बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयमा छापा मारेको छ ।

टोलीले उक्त कार्यालयबाट विभिन्न कागजात नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।

बृहत्तरबाट भएको विभिन्न निर्माणसम्बन्धी काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापामारेको अधिकारीले बताए।

यस भन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । तर, त्यो मुद्दा भने अहिले अख्तियारले मुल्तवीमा राखेको छ ।

मधेस प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको परिषद् विरुद्ध जिल्लाका विभिन्न पालिकाबाट दर्जनौँ उजुरी अख्तियारमा परेका छन् । काम नै नगरि मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्यांकन भन्दा बढी रकम निकासा गरेको, गाडी खरिदमा समेत व्यापक अनियमितता भएको जस्ता उजुरी परेको छ ।

परिषद्का कार्यकारी अधिकृत बलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराई बेचेको कागजात पनि अख्तियारले लिएर गएको छ ।

दैलेख जिल्लाका विगु गाउँपालिका ७ बस्ने ३५ बर्षीय जेन्डिल शेर्पाले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई बा १३ च २०३७ नम्बरको स्कारपियो एस फोर फिप्टिन गाडी धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको निमित मात्र प्रयोग गर्न पाउने गरी दान दिएका थिए । दुबै पक्षले २०७६ कार्तिक १४ गते दानपत्र बनाएको देखिन्छ तर, ठाकुरले सो गाडी २०७७ साउन २१ गते आफ्नो श्रीमतीको नाममा नामसारी गरेका छन् ।

त्यस्तै बृहत्तरका लेखापाल सावित्री गिरीको घर अगाडि भएको पिसीसी ढलानमा समेत व्यापक अनियमितता भएको बताइएको छ । उनको घर अगाडि बनेको सडक लागत अनुमान भन्दा बढीको बजेटिङ्ग गरिएको र लागत अनुमानमा प्राविधिकले १३ हजार रुपैयाँ कम भुक्तानीको कागजात पेश गरे पनि लेखापाल गिरीले भने पूरा रकम भुक्तानी दिएको उजुरीसमेत अख्तियारमा परेको छ ।

कार्यालयद्वारा निर्माण गरिएको शौचालयमा समेत अनियमितताको उजुरी छ । धनुषा र महोत्तरीका धार्मिक, सांस्कृतिक क्षेत्रलाई संरक्षण गर्न भन्दै गठन भएका कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरे पनि कारवाहीमा भने ढिलासुस्ती भइरहेको आरोप लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved