नवलपरासी पश्चिम-१

डलर अर्बपति चौधरीलाई हेभिवेट त्रिपाठीको टक्कर

अर्बौं सम्पत्तिका मालिक चौधरी अहिले नवलपरासीका गाउँ-गाउँमा मागेर हिंडिरहेका छन्- जनताको मत । चौधरीको यो कसरत र दौडधुपले लोकतन्त्रमा जनताको मत कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको छ । पहिले समानुपातिकबाट सांसद भएका चौधरीले पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेका छन् । तर, उनका प्रतिस्पर्धी पनि चानचुने छैनन् ।

डलर अर्बपति चौधरीलाई हेभिवेट त्रिपाठीको टक्कर

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नवलपरासी पश्चिम क्षेत्र नम्बर एकबाट चुनाव लड्दै छन् । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएपछि उनी अहिले निर्वाचन क्षेत्र घुमिरहेका छन् ।

रवाफिलो पाराले दैनिकी बिताएका चौधरी सामान्य बन्ने प्रयासमा देखिन्छन् । त्यसैले, उनका तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । प्राय: सुरक्षाकर्मीको घेरामा विलासी गाडीमा सवार हुने चौधरी मोटरसाइकलको पछाडी बसेर मत मागिरहेका पनि देखिन्छन् ।

यी तस्वीर हेरेपछि सामाजिक सञ्जालमा अनेकथरी कमेन्ट आएका छन् । धेरैले भने “चुनावले ‘सबैलाई माग्ने बनाउँछ’ चाहे अर्बपति नै किन नहुन्” भन्ने खालका मत राखेका छन् । हो अर्बौं सम्पत्तिका मालिक चौधरी अहिले नवलपरासीका गाउँ-गाउँमा मागेर हिँडिरहेका छन्- जनताको मत ।

चौधरीको यो कसरत र दौडधूपले लोकतन्त्रमा जनताको मत कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको छ ।

पहिले समानुपातिकबाट सांसद भएका चौधरीले पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेका छन् । सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परे पनि यो क्षेत्र चौधरीका लागि पछि खालि गरिएको थियो ।

तर, यसपटको चुनाव उनका लागि सहज भने छैन । एकातिर माओवादीका स्थानीय नेता/कार्यकर्ता रुष्ट छन् भने अर्कोतर्फ कांग्रेसभित्रै पनि विवाद छ । चौधरीसँग जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी चुनावी मैदानमा छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्रिपाठी सातौंपटक लड्दै

०४८ देखि निरन्तर यही जिल्लाबाट चुनाव लड्दै आएका त्रिपाठी सातौंपटक मैदानमा उत्रिएका छन् । उनी यसअघि २०७० मा भएको निर्वाचनमा नेपाली कांग्रेसका देवकरण जयसवालसँग ६ हजार मतान्तरले पराजित भएका थिए । पाँचपटक पनि उनी विभिन्न पार्टीबाट निर्वाचित भएका हुन् ।

विद्यार्थी राजनीतिबाट करिअर सुरु गरेका त्रिपाठी कुनै बेला प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (रायमाझी)को केन्द्रीय सदस्यसमेत थिए। उनको परिचयको फैलावट भने मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीबाट भएको पाइन्छ। सोही पार्टीबाट उनले संसदीय यात्रा सुरु गरेका थिए।

२०४८ सालमा नवलपरासी– ३ मा नेपाल सद्भावना पार्टीका उम्मेदवार बनेका उनले कांग्रेस उम्मेदवार नन्दलाल मिश्र र एमाले उम्मेदवार शान्ता मानवीलाई पराजित गरे । त्यतिबेला त्रिपाठीले १६ हजार ७०७, मिश्रले १० हजार ४५६ र मानवीले ६ हजार ४६५ मत पाएकी थिइन् ।

२०५६ मा पनि त्रिपाठी नवलपरासी– ३ बाटै १८ हजार १३३ मत ल्याएर निर्वाचित भए । त्यतिबेला कांग्रेसका त्रियुगी नारायण थारूले १७ हजार ३४९ र एमालेका रामलखन चमारले ८ हजार ९८६ मत पाएका थिए।

२०६४ को पहिलो संविधानसभा निर्वाचनअघि विभिन्न पार्टीका मधेसी नेताले मिलेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे । त्रिपाठी पनि सोही पार्टीमा लागे। र संविधान सभा सदस्यमा निर्वाचित भए।

२०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा उनी नवलपरासी– ६ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले १० हजार २९ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ९ हजार ८५६ र नेकपा माओवादीका रोहित प्रसाद केवटले ५ हजार ७४९ मत ल्याए ।

२०७० मा भने त्रिपाठी पराजित भए। नवलपरासी–६ बाटै उम्मेदवार बनेका उनी कांग्रेस उम्मेदवार कलवारसँग फराकिलो अन्तरले हारेका थिए। कलवारले १४ हजार ५८० मत पाउँदा त्रिपाठीले ८ हजार ४२४ मत मात्रै ल्याए ।

२०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी गठन गरियो। त्रिपाठी पनि केही समय त्यही पार्टीमा लागे तर पछि अलग्गिए। २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गरे। नवलपरासी पश्चिम– १ बाट उम्मेदवार बनेका त्रिपाठीले ३८ हजार ५९२ मत ल्याएर जिते । कांग्रेस उम्मेदवार देवकरन कलवारले ३३ हजार ५९१ मत पाएका थिए।

त्रिपाठी पाँचपटक मन्त्रीसमेत भइसकेका छन्। उनी लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, डा. बाबुराम भट्टराई र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री भएका थिए।

चौधरीलाई पहिलो पटकमै हेवीवेट प्रतिस्पर्धी 

पटक–पटक यहीँबाट चुनाव जितेका त्रिपाठीविरुद्ध उत्रिएका छन् अर्बपति विनोद चौधरी । हेविवेट प्रतिस्पर्धी भएकाले चौधरीलाई सहज छैन । यति मात्र होइन माओवादी नेतृ सीता बौडेलले उक्त क्षेत्रमा बागी उम्मेदवारी दिएकी छन् ।

अर्कोतर्फ कांग्रेसभित्रकै गुटको प्रभाव पनि देखिएको छ । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई ब्याक गराएर चौधरीलाई टिकट दिइएकाले केही विवाद देखिन्छ ।

सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएका नेता देवकरण कलवार सन्तुलाई प्रदेशमा टिकट दिइएको छ । माओवादीले पाएको क्षेत्रमा कांग्रेसले पनि उम्मेदवारी दिएपछि अर्को विवाद निम्तिएको छ । त्यसकै काउन्टरमा माओवादीले प्रतिनिधिसभामा बौडेललाई उम्मेदवार बनाएको अनुमान गरिएको छ ।

सन्तुलाई फिर्ता गराए मात्रै प्रतिनिधिसभामा आफूले पनि उम्मेदवारी निस्क्रिय बनाउने माओवादीको अडान छ । यसले चौधरीलाई केही अप्ठेरोमा पारेको छ । त्यसैले उनलाई कांग्रेसभित्रको असन्तृष्टि र गठबन्धन दललाई मिलाएर लैजानुपर्ने चुनौती छ ।

नेपालका एक मात्र डलर अर्बपति चौधरी ०६४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेका थिए । उनी ०७४ मा भने नेपाली कांग्रेसबाट समानुपातिक सांसद भए । गत मंसिरमा कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका चौधरी पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दै छन् ।

स्थानीय तहको मत विश्लेषण गर्दा

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा कडा प्रतिस्पर्धा देखिन्छ । स्थानीय तहका वडामा  कांग्रेसले ३० हजार ३ सय ४२ मत प्राप्त गरेको थियो ।

गठबन्धनमा रहेको माओवादीले ५ हजार ३४७ र एकीकृत समाजवादीले १ हजार १ सय ४१ मत ल्याएका थिए । गठबन्धनको कुल मत करिब ३७ हजार छ । यता हृदयेशको पक्षमा एमालेको २६ हजार ७ सय ७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको ४ हजार ६९० मत छ ।

राप्रपाले भने आफैँ उम्मेदवारी दिएको छ । राप्रपाले ६ हजार ६८७ मत ल्याएको थियो । माओवादीको मत समेत जोड्दा दुवैको उस्तै मत देखिन्छ । तर, माओवादीले बागी उम्मेदवारी दिएकाले त्रिपाठीलाई सहज हुन सक्छ ।

चौधरीले नवलपरासी बर्दघाट सुस्तापूर्वको क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने इच्छा गरेका थिए । तर, उनको उम्मेदवारीको विषयलाई लिएर पालिका सभापतिहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएपछि उनले पूर्वी नवलपरासी छाडेर पश्चिम रोजेका हुन् ।

यो क्षेत्रमा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका ४, ५, ६, र ७ नम्बर वडा पर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved