कलाकार एवं व्यंग्य साहित्यकार अर्याल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट सम्मानित

नेपालभ्युज

कलाकार एवं व्यंग्य साहित्यकार अर्याल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट सम्मानित

काठमाडौं। हास्यकलाकार एव‌ं व्यंग्य साहित्यकार केशवराज अर्याल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । राजधानीमा हालै सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

गीत-संगीत, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषालगायत मनोरञ्जनको विविध विधाको प्रवर्द्धन र विकासका लागि काम गर्दै आएको एभरग्रिन वर्ल्डवाइड इन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा उनले हास्यव्यंग्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्राप्त हुन् ।

प्राज्ञ तथा वरिष्ठ चलचित्रकर्मी नीर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी,  नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, वरिष्ठ नृत्य निर्देशक राजु शाह, तथा अभिनेता धीरेन शाक्यलगायत अतिथिको उपस्थिति रहेको थियो ।

डेढ दशकभन्दा लामो समयदेखि हास्यव्यंग्यमार्फत दर्शकको मन जित्दै आइरहेका कलाकार अर्यालले तीतोसत्य, मेरीबास्सै, हर्केहल्दार, ट्वाक्कटुक्क रिटर्नस, ब्याडलक, रुम कि हासम्, कलियुग, ढुक्क, प्रहरी अनुरोध , दृष्टि, टेन्सन साफ, तिरिमिरी, लगायत दर्जनौं टेलिचलचित्र,  तथा अर्को जुनी खै कुन्नी, दशैं आयो, मूलको पानीले, शहर, कसरी भुल्न सक्छु र म, कस्तुरीले बास्ना छरेको, सितारा टलल, कलेजीको छेउ गर्नु गर्‍यौ दले दाइ, जोवन कलकलाउँदोलगायत ३ दर्जन म्युजिक भिडियोमा नृत्य एवं अभिनय गरेका छन् ।  यसका साथै उनले  भूकम्प, सजगता, कालो छायाँ, छोरी, चेतावनीलगायत थियटर र सडक नाटकमा अभिनय गरिसकेका छन्।

हास्यव्यंग्य साहित्यमा समेत कलम चलाउँदै आएका अर्यालका हास्यव्यंग्य कविता ‘आन्द्राभुँडी’ र हास्यव्यंग्य निबन्ध संग्रह ‘३७ महापुराण’ प्रकाशित छन् । अर्यालले यसअघि पनि थुप्रै संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन् । उनी हाल मिडियामा समेत आबद्ध छन् ।

एभरग्रिन वर्ल्डवाइड इन्टरटेनमेन्ट अध्यक्ष तथा कलाकार गोपाल ढकाल ‘छन्दे’ ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गरिने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा  प्रमुख अतिथि नीर शाहलगायत अतिथिहरूले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved