‘टिमवर्कलाई जितमा बदल्ने योजना छ’ : फुटबल प्रशिक्षक हुमागाईं

नेपालभ्युज

‘टिमवर्कलाई जितमा बदल्ने योजना छ’ : फुटबल प्रशिक्षक हुमागाईं

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल अगाडि राष्ट्रिय नेपाली टोलीको अन्तिम प्रशिक्षण सम्पन्न भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार तालिम सम्पन्न भएको हो ।

प्रशिक्षणका क्रममा प्रशिक्षक प्रदीप हुमागाईं

‘बङ्गलादेशविरुद्ध नेपालको टिम वर्क नै बलियो पक्ष हो । यसलाई नै निरन्तरता दिएर खेल जित्ने योजना रहेको छ ।’, तालिमपश्चात् संवादमा कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले जानकारी गराए ।

‘केही दिन डेंगु र स्वास्थ्य समस्याका कारण  चुनौतीहरू आएका थिए । तर, आजको दिनसम्म आउँदा ९९ प्रतिशत तालिम फलदायक भएको महसुस भएको छ । ’, प्रशिक्षक हुमागाईंले बताए । बङ्गलादेश उदयमान टोली भए पनि नेपाली टोलीले प्रशिक्षणको दौरान विजयी हुने लक्षण देखाएकोमा हुमागाईंले जोड दिए ।

स्ट्रेचिङ गर्दै गोलरक्षक विकेश कुथु

‘नेपाली फुटबल परिवर्तनको विन्दुमा रहँदा पुलको रूपमा आफ्नो क्षमताले सहयोग गर्नु पाउनुलाई आफ्नो सौभाग्य ठान्छु । यो जितमा परिवर्तन होस भन्ने पनि इच्छा रहेको छ ।’, हुमागाईंले बताए ।

तालिमको क्रममा प्रतिद्वन्द्वीका रूपमा उत्रिएका २ टोली

 

नवयुग श्रेष्ठ तथा भरत खवास जस्तो अनुभवी तथा प्राविधिक रूपले दक्ष खेलाडीहरू आफ्नो सिद्धान्तमा ढल्न मुस्किल भएका कारण टोलीमा नपरेको पनि हुमागाईंले प्रस्ट्याए । यस्तै, राष्ट्रिय टोलीमा पर्न गोलरक्षकहरूले देखाएको परिश्रमलाई बेवास्ता गर्न नसकिने भएकोले नै ४ जनालाई राखिएको पनि हुमागाईंले बताए ।

टोलीको अवस्था बुझाउँदै डिफेन्डर अनन्त तामाङ

‘सुरुवातमा तालिम कठिन भएपनि आजसम्म आइसक्दा प्रतिस्पर्धाको लागि हाम्रो टोली तयार छ ।’, नेपाली टोलीका डिफेन्डर अनन्त तामाङले जानकारी गराए । बङ्गलादेश फुटबल टोलीको स्तर बढ्दै गए तापनि नेपाली टोलीको उद्देश्य जित्ने नै रहेको पनि तामाङले बताए ।

‘यस खेललाई हामीले नयाँ सिजनको सुरुवातको रूपमा लिएका छौँ ।’, टोलीका फरवार्ड विमल घर्ती मगरले बताए । खेल गृह मैदानमा हुन लागेकोले टोली उत्साहित भएको पनि मगरको भनाइ छ ।

बन्द प्रशिक्षणको अनुभव सुनाउँदै राष्ट्रिय टोलीमा डेब्यू गर्न लागेका फर्वार्ड ऋतिक खड्का

राष्ट्रिय टोलीमा डेब्यु गर्न लागेका फर्वार्ड ऋतिक खड्काले कडा परिश्रमको नतिजास्वरूप अवसर पाएको बताए । ‘बन्द प्रशिक्षण सुरु गरेसँगै अनुभवी खेलाडीहरूबाट धेरै सिक्ने अवसर पाइरहेको छु । यसले पनि आफूमा सकारात्मक उर्जा थपिरहेको महसुस भइरहेको छ ।’, खड्काले खुसी व्यक्त गर्दै भने ।

नेपाली टोलीका सबै खेलाडी स्वस्थ छन् । मिडफिल्डर सुदीप गुरुङले भने ज्वरोका कारण तालिम गुमाएका थिए । नेपाली गोलकिपर किरण चेम्जोङ पनि तालिममा अनुपस्थिति थिए । यद्यपि, मैत्रीपूर्ण खेलमा टोलीमा किरणको सहभागिता हुने सम्भावना कायम छ ।चेम्जोङ भारतीय आइ लिगमा सहभागी राउन्ड ग्लास पन्जाब क्लबसँग प्रशिक्षण गरिरहेका छन् ।

खेलाडीहरूको तालिम नियाल्दैँ प्रशिक्षक प्रदीप हुमागाईं

असोज ११ गते दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच एक मैत्रीपूर्ण खेल हुँदैछ । बङ्गलादेशको टोली भने शुक्रबार नै नेपाल आइपुगेको थियो । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved