कस्तो होला लिज ट्रसले नेतृत्व गरेको बेलायत ?

नयाँ प्रधानमन्त्रीका सामु मुख्यत पाँचवटा चुनौती

सन् २०१६ को जनमत संग्रहमा उनी ब्रेक्जिटको पक्षमा खुलेकी थिइन। पछिल्लोपटक बोरिस जोनसनको सरकारमा उनी विदेशमन्त्री थिइन । उनका प्रतिस्पर्धी ऋषि सुनक सोही सरकारमा अर्थमन्त्री थिए । ट्रसले यस्तो बेला बेलायती प्रधानमन्त्रीको कार्यकाल सम्हालेकी छन् कि देशले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

कस्तो होला लिज ट्रसले नेतृत्व गरेको बेलायत ?

कन्जर्भेटिभ नेता लिज ट्रस संयुक्त अधिराज्यको ५६औं प्रधानमन्त्री भएकी छन्। उनी देशको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र थेरेसा मे बेलायतको प्रधानमन्त्री भइसकेका थिए ।

मार्गरेट सन् १९७९ देखि १९९० सम्म ११ वर्ष बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । विश्व राजनीतिमा उनलाई ‘आइरन लेडी’ को उपनाम दिइएको छ । बेलायती अर्थतन्त्रको निजीकरण र उदारीकरणमा उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

दोस्रो महिला थेरेसा मे सन् २०१६–१९ बीच प्रधानमन्त्री थिइन् । ‘ब्रेक्जिट’ मा आफ्नो नीतिको पराजयसँगै डेभिड क्यमारुनले राजीनामा दिएपछि उनी प्रधानमन्त्री भएकी थिएन । ‘ब्रेक्जिट’ पश्चातको राजनीतिक जटिलतालाई सम्हाल्न थेरेसा मेको भूमिका थियो ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रजजस्तै यस अघिका दुवै महिला प्रधानमन्त्री कन्जर्भेटिभ पार्टीका थिए । लिज ट्रजले कोविड–१९ पछिको अवस्था, अर्थतन्त्रको संकुचन, कन्जर्भेटिभ पार्टीभित्रको नेतृत्व संकट र रुस–युक्रेन युद्धजस्ता जटिल अवस्थामा प्रधानमन्त्रीको कार्यकाल सम्हालेकी छन् ।

करिब २ महिना लामो कन्जर्भेटिभ पार्टी नेताको निर्वाचनमा ट्रसले भारतीय मूलका ब्रिटिस नागरिक तथा लोकप्रिय युवा नेता ऋषि सुनकलाई पराजित गरेकी हुन् । ट्रसले आफ्नो राजनीतिक जीवन लिवरल–डेमोक्रेटिक पार्टीको विद्यार्थी संगठनमार्फत् सुरुवात गरेकी थिइन् । अक्सफोर्डमा उनी दर्शनशास्त्र, राजनीति तथा अर्थशास्त्रको विद्यार्थी थिइन् । त्यो बेला उनी क्रान्तिकारी स्वभावकी नेता थिइन् । १९ वर्षको उमेरमा उनले राजतन्त्र अन्त्यको पक्षमा अभियान चलाएकी थिइन । उनी भन्ने गर्दिनँ–‘कुनै व्यक्ति वा परिवार शासन गर्नकै लागि जन्मिन्छ भन्ने म विश्वास गर्न सक्दिनँ।’

ट्रस अहिले ४७ वर्षकी छन् । ट्रसको जन्म पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर सत्तामा पुग्नुभन्दा ४ वर्षअघि भएको थियो । ट्रसको परिवार वामपन्थी चिन्तनमा विश्वास गर्थ्यो । उनका पिता गणितका प्रोफेसर र आमा शिक्षक तथा नर्स थिइन् । राजनीतिक जीवनको प्रारम्भतिर उनी प्रधानमन्त्री मार्गरेट थ्याचर र कन्जर्भेटिभ पार्टी तथा सरकार विरुद्धका कार्यक्रम र प्रदर्शनमा सामेल हुने गर्थिन् । पछि उनी कन्जर्भेटिभ पार्टीमा प्रवेश गरेकी थिइन् ।

सन् २०१० मा पहिलोपटक उनले संसदको निर्वाचन जितेकी थिइन् । त्यसअघि उनले दुईपटक पराजित व्यहोर्नुपरेको थियो । सन् २०१४ मा डेविड क्यामरुनको सरकारमा वातावरणमन्त्रीबाट उनले मन्त्रालय सञ्चालनको अवसर पाएकी थिइन । उनले क्यामरुन, थेरेसा मे र बोरिस जोनसन ३ प्रधानमन्त्रीसँग ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी छन् । मेको सरकारमा उनी कानुन तथा अर्थमन्त्री थिइन् ।

सन् २०१६ को जनमत संग्रहमा उनी ब्रेक्जिटको पक्षमा खुलेकी थिइन्। पछिल्लोपटक बोरिस जोनसनको सरकारमा उनी विदेशमन्त्री थिइन् । उनका प्रतिस्पर्धी ऋषि सुनक सोही सरकारमा अर्थमन्त्री थिए ।

ट्रसले यस्तो बेला बेलायती प्रधानमन्त्रीको कार्यकाल सम्हालेकी छन् कि देशले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको ब्लुमवर्ग डाटा बेसका अनुसार बेलायती अर्थतन्त्र विश्व अर्थतन्त्रको पाँचौं स्थानबाट खस्किएर भरखरै छैटौं स्थानमा पुगेको छ । पहिलोपटक बेलायतलाई भारतले उछिनेको छ ।

सन् २०१० यता बेलायतमा निरन्तर कन्जर्भेटिभ पार्टीले सरकार चलाउँदै आएको छ । यसबीच पार्टीको तर्फबाट उनी चौथो प्रधानमन्त्री बन्न पुगेकी छन्। जोनसनको पतनले ट्रसका लागि यो अवसरको बाटो खुलेको थियो । बोरिस सन् २०१६ को ब्रेक्जिट पक्षधर मात्र हैन, एक मूल अभियानकर्ता थिए। ब्रेक्जिटको पक्षमा जनमत संग्रहको परिणाम आएपछि त्यसको विपक्षमा रहेका तत्कालिन प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा गरेका थिए ।

यसपटक बोरिस भने आफ्नै पार्टीभित्रको अन्तर्विरोधका कारण सत्ता छोड्न बाध्य भएका थिए । उनको कार्यकालमा ६० मन्त्री तथा राजनीतिक नियुक्ति पाएका उच्च अधिकारीले प्रधानमन्त्रीको कार्यक्षमतामा अविश्वास गर्दै राजीनामा दिएका थिए । त्यसपछि सत्तारुढ कन्जर्भेटिभ पार्टीमा नयाँ नेता निर्वाचनको प्रक्रिया प्रारम्भ भएको थियो ।

प्रधानमन्त्री लिज ट्रसका सामुन्ने धेरै चुनौती छन् । पहिलो चुनौती देशको आर्थिक संकुचन र त्यसले जनताको दैनिक जीवनमा पारेको समस्या समाधान नै हुनेछ । बेलायतमा केही वर्षयता आर्थिक वृद्धिदर निरन्तर घट्दो, महँगी र मुद्रास्फिति बढ्दो स्थितिमा छ । उर्जाको बजारमूल्य अकासिएको छ। मुद्रास्फिति १० प्रतिशतभन्दा माथि छ ।

दोस्रो चुनौती भनेको अस्तव्यस्तजस्तो देखिएको राजनीतिक तथा प्रशासनिक स्थितिलाई सम्हाल्नु हो । बोरिस जोनसन जुन जनलहर र उत्साहका साथ उदाएका थिए, कार्यकाल भने निराशाजनक रह्यो । बोरिस जोनसनको कार्यकालमा बेलायती राजनीतिक र प्रशासनका स्थापित मूल्यमान्यता र परम्परा नराम्ररी लडखडाएको ठानिन्छ । ट्रसले यो अवस्था सम्हाल्नुपर्नेछ ।

तेस्रो चुनौती भने युक्रेनमाथि रुसी आक्रमण र त्यसले समग्र युरोपमा पारेको प्रभाव हो। युक्रेन युद्धको अन्त्य कसरी हुन्छ र त्यसको अन्तिम परिणाम के आउँछ भन्ने अझै प्रष्ट छैन । ट्रसले यो जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना मात्र हैन, बेलायती पक्षधरताको ऐतिहासिक सम्पुष्टिसमेत गर्नुपर्ने हुन्छ । यो युद्धमा बेलायत रुसविरुद्ध र युक्रेनको पक्षमा रहँदै आएको छ ।

ट्रसको चौथो ठूलो चुनौती भने युरोपियन युनियनसँगको सम्बन्धलाई सन्तुलन गर्नु हो । सन् २०१६ मा बेलायतले ब्रेक्जिट अनुमोदन गरे पनि त्यसपछिको मनोविज्ञानमा पश्चातापका भावना देखापर्न थालेको बताइन्छ । ब्रेक्जिट अनुमोदन गरेर कतै बेलायतले गलत गरेको त थिएन भन्ने कोणबाट समेत मानिसले सोच्न थालेका छन् ।

ट्रसको पाँचौं ठूलो चुनौती– विश्वस्तरमा बेलायतको घट्दो भूमिका र प्रतिष्ठालाई कायम राख्नु हो । यि चुनौतीसँग लिज ट्रसको कार्यकाल बेलायत र बाँकी विश्वका लागि कस्तो रहने हो, सबैमा उत्सुकता देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved