महोत्तरीका १४३ मतदान स्थल अति संवेदनशील

मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता

महोत्तरीका १४३ मतदान स्थल अति संवेदनशील

जनकपुरधाम। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि महोत्तरीमा २५८ मतदान स्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २५८ मध्ये १४३ मतदान स्थल अति संवेदनशील, ११४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए।

भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधि लगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोही अनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचन तयारीसँगै सुरक्षा निकायले जनसम्पर्क समेत बढाउन थालेपछि जिल्लामा यसको अनुकूल प्रभाव देखिएको छ। प्रमुख जिल्ला अधिकारी पहाडीले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको बताए।

सुरक्षा बन्दोबस्तीमा निर्वाचन अधिकृतको कार्यालय र उम्मेदवारको सुरक्षा, आचारसंहिताको निगरानी लगायतका विषयलाई केन्द्रित गरी सशस्त्र प्रहरीको कमान्डमा सुरक्षा परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिए।

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पङ्गेनीले वर्गीकरण गरिएको मतदान स्थलको आधारमा जिल्लाभरका चारवटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा बन्दोबस्त मिलाइएको जानकारी दिए।

मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाताले मतदान गर्न पाउने भएका छन्। आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएअनुसार मधेस प्रदेशमा २९ लाख १० हजार २३ मतदाता रहेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका १८ वर्ष उमेर पुगेका उनीहरूले आठ जिल्लाको ३२ प्रतिनिधिसभा सदस्य र ६४ प्रदेशसभाका लागि मंसिर ४ गते मतदान गर्न पाउनेछन्। जसमा १३ लाख ३२ हजार ६ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदाता नामावली सङ्कलन भए अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी बारामा एक लाख ९१ हजार चार सय ९० महिला, दुई लाख ३१ हजार आठ सय २६ पुरुष र ११ अन्य गरी चार लाख २३ हजार तीन सय २७ मतदाता छन्।

सबैभन्दा कम महोत्तरीमा एक लाख ५४ हजार सात सय ८७ महिला, एक लाख ८१ हजार तीन सय सात पुरुष र एक अन्य गरी तीन लाख ३६ हजार ९५ मतदाता छन्।

यसैगरी सप्तरीमा दुई लाख एक हजार ७१ महिला, दुई लाख १७ हजार दुई सय ८२ पुरुष र २१ अन्य गरी चार लाख १८ हजार तीन सय ७४, सर्लाहीमा एक लाख ८७ हजार आठ सय ३७ महिला, दुई लाख २५ हजार तीन सय २९ पुरुष र आठ अन्य गरी चार लाख १३ हजार एक सय ७४ मतदाता छन्।

मधेस प्रदेशको राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लामा एक लाख ९३ हजार एक सय चार महिला, दुई लाख १६ हजार आठ सय ७५ पुरुष र ६ अन्य गरी चार लाख नौ हजार नौ सय ८५, रौतहटमा एक लाख ८५ हजार ४६ महिला, दुई लाख २२ हजार नौ सय ४५ पुरुष र एक अन्य गरी चार लाख सात हजार नौ सय ९२ मतदाता छन्।

सिरहामा एक लाख ६९ हजार सात सय ७२ महिला, एक लाख ९४ हजार तीन सय ४३ पुरुष र दुई अन्य गरी कूल तीन लाख ६४ हजार एक सय १७ तथा पर्सामा एक लाख ५१ हजार आठ महिला, एक लाख ९४ हजार नौ सय चार पुरुष र १६ अन्य गरी तीन लाख ४५ हजार नौ सय २८ मतदाता छन्।

आयोगका अनुसार देशभरि ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय ६ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन्।

निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी गराएको थियो। त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो।

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved