बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी

बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी

सुन्दरहरैँचा । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको खेलमा झापा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाका लागि रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गोल गरेका थिए ।

विराटनगरले भने जवाफी गोल फर्काउन सकेन । राष्ट्रिय खेलाडी संलग्न दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विराटनगले पटक पटक गोल गर्ने अवसर पाए पनि चुक्यो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की घोषित भए । उनले पाँच हजार पुरस्कार प्राप्त गरे ।

बुधबार भारतको एमएमएफसी पश्चिम बङ्गाल र सिरहाको सहलेस युथ क्लबबीच खेल हुने प्रतियोगिताका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । आगामी कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालका सात तथा विदेशी तीन टोली सहभागी छन् । विराटनगर, झापासँगै डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौँ, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएमएफसी पश्चिम बङ्गाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरीले जितेको थियो । विजेताले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई जनही रु १५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए । खेलको मुख्य प्रायोजक बुद्ध एयर तथा सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved