कञ्चनपुर-३

रमेश लेखकलाई आफ्नै बागी मनाउन सकस

नेपालभ्युज

रमेश लेखकलाई आफ्नै बागी मनाउन सकस

काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्। देउवाकै गृह प्रदेश सुदूरपश्चिमको कञ्चपुर-३ बाट लेखक चुनाव लड्दैछन्।

प्रतिनिधिसभामा सत्ता गठबन्धनको साझा उम्मेदवारी दिएका लेखकलाई आफ्नै पार्टी नेपाली कांग्रेसका बागी उम्मेदवारका कारणले चुनावमा अफ्ठेरो पर्ने देखिन्छ। लेखकविरुद्ध आफ्नै पार्टीका बागी त छँदै छन् त्यसैमाथि टिकटमा विभेद गरेको भन्दै सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएपछि उनलाई थप सकस हुने देखिएको छ।

एकीकृत समाजवादीका नेता लोकविक्रम थापाले प्रदेशसभा क्षेत्र ३ (क) बाट उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनमा भाग नपाएपछि समाजवादीकै नेता प्रकाश रावलले पनि प्रदेशसभा (क) मा उम्मेदवारी दिएका छन्। बलियो दाबेर‍दारका रुपमा रहेका लेखकसँग एमाले पोलिटव्युरो सदस्य निरुदेवी पाल निर्वाचन लड्दैछिन्। उनको लागि प्रत्यक्ष उम्मेदवारी यो दोस्रो अनुभव हो। एक पटक समानुपातिक भइसकेकी उनी कांग्रेसका नेता रमेश लेखकसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दैछिन्।

लेखकका अति निकट मानिने नेताहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिए पछि लेखकलाई पाल भारी पर्न सक्ने कञ्चनपुर कांग्रेसका एक नेताले बताए।

‘निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्म तोकेको छ। बागीहरूलाई फिर्ता गराउने प्रयास भइरहेको छ’, ती नेताले भने,’ कसैले उम्मेदवारी फिर्ता नलिए भने पनि उहाँले चुनाव त जित्नु हुन्छ तर धेरै मिहेनत गर्नुपर्छ।’

लेखकले पनि आफ्ना पार्टीका बागीहरूलाई फिर्ता लिन आग्रह गरेको बताए। ‘साथीहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छु। सबैले सकरात्मक प्रतिक्रिया दिनुभाको छ’, लेखकले नेपाल भ्युसँग भने,’ फिर्ता लिने नलिने पछि थाहा होला।’

कांग्रेसको पकड क्षेत्र मानिने कञ्चनपुर-३ मा २०७४ को चुनावमा लेखक वाम गठबन्धनका उम्मेदवार डा. दीपक प्रकाश भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए। कांग्रेस एक्लै चुनाव लड्दा लेखकले २६ हजार १०६ र एमाले माओवादी गठबन्धनका उम्मेदवार प्रसाद भट्टले २६ हजार ३६४मत प्राप्त गरेका थिए। क्षेत्र ३ मा ९७ हजार ८२२ मतदाता रहेका छन्।

विगतदेखि नै आफ्नो बाहुल्य रहेको स्थान भएकाले गठबन्धन गर्दा पनि यो क्षेत्र कांग्रेसले अन्य दललाई दिएको छैन।

लामो समयदेखि कञ्चनपुर-३ मा चुनाव लड्दै आएका लेखक फेरि यसै क्षेत्रबाट चुनाव लडेर हारको बदला लिँदै संसद् छिर्ने दाउमा छन्। यद्यपि सक्षम आकांक्षी हुँदाहुँदै सिटको सीमितताले सबैलाई समेट्न नसकेको भन्दै कञ्चनपुर-३ मा लेखकविरुद्ध बागी उम्मेदवारी दिने बढी देखिन्छन्।

लेखकविरुद्ध कांग्रेसकै महाधिवेशन प्रतिनिधि दीपक सिंह र शारदा चन्दले बागी उम्मेदवारी दिएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार तथा कञ्चनपुर उद्योग वाणिज्य संघ अध्यक्ष पिताम्बर जोशीले प्रदेशसभा (क)बाट मनोनयन दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनले प्रदेशतर्फ कञ्चनपुर ३ (क) मा नेकपा माओवादीका टेकेन्द्र भट्ट र (ख) मा कांग्रेसका बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ।

दोधारा चाँदनी, भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाको ८ नम्बर वडा क्षेत्र-३ मा पर्छ। गत वैशाखको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका प्रमुखमा कांग्रेस र दोधारा चाँदनी नगरपालिकामा एमालेले मेयर जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved