भारतीय ठेकेदारको लापरबाहीले नेपाली बालकको ज्यान गयो

नेपालभ्युज

भारतीय ठेकेदारको लापरबाहीले नेपाली बालकको ज्यान गयो

काठमाडौं। भारतीय पक्षले महाकाली पारी सडक निर्माणका क्रममा उछिट्टिएको ढुंगा लागेर वारी नेपाली बालकको मृत्यु भएको छ।

भारतीय पक्षको लापरबाहीका कारण सडक निर्माणका लागि जिलेटिन विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर १२ वर्षीय बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना शुक्रबार दिउँसोको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले मृत्यु हुनेमा व्याँस गाउँपालिका-२ तम्पाकुका १२ वर्षीय पवन महरा रहेको बताए। भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एन्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो। बिना जानकारी विस्फोट गराउँदा नेपाल तर्फ रहेको बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

भारतीय पक्षबाट चरम लापरबाही भएको भन्दै यसको क्षतिपूर्ति मागिने व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए। उनले भारतले जहिले पनि यसरी बिना जानकारी भारतीय पक्षबाट विस्फोट गराइने गरेको बताए।

नेपाल भारत सीमा क्षेत्र नजिकै रहेकाले पारी विष्फोट गर्दा वारी समस्या हुने उनले बताए। क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट आजै दबाब सुरु गरिने धामीले बताए। भारतीय पक्ष क्षतिपूर्ति दिन तयार भएको बुझिएको डीएसपी पाण्डेले जानकारी दिए। बालकको शव जिल्ला अस्पताल ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved