भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा राजीनामाको ओइरो

नेपालभ्युज

भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा राजीनामाको ओइरो
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई टिकट नदिएपछि उनको गृह जिल्ला अछाममा असन्तुष्ट नेता कार्यकर्ताहरूको राजीनामाको ओ‍इरो लागेको छ।

रावलले आसन्न निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाएपछि एमाले अछाम-१ क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहलेलगायत विभन्न कमिटीका पदाधिकारी तथा सदस्यहरूले धमाधम पदबाट राजीनामा दिएका हुन्।

क्षेत्रीय समन्वय कमिटीले सर्वसम्मत रूपमा रावलको एकल नाम सिफारिस गर्दा पनि केन्द्रबाट झपट बोहोराको नाममा टिकट दिने निर्णय भएपछि असन्तुष्टहरूले धामाधम राजीनामा दिन थालेका छन्।

संयोजक शाहसँगै सहसंयोजक केशर मियाँले पनि राजीनामा दिएका छन्। रावलको गृह नगर नेकपा एमाले साँफेबगर कमिटीले पनि सामूहिक राजीनामा गरेको छ। यस्तै जिल्ला, क्षेत्र, पालिका तथा वडा कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरूले पनि जिल्ला कमिटीसमक्ष सामूहिक राजीनामा बुजाएका छन्।

गत भदौ १९ गते एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठकले रावललाई अछाम १ बाट प्रत्यक्षमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई खारेज गर्दै एमालेले रावलको ठाउँमा गत वर्ष माओवादी पार्टी त्यागेर आएका झपट बोहोरालाई टिकट दिएको छ।

उनीहरूले पार्टीको तल्लो तहका कमिटीको निर्णय लत्याउने जनभावना विपरितको उक्त निर्णयको घोर भत्सर्नासमेत गरेका छन्। २०५१ सालदेखि २०७४ सालसम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए।

२०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए। पार्टीको १०औं महाधिवेशनमा ओलीसँग अध्यक्ष लडेका रावलले ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन पनि मुख्य भूमिका खेलेका थिए। त्यही रिसमा ओलीले रावललाई टिकट नदिएको नेताहरूले बताउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved