शीर्ष नेताका प्रतिस्पर्धी : कोही परिचित अनुहार, कोही, पूर्व सहकर्मी

विषेशगरी नेकपा एमाले विभाजन भएकाले कतिपय क्षेत्रमा शीर्ष नेतासँगै विगतका सहयात्री नै प्रतिस्पर्धीका रूपमा खडा भएका छन्। जसका कारण शीर्ष नेताको चुनावी क्षेत्रमा रोमाञ्चक भिडन्त हुने देखिन्छ।

शीर्ष नेताका प्रतिस्पर्धी : कोही परिचित अनुहार, कोही, पूर्व सहकर्मी

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ठूला दलको प्रमुख नेताविरुद्ध उम्मेदवारी दिनेहरू प्राय नयाँ अनुहार छन्, कतिपय त पहिलोपटक चुनाव लड्न लागेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक प्राय: सबै शीर्ष नेता पुरानै  क्षेत्रबाट उठेका छन्। यसअघि लगातार जितिरहेकै क्षेत्रमा उनीहरुविरुद्ध उम्मेदवारी दिनेहरू अधिकांश राष्ट्रिय राजनीतिमा छवि नबनाएका अनुहार छन्।

कतिपय स्थानमा हेभीवेटले चिरपरिचित प्रतिद्धन्दीदेखि आफ्नै पूर्व सहकर्मीको सामना गर्दैछन्। विषेशगरी नेकपा एमाले विभाजन भएकाले कतिपय क्षेत्रमा शीर्ष नेतासँगै विगतका सहयात्री नै प्रतिस्पर्धीका रूपमा खडा भएका छन्। जसका कारण शीर्ष नेताको चुनावी क्षेत्रमा रोमाञ्चक भिडन्त हुने देखिन्छ।

गठबन्धनको साथ पाएका पुराना प्रतिद्वन्द्वीसँग ओलीलाई चुनौती

नेकपा एमाले अध्यक्ष केपी ओली झापा– ५ बाट उम्मेदवार बनेका छन्। जुन ओलीको पुरानो क्षेत्र हो। ओली २०४८ सालको आमनिर्वाचनदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन्। यसपटक कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनसँग ओली चुनावी मैदानमा उत्रिए पनि गठबन्धनले अघिल्लोपटक हारेकालाई नै दोहोर्‍याएको छ।

कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको हो। यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए।

०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर निर्वाचित भएका थिए। अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एमालेको बलियो सङ्गठन रहेको बताइन्छ। तथापि, एमालेभित्रको आन्तरिक किचलो गत स्थानीय तहको चुनावमा देखिएको थियो। पार्टी विभाजनको केही असर देखिए पनि अन्तर्घातका कारण एमालेले स्थानीय तहमा केही वडा र मेयर गुमाउनुपरेको थियो। अब भने कस्तो नतिजा आउँछ ४ मङ्सिर पछि थाहा हुनेछ।

देउवाको क्षेत्र- पुराना प्रतिस्पर्धी साथमा, पूर्वसहकर्मी प्रतिस्पर्धामा

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँपटक डडेलधुराबाटै उम्मेदवार बनेका छन्। २०४८ साल यताका सबै (६ वटै) निर्वाचनमा जित हासिल गरेका देउवालाई अहिले कुनै समयका सहयोगी कर्ण मल्लको चुनौती सामना गर्नुपर्ने देखिएको छ।

रोचक कुरा त के भने विगतका निर्वाचनमा तीन पटकसम्म देउवाको निकटतम प्रतिस्पर्धी रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यसपटक देउवाको लागि भोट माग्दै हिँड्ने भएका छन्। अनि दुई दशकसम्म देउवाकै चुनावी कमान्डर बनेर काम गरेका कर्णबहादुर मल्ल भने प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन्।

नेपाली कांग्रेस बीपीबाट उठेका मल्ललाई नेकपा एमालेले समर्थन गरेको छ । यहाँबाट गुल्मीका सागर ढकालले पनि उम्मेदवारी दिएका छन्।

यसकारण यसपटकको चुनावमा देउवाका लागि नयाँ स्वाद मिल्ने देखिएको छ। चुनावी परिणाम कसको पक्षमा पर्छ ? अनुमान लगाउनु हतारो हुन्छ। तर, यसपटकको चुनावी दृश्य भने विगतको भन्दा निकै फरक छ।

प्रचण्डलाई केही सहज

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको क्षेत्र नं २ रोजे। सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको छवि बनाएका प्रचण्डले डा. बाबुराम भट्टराईलाई लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डविरुद्ध नेकपा एमालेका अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। २८ वर्षीय मियाँ यसअघि विवेकशील साझा पार्टीमा थिए। उनी केही दिन पहिले मात्र एमाले प्रवेश गरेका हुन्। उनी केही वर्षअघि टेलिभिजनमा प्रेरणादायी कार्यक्रम ‘ओपन स्पेस नेपाल’ को सञ्चालन गर्थे।

उनी अहिले एउटा आईटी कम्पनी र युवाहरूमाझ नेतृत्व क्षमता विकास गर्ने लिडरसिप कर्नरका संस्थापक तथा प्रमुख कार्यकारी पनि हुन्। स्थानीय तह चुनावको मत हेर्दा एमाले कमजोर मानिएको छ। प्रचण्डविरुद्ध कमजोर उम्मेदवार बनाएको र उनलाई केही सहज भएको भन्दै कतिपयले टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री भर्सेस पूर्वमेयर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार हुन्। लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए। अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ असुरक्षित देखेपछि रौतहट नै फर्किए।

स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ। उनीविरुद्ध एमालेका अजय गुप्ता उम्मेदवार छन्। उनी गौर नगरपालिकाका पूर्वमेयर हुन्।

उनीहरूसहित सो क्षेत्रमा ७ वटा दलका उम्मेदवार र ९ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन्। नेकपा एमालेबाट विद्रोह गरेर हिँडेपछि पहिलोपटक संसदीय चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो वर्चस्व जोगाउनुपर्ने चुनौती छ।

मधेसमा रोचक भिडन्त- उपेन्द्र भर्सेस सीके राउत

एमालेसँग चुनावी तालमेल गरेका जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा उठेका छन्। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी पनि त्यही परेको छ।

सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्।

ठाकुरलाई हरिनारायणको चुनौती

लोसपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनीविरुद्ध महोत्तरी निर्वाचन क्षेत्र नं ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन्।

दुई हेभीवेटको टक्कर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नम्बर ३ का उम्मेदवार हुन्। उनीसँग काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवार छन्। लिङ्देन र सिटौला फरक पाार्टीका हेवीभेट मानिन्छन्।

रवीसँग श्रेष्ठ र पोखरेल

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफैँ चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। सो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन्। सो क्षेत्रमा यसअघि पोखरेलले जितेका थिए।

खनाललाई पूर्व सहकर्मीको चुनौती

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलाम १ का उम्मेदवार हुन्। खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत प्रतिस्पर्धामा छन्। अघिल्लो चुनावमा खनाललाई जिताउन भोट माग्दै हिँडेका बस्नेत अहिले उनीविरुद्ध प्रतिस्पर्धामा रहँदा चुनावी भिडन्त रोचक हुने देखिन्छ।

पौडेललाई सदाबहार प्रतिस्पर्धी चुनौती

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार हुन्। नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले सोही क्षेत्रबाट स्वतन्त्र हैसियतमा टक्कर दिएका छन्।

पौडेलले तनहुँमा आफ्ना सदाबहार प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ।

शेखरलाई पुरानै प्रतिस्पर्धीको उल्झन

कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। उनीविरुद्ध नेकपा एमालेका लालबाबु पण्डित उम्मेदवार बनेका छन्। पण्डितले नेता कोइरालालाई अघिल्लो पटक पराजित गरेका थिए।

शंकर पोखरेल भर्सेस रेखा शर्मा

एमाले महासचिव शंकर पोखरेल दाङमा २ मा उम्मेदवार बनेका छन् । यसअघि प्रदेशमा जितेका उनले अहिले प्रतिनिधि सभामा आएका हुन्। त्यहाँ सत्ता गठबन्धनबाट माओवादी नेतृ रेखा शर्मा उम्मेदवार छिन्।

शर्मा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरिसकेकी नेतृ हुन्।

ईश्वर पोखरेलविरुद्ध दुई युवा नेता

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौ ५ का उम्मेदवार हुन्। जहाँ गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ। जहाँ स्वतन्त्र उम्मेदवार रन्जु दर्शना पनि छिन्।

विष्णु पौडेलसँग पूर्व सहकर्मी प्रतिस्पर्धी

एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ मा उम्मेदवार बन्दा मैदानमा पूर्व सहकर्मी राजु गुरुङ प्रतिस्पर्धी बनेर आएका छन्। लगातार तीनवटा चुनाव जितेका पौडेलसँग यो पटक चुनावी मैदानमा पूर्व सहकर्मी प्रतिस्पर्धी बनेका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार गुरुङ नेकपा एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज एवं प्रदेश सचिव हुन्। ‘हेभीवेट’ पौडेलसँग नयाँ अनुहार गुरुङको चुनौती पनि कडा नै हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved