छिटो गोल गर्न सफल भए। उनले २ मिनेटमा गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए।

यस्तै, प्रस्तुतिको साथ मोरक्कोमाथि जित निकाल्दै क्यान्डा विश्वकपमा ‘बाउन्स ब्याक’ गर्न चाहन्छ। यद्यपि, उच्च लयमा भएको मोरक्को भने अपराजित रहँदै अन्तिम १६ मा पुग्न चाहन्छ।

४ अंकसहित मोरक्को समूह ‘एफ’ को दोस्रो स्थानमा छ। अंकविहीन क्यानडा पुछारमा छ। ४ अंक भएको क्रोएसिया शीर्ष र ३ अंकसहित बेल्जियम तेस्रो स्थानमा छ।

समूह ‘एफ’ को अर्को खेलमा बेल्जियम र क्रोएसिया पनि राति पौने ९ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved