प्रिय पात्र

मेरी प्रेमिका कुञ्जिनी

प्रकृतिको दिव्य छटा वा समयकी चेली यी कुञ्जिनी। युग, समाज वा व्यवस्थाको एक पात्र कुञ्जिनी। परिवार, नातागोता र देशकी एक नागरिक कुञ्जिनी।

मेरी प्रेमिका कुञ्जिनी

भदौको यो पुछार–पुछार !

झरी दर्केको छ बेस्सरी। झ्यालबाहिर उसको चर्तिकला भित्र बसेर सुन्छु। घरी–घरी झ्याल खोल्न मन छ। खोल्छु, फेरि लाउँछु।
लाउने र खोल्ने क्रम भइरह्यो। किनभने भित्तैमा टाँसिएका किताबमा पानीको ओस आई नपुगोस्। यता पनि सचेत भइरहेकै छु।
कुञ्जिनीसँग प्रेम गरेको जुग भयो।

कुञ्जिनी देवकोटाकी अगणति प्रेमिका। मैले तिनलाई कति पिर्ती गरेँ–गरेँ, कुनै लेखाजोखा नै छैन। कुनै अम्खोरा, कचौरा वा चम्चामा भरिएका पानीका आयामभित्र त्यो गणना हुँदैन। कुनै माना, पाथी वा किलो–केजीमा जोखिने कुरा पनि भएन।

देवकोटाले नुवाकोटको कोल्पु किनारकी बाला भेटे– कुञ्जिनी। तिनको प्रेम वा श्रद्धाले झिल्टुङबाट निकालेर वाग्देवीको काखमा सुम्पे। तिनको सुम्पाइले गर्दा मैले भेट्न सकेँ कुञ्जिनीलाई।

प्रकृतिको दिव्य छटा वा समयकी चेली यी कुञ्जिनी। युग, समाज वा व्यवस्थाको एक पात्र कुञ्जिनी। परिवार, नातागोता र देशकी एक नागरिक कुञ्जिनी।

यी सबैभन्दा माथि उठेर प्रेम, प्रणय र मायालु– कुञ्जिनी। मैले यी पात्रलाई सधैँ प्रेमको एउटा वृक्षको रूपमा हेर्ने मन गरेँ। मैले यिनलाई सदैव एउटा अविरल नदीको रूपमा हेर्ने रहर गरेँ। मैले यिनलाई सदा आकाशको जूनताराको रूपमा भन्न रुचाएँ।

प्रेमसँग कुनै व्याकरण वा नियमको भेडाधसान कहाँ हुनु ! गोरे राउतले प्रकृतिकी बाला कुञ्जिनीसँग पिर्ती गाँस्यो। कुञ्जिनीसँग थुप्रेको उज्यालो र मगमगाउँदो प्रेमको धर्ती गोडमेल गर्यो‍। प्रेमको फसल उमार्न कहाँ सहज छ र ? के सजिलै पग्लिन्छ र प्रीतिको चट्टान ? बल्लतल्ल रसाएको अतल माया सुस्तरी हावाको लहरमा ओर्लेर जीवनसँग नाता गाँस्यो।

देवकोटा मायालाई जीवनसँग सम्बन्ध जोडिदिन रुचाउने विराट् साधक हुन्। उनको कलाकारिताले मायाको त्यही नदीमा हामफाल्न दगुराए गोरे र कुञ्जिनीलाई। कुञ्जिनी पनि कुदिरहिन्, लम्किरहिन्, हेलिइरहिन्। किनभने मायासँग यिनले सबै रङ, स्वाद, भाव र सुनाइका संसार समेट्नु छ। प्रेम कति भयो ? कतिखेरसम्म पोखियो ? कहिलेसम्म फ्याँकियो– प्रेमको बीउ ?

देवकोटाले थोरै मात्र बताए तर पाठकले निकुञ्जिका हरेक क्षण र भोगाइसँगै अथाह धर्ती भेट्ने छन्। लेखकले उकेरा लगाइदिएको बोट एउटा थियो– तर त्यो बोटमा अनन्त दाना फले। प्रेमको राग र अनुराग त्यही हो।
कुञ्जिनीको चरित्र त्यही अथाह, अपार र अगणित लाग्छ मलाई।
०००

देवकोटा मायालाई जीवनसँग सम्बन्ध जोडिदिन रुचाउने विराट् साधक हुन्। उनको कलाकारिताले मायाको त्यही नदीमा हामफाल्न दगुराए गोरे र कुञ्जिनीलाई। कुञ्जिनी पनि कुदिरहिन्, लम्किरहिन्, हेलिइरहिन्।

मैले किशोर कालमै यो कृति भेटेँ।

भेट्दा काँसेघारी भित्र थिएँ म। नदी कुलकुलाइरहेथ्यो। बगरको उराठ कतै–कतै मधेसको गर्मीसँग लडिरहेथ्यो।
तर मलाई कुञ्जिनीको प्रेमको हर्हरी बास्नाले लट्ठ पारिरहेथ्यो। म गाई हेर्न जाँदा हरेक दिन कुञ्जिनीको प्रेम–पीडालाई आफ्नै स्वप्न–संसारको लहरमा गाँसेर हेर्न थालेँ।
कुञ्जिनी !
नामसँग मोह कम थियो होला। तर तिनको जीवन भोगाइसँग मैले सम्झौताहीन माया गरिरहेँ… गरिरहेँ…।

आरुका फूलको रङ, चमेली, पारिजात वा गुनकेसरीको सुवासले कुञ्जिनी मगमगिइरहिन्। मेरो प्रेम वा आशक्तिले धर्तीसँगै फैलिइरहेको बेला टक्क अडिएर कुञ्जिनीलाई सजाउँथेँ छातीको भित्री तहमा।
कसैले नहेरोस्, नभेटोस् वा नचिनोस्।

यही नहेर्नु, नभेट्नु, नचिन्नु वा नछाम्नुसँग पिरतीको आलोक झलझलाकार हुँदोरहेछ। कुञ्जिनीको संसार र छायाँ मेरा लागि त्यही भयो। म कुञ्जिनीसँग दोबाटोका रुख, किनार, बिरुवा, छायाँ वा रूपसँग गाँसिएको देख्न थालेँ।
बगर छ। काँसको पट्टेर घारी छ। पानीले ढाकेको कलकल परतिर ढुङ्गाको खात छ। बचेको भागमा बालुवाले सबै छोपछाप पारेको छ।
कुञ्जिनी, यतिखेर म त्यो सबै–सबैमा समेत देखिरहेको छु।
०००

कुञ्जिनीले प्रेम पोखेको वा भोगेको संसार मसँग किन यसरी आयो ?
केही तर्क होलान्। केही आधार होलान्। केही दर्शनका पाइला होलान्। केही सिद्धान्तका भाव होलान्।
तर अनायास् देख्नु र जीवनवादी भएर हेर्दा– संसार आफैँले कब्जा गरेको गर्वबोध चुलिइरहने रहेछ।
कुञ्जिनी मेरा लागि त्यही भइन्।

समयको आकाश त्यही हो– त्यहीँ जून पनि छ, त्यहीँ घाम पनि छ। संसारले उल्का वा चट्याङ भुलेर इन्द्रेणीको अँगालोलाई म्वाइँ खाइरहेको हुन्छ। कुञ्जिनीको समर्पण त्यही कथाको पाना हो। जहाँबाट नारी र युगको तौल गर्दा दुःखहरूले चिहाँ–चिहाँ रुनुपर्छ। त्यो रुवाइको एक धर्ती हेराइ हो– कुञ्जिनी।

मैले फर्की–फर्की कुञ्जिनीको जीवनसँग जोडिन पुगेका पैतालाहरू हेरेँ। समाजले केही रंगरोगनले सिँगारेर तिनलाई रुपसी त बनायो– तर उनका हत्केलामा परेका ठेला र गालामा आँसुका टाटाहरूलाई निहाल्ने मन गरेन। मलाई त्यो निष्ठुरता र कालो चरित्रसँग प्रश्न गरिरहन मन लागेको–लागेकै गरिरह्यो।

पखेटा नकाटन प्रेमको। यो प्रणयले मान्छेको उज्यालोमा तेल हालिरहेको छ। तेल नहाले निभ्छ बत्ती। समाजले उज्यालो निभाएर अँध्यारोमा किन हाँस्ने इच्छा हुर्काएको होला ?
०००

कुञ्जिनीले एउटा सन्तप्त पीडा भोगिन्। त्यो पीडासँग मेरी आमाको कथाले केही साक्ष्य संवाद गरेको मान्छु म।
आमाको कपाल कोराइ, आमाको लुगा, आमाको पूजापाठ, आमाको चुलो–भान्सा, आमाको ममता वा आमाले टेकेको धुलोभित्रको संसार– एउटा बृहत् कालक्रमको चरित्र हो।

मैले आफ्नो प्रेम कुञ्जिनीमा पोखेँ। आमाले त्यो प्रेमको अर्थ र साक्षी बनेर जीवनको स्वराघात र बलाघातमा लम्किरहनु पर्यो‍। जीवनसँग बिपनाहरूको कति लहर ओर्लिन्छ– त्योभन्दा धेरै कल्पनाको ताँतीले अँगालो हाल्न छोडेको हुँदैन।
आमाको अनुहारमा मैले कुञ्जिनी खप्टाएर प्रेम गरेँ, सम्मान गरेँ र स्नेह पोखिरहेँ। यसैले आमाको बोली र कुञ्जिनीको मनलाई मेरा छातीका दुवै पाटामा ढुकढुकिन छाडेनन्।

बाँडिएको मायाको सागरले बोकेको रङ फरक हुँदैन। प्रेमसँग अन्तरघुलन भएको चरित्रलाई सधैँ स्वीकार भन्ने दर्शनको एक हरफ कतै बोलेर कुञ्जिनी मौन भइन्। त्यो चेतनाको प्रहार सधैँ सारा मान्छेका लागि मन्त्र हुने देख्छु म।
कुञ्जिनी !
आमा भएर तिमी आयौ। मैले आमाबाहेक अरू कसलाई पो माया गरेँ र ! श्रद्धा र प्रेमले समयभन्दा धेरै फग्लेटामा चेपिएर रोएँ र !!

०००

बाँडिएको मायाको सागरले बोकेको रङ फरक हुँदैन। प्रेमसँग अन्तरघुलन भएको चरित्रलाई सधैँ स्वीकार भन्ने दर्शनको एक हरफ कतै बोलेर कुञ्जिनी मौन भइन्। त्यो चेतनाको प्रहार सधैँ सारा मान्छेका लागि मन्त्र हुने देख्छु म।

कुञ्जिनीसँग कविताको एउटा चरित्र वा पात्र रूपको अनुहार सधैँ रहेको छ। कुनै पुस्तक वा ग्रन्थको एक कथानकता आफैँमा पूर्ण भूगोल हुँदैन। त्यो थोरै वा बढी उपस्थितिभन्दा पनि प्रभावकारिता मुख्य कुरा रहेछ। म कुञ्जिनीसँग यहीँनेर धेरै छोइन पुगेँ।
बाटो काटेर गएकासँग फेरि–फेरि दुखेसो पोखिरहनुको कुनै मूल्य हुँदैन। महत्त्व वा मानक पीडाको गीत बन्न सक्दैन।
कुञ्जिनी !

सुन त केही कुरा मेरा पनि। सुनिदेऊ न मेरा अन्तर्मनका स्वरका केही सुसेलीहरू। मैले धेरैभन्दा धेरै प्रेमको सङ्गीतमा तिमीलाई सुसेलेर धुन भरेँ। मैले गीत पनि गाएँ– जहाँ सबै तिम्रै भाव र भंगिमाको उज्यालो र रुपौलो आकार मात्र पोखिन सक्यो।

देवकोटाले प्रेम गरेका रहेछन्– कुञ्जिनीसँग। मन पर्नेको गीत गाउनु, चित्र कोर्नु वा संगीत बन्नु– विश्व जगत्को गहिरो यथार्थ रहेछ।
मैले उनकी प्रेमिका चोरेर आफ्नी बनाएँ। तर मैले कुञ्जिनीको कुनै मूर्ति बनाइनँ, चित्र बनाउन सकिनँ।
०००

विश्वयुद्धमा गोरे लड्न गयो। यतै अपुरो संसारमा पाइला बने निकुञ्जिका। के आज यो क्रम रोकिएको छ र ? मैले तर्क गर्न छोडेर प्रश्नका गुजुल्टाबाट मन निकाल्न सकेको छैन कत्ति नि।

अनन्त आकाश बनेर उभिँदो रहेछ प्रेम। आकाशलाई मैले अँगाल्नु छ। मेरा निम्ति त्यही र त्यस्तै प्रिय बनिन् कुञ्जिनी !
सुन्नुस् त !
पानी पनि रोकियो।
अब अकाश हेर्छु– कतै कुञ्जिनीको छायाँ भेट्छु कि !
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved