‘ब्यालेट’को लडाइँ पनि जित्नेमा ढुक्क गंगानारायण !

माओवादी युद्धका एक कमाण्डरको आरोह-अवरोह

२०६४ सालको पहिलो संविधान सभा चुनावमा पार्टी (माओवादी केन्द्र) ले उनलाई सिन्धुलीकै लागि टिकट दिएको थियो । तर, आफूभन्दा ‘सिनीयर’ नेता सीपी गजुरेल आउने भएपछि उनी पछि हटे । ७० मा पार्टीले उनैलाई टिकट दियो । तर, झिनो मतान्तरले पराजित भए ।

‘ब्यालेट’को लडाइँ पनि जित्नेमा ढुक्क गंगानारायण !

काठमाडौं। गंगानारायण श्रेष्ठ लामो समययता नेपाली राजनीतिमा सक्रिय नाम हो । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष रहेका श्रेष्ठ आसन्न निर्वाचनमा सिन्धुली क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले उनी चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा सिन्धुलीमै छन् । आफ्नो जिल्ला-क्षेत्रमा पुग्दा उनलाई देखेर जनता भावुक बन्छन् । श्रेष्ठलाई जनता आफैंलाई कुरेर बसेको जस्तो भान हुन्छ । ‘उहाँहरूले मलाई नै पर्खिरहेको पाएँ । उहाँहरू कतिपय त मलाई देखेपछि भावुक बन्नुभयो,’ श्रेष्ठ भन्छन् ।

हुन पनि श्रेष्ठ तिनै व्यक्ति/नेता हुन्, जसले त्यही बसेर माओवादी सशस्त्र युद्धका लागि तयारी, युद्ध मोर्चा र माहोल बनाएका थिए । जनयुद्धको सुरुवातमै सिन्धुलीगढीको प्रहरी चौकी कब्जा गर्दा श्रेष्ठ आफैँ कमान्डर थिए ।

जुनबेला उनी त्यहाँका हरेक घरका वातावरण र मानिसहरूसँग नजिकिएका थिए । ‘मैले हिजो यहाँका घर-घर डुलेर माओवादी सशस्त्र जनयुद्धको माहोल बनाएको थिएँ,’ उनी भन्छन्, ‘त्यसैले पनि उहाँहरू भावुक बन्नुभयो । उहाँहरूले मलाई देखेपछि आफूलाई थाम्न सक्नुभएन ।’

चुनावी भेटघाटका क्रममा सिन्धुली २ को प्रदेश सभा ‘ख’ मा गंगानारायण श्रेष्ठ ।

२०४१ सालमा विद्यार्थी राजनीतिबाट सुरु गरेका श्रेष्ठ माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपामा आइपुगेका छन् । उनले ‘बुलेट’ को लडाइँ धेरै लडे । तर, अहिलेसम्म ब्यालेटको लडाइँ जित्न पाएका छैनन् । अब उनी ‘ब्यालेट’को लडाइँ  पनि जित्ने र जनताको समृद्ध नेपालको पूरा गर्ने सोचमा छन्, भन्छन्— ‘अब बुलेट चाहिँदैन, ब्यालेटबाटै सबै कुरा सम्भव हुन्छ ।’

हुन पनि सिन्धुली २ को ‘ख’ मा उनको जित सहज देखिन्छ । यस निर्वाचन क्षेत्रमा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिका पर्छन् भने २० वटा वडाहरू पर्छन् । जहाँ १६ वटा वडामा माओवादी केन्द्रले जितेको छ भने १ वटामा कांग्रेस र ३ वटामा एमाले जितेको छ ।

यसो हुँदा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठलाई जित निकाल्न सहज छ । श्रेष्ठको दाबी छ— ‘चुनाव त जितिसकेँ, कति धेरै मतले भन्ने कुराचाहिँ मंसिर ४ ले बताउला ।’ श्रेष्ठ थप्छन्, ‘जनताले मलाई अनुमोदन गरिसकेका छन् ।’ एमालेले श्रेष्ठसँग राजकुमार पौडेललाई भिडाउँदै छ ।

श्रेष्ठका सहयोद्धाहरू प्रायः मन्त्री, सांसद बनिसकेका छन्, राज्य पक्षबाट कुनै न कुनै प्रकारको सेवा-सुविधा लिएका छन् । तर, उनले अहिलेसम्म त्यस्तो मौका पाएनन् ।  २०७२ मा डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण गर्दा उनले साथ दिए । त्यसपछि भट्टराई जहाँ गए, उनी पनि त्यतै सोझिए । ‘विविध कारणले गर्दा म बाहिरै रहेँ बढी समय । यसलाई व्याख्या-विश्लेषण गर्नेभन्दा पनि विविध कारणले भन्दा नै ठीक हुन्छ,’ उनी भन्छन् ।

२०६४ सालको पहिलो संविधान सभा चुनावमा पार्टी (माओवादी केन्द्र) ले उनलाई सिन्धुलीकै लागि टिकट दिएको थियो । तर, आफूभन्दा ‘सिनीयर’ नेता सीपी गजुरेल आउने भएपछि उनी पछि हटे । ७० मा पार्टीले उनैलाई टिकट दियो । तर, झिनो मतान्तरले पराजित भए ।

त्यसैले, पार्टीले आफूलाई अवसर नै नदिएको भन्न रुचाउँदैनन् उनी, भन्छन् ‘मलाई पार्टीले अवसर पनि दिएकै हो । मैले पार्टीले केही दिएन भनेर भन्दिनँ । त्यसो भनेँ भने त्यो अन्याय हुन जान्छ । आफ्नै भनौँ वा विविध कारणले म यी कालखण्डमा यहाँ आइपुगेको छु । हिजोको मोर्चामा हामी सँगै बसेका साथीहरूले राज्य पक्षबाट सेवा-सुविधा लिए भनेर मलाई केही लाग्दैन ।’

सत्ताबाहिरै रहेपनि सरकारका काम/कारबाहीलाई भने उनले नजिकबाट नियालेका छन् र बुझ्ने मौका पाएका छन् । २०६३ मा अन्तरिम विधायिकाको रूपमा ११ महिना काम गरेका श्रेष्ठ २०६८ सालमा डा. बाबुराम भट्टराई नै प्रधानमन्त्री भएका बेला प्रमुख स्वकीय सचिवको भूमिकामा रहे ।

यी नै भूमिकाबाट उनले सरकारका काम/कारबाही नजिकबाट नियालेका छन् । ‘मैले सरकारका कामहरूलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । यसबीचमा बनेका सरकारहरूले कहीँ न कहीँ गल्ती गरिरहे, दोहोर्‍याइहे । अब बन्ने सरकारचाहिँ यस्ता गल्तीबाट मुक्त भई नितान्त जनपक्षीय हुनुपर्छ भन्ने अहिलेको गठबन्धनको ध्येय हो र हाम्रो पाइला पनि उतैतिर सोझ्याउँदै छौँ,’ श्रेष्ठले भने, ‘मसहित गठबन्धनले बहुमत ल्याएपछि सपना पनि साकार हुन्छन् ।’

श्रेष्ठको निर्वाचन क्षेत्र सिन्धुली २ को ‘ख’ बाटै २०७४ सालमा जितेका माओवादी केन्द्रका नेता बुद्धिमान माझी पनि श्रेष्ठको जित निश्चित देख्छन् । ‘चुनाव त हामीले जितिसक्यौँ नै,’ उनले भने, ‘अब हामीले आधिकारिकता मात्रै कुरेका हौँ ।’ २०७४ मा आफूले ५ हजार बढी मतले जितेको स्मरण गर्दै माझी भन्छन्, ‘उहाँले अझ दोब्बर मतले जित्न सक्नुहुन्छ ।’

श्रेष्ठसँग आफूहरू सँगै विभिन्न आन्दोलनको मोर्चामा अग्रसर भएको याद ताजै छ माझीसँग । ‘उहाँ माओवादी केन्द्रका नेता नै हुनुहुन्छ । उहाँले माओवादी केन्द्रकै चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्दै हुनुहुन्छ । हामी एकदमै खुसी छौँ । यहाँबाट अत्यधिक बहुमतले जिताएर पठाउँछौँ ।’

श्रेष्ठले जनयुद्धताका लामो समय जेलजीवनसमेत बिताए । जनयुद्ध सुरू भएको वर्ष दिनपछि ०५३ साल वैशाख २४ गते सिन्धुलीकै अमलेबाट उनी पक्राउमा परे । त्यसपछि उनी साढे ५ वर्ष जेलमै बसे । उनलाई विभिन्न जेलमा सारियो, यातना दिइयो, कष्टकर जीवन बिताउनुपर्‍यो । तैपनि उनी आफ्नो ‘समृद्धि सपना’बाट कहिल्यै विचलित भएनन् । जेलमुक्त भएपछि पनि उनी पुनः जनयुद्धमै सक्रिय रहे ।

अन्ततः त्यही आन्दोलनको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो । आफूहरूले नै गरेको आन्दोलनबाट स्थापित उपलब्धि र व्यवस्था मास्न खोज्ने प्रवृत्तिसँग श्रेष्ठको खेद छ, भन्छन्, ‘अब हाम्रो जिम्मेवारी थपिएको छ । हामीले दुःखले विभिन्न राजनीतिक उपलब्धि आर्जन गर्‍यौँ । यसलाई आर्जन गरेर मात्रै नहुने रहेछ । मास्न खोज्ने प्रवृत्तिबाट पनि बचाउनुपर्नेरहेछ । यो जिम्मेवारीबोध हामीले गरेका छौँ । अबको लडाइँ यसको रक्षा गर्दै थप अगाडि बढ्नु हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved