पुस्तक–विमर्श

‘नेपाली समाजवाद’- मरूभूमिमा एक लोटा पानी

दशकयता पेरिस स्कुल अफ इकोनोमिक्सका प्रोफेसर थोमस पिकेट्टी मार्क्सवादी /गैर मार्क्सवादी दुवै वैचारिक तप्कामाझ चाखपूर्वक पढिने सुविख्यात लेखक–दार्शनिकका रुपमा चिनिएका छन्। केही वर्षपूर्व उनको एउटा पुस्तक निस्कियो– ‘क्यापिटल इन द ट्वान्टी फस्ट सेन्युरी’। यो पुस्तकले विश्व बौद्धिक जगतमा भुइँचालो नै निम्त्यायो। उक्त वैचारिक–पुस्तकको परकम्पन आजपर्यन्त जारी छ।

नेपालभ्युज

‘नेपाली समाजवाद’- मरूभूमिमा एक लोटा पानी

‘मेरो विचारमा गलत कार्यको वास्तविक स्रोत वर्तमान पुँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जो आज मौजूद छ। हामीसामु विशाल उत्पादक समुदाय छ, जसका सदस्यहरूले एकअर्काको सामुहिक श्रमबाट उत्पन्न फललाई वञ्चित गर्ने कोसिस गरिरहेका छन्। यस्ता कार्य उनीहरू बल प्रयोगद्वारा होइन, कानुनद्वारा कडाइका साथ लागु गरिएका नियमहरू पालना गरेर गर्छन्। यस सन्दर्भमा उत्पादनका साधनहरू अर्थात् उपभोग्य वस्तु र पुँजीगत वस्तुहरू उत्पादन गर्न आवश्यक पर्ने सबै उत्पादन क्षमताहरू कानुनद्वारा व्यक्तिको निजी सम्पत्ति हुनसक्छन् भनी बुझ्नुपर्छ।’

(अल्बर्ट आइन्स्टाइन/ ‘समाजवाद नै किन ?’/ ‘इतिहास जैसा घटित हुआ’, गार्गी प्रकाशन, सन् २०१७ बाट)

बीसौं शताब्दीका केही चर्चित वैचारिक आलेखमध्ये पर्दछ– महान् वैज्ञानिक/सिद्धान्तवेत्ता अल्बर्ट आइन्स्टाइनको यो आलेख पनि। सिंगो वैश्विक आकाशभरि पुँजीवादको कालो घना बादल मडारिइरहेको बेला आइन्स्टाइनले यो चर्चित लेख लेखेका थिए, मे १९४९ ताका। कुनै दुईमत छैन, उनको यो रचनाले संसारभरि न्याय, स्वतन्त्रता र समानताका पक्षमा आवाज उठाउँदै आएको प्रबुद्ध तप्कालाई समाजवादको वैचारिक/सैद्धान्तिक अन्तर्वस्तुभित्र प्रवेश गरेर विचार–विमर्शको मैदानमा उभिन धेरै हिसाबले प्रेरित गर्यो‍। आज पनि आइन्स्टाइनको यो लेखको सान्दर्भिकता झनै गहन र अर्थपूर्ण हुँदै गइरहेकोमा कुनै द्विविधा छैन।

त्यसयता विश्वव्यापी रुपमा समाजवादबारे गम्भीर एवं प्रखर रुपमा बहस /विमर्श चल्दै आएको छ। पछिल्लो समयमा त सबैले आ–आफ्नो माटो र परिवेश–सुहाउँदो समाजवादको व्याख्यासमेत गर्न थालेका छन्। नेकपा (माओवादी–केन्द्र) का नेता  जनार्दन शर्मा ‘प्रभाकर’ को सद्यः प्रकाशित पुस्तक ‘नेपाली समाजवाद’ हाम्रो सन्दर्भ र परिवेशको समाजवादमा जोड दिनेहरूबीच बहस सिर्जना गर्न तत्पर देखिन्छ।

पछिल्लो समय देशका सबै राजनीतिक शक्तिहरूले उठाइरहेको र एकोहोरो रटान लगाइरहेको विषय बन्न पुगेको छ– ‘समृद्धि’। समृद्धि, निकै लोभलाग्दो र आकर्षक नारा बन्न पुगेको छ। ‘समृद्धि– हाम्रै पालामा’ भन्ने नारालाई सार्थक र सफलीभूत तुल्याउने सन्दर्भमा भने केही पक्ष विचारणीय रहेको शर्माको विश्लेषण छ। वर्तमान पुस्तामा नै समृद्धि भित्र्याउने हो भने राजनीतिक नेतृत्वले ठुला र राष्ट्रिय गौरवका आयोजना पूर्वनिर्धारित लागत र समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा उनको विशेष जोड छ। कर्णाली–चिसापानी आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्गजस्ता दशकौंदेखि अड्किरहेका राष्ट्रिय गौरवका आयोजनाहरू समयसीमाभित्रै निर्माण हुन नसक्नुलाई उनले देशको कार्यकारी संरचनाभित्र जिम्मेवार ‘संस्था’ र ‘संस्थागत संरचना’ को असफलता मानेका छन्।

समृद्धिको सन्दर्भमा उनको यस्तो विश्लेषण छ,

‘समृद्धिका लागि उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि जरुरी छ तर तीव्र आर्थिक वृद्धिले मात्र समतामूलक समृद्ध समाजको निर्माण गर्न सम्भव छैन। हामीलाई समतापूर्ण, दिगो एवं फराकिलो आधारबाट सिर्जित आर्थिक वृद्धिसहितको सामाजिक तथा सांस्कृतिक रुपान्तरण आवश्यक छ। किनभने विकास र समृद्धिको निश्चित यात्रा पूरा गरेका विश्वका अधिकांश मुलुकको अनुभवले के सिकाएको छ भने उदार अर्थतन्त्र अवलम्बन गरेका देशमा तीव्र आर्थिक वृद्धिसँगै धनी र गरिबबीचको असमानता पनि बढ्छ।’ (वर्तमान राजनीतिक संकट, सामाजिक संरचना र समृद्धिको यात्रा, पृष्ठ–१७)

दशकयता पेरिस स्कुल अफ इकोनोमिक्सका प्रोफेसर थोमस पिकेट्टी मार्क्सवादी /गैरमार्क्सवादी दुवै वैचारिक तप्कामाझ चाखपूर्वक पढिने सुविख्यात लेखक–दार्शनिकका रुपमा चिनिएका छन्। केही वर्षपूर्व उनको एउटा पुस्तक निस्कियो– ‘क्यापिटल इन द ट्वान्टी फस्ट सेन्युरी’।

यो पुस्तकले विश्व बौद्धिक जगत्मा भुइँचालो नै निम्त्यायो। उक्त वैचारिक–पुस्तकको परकम्पन आजपर्यन्त जारी छ। रमाइलो पक्ष त, सो पुस्तकको तुलना कार्ल माक्र्सको ‘दास क्यापिटल’सँग पश्चिमा मिडियाहरूले निर्धक्कसाथ गरे। उनको वैचारिक लेखनबाट द्रविभूत हुनेहरूले उनलाई ‘आधुनिक माक्र्स’ को उपमा पनि जबरजस्ती भिराए। लेखक शर्मा पिकेट्टीको वैचारिक दर्शन र लेखनबाट प्रभावित देखिन्छन्। पिकेट्टीको पछिल्लो पुस्तक ‘क्यापिटल एण्ड आइडियोलोजी’ मा समाहित वैचारिक सन्दर्भहरूलाई हाम्रो परिवेशसँग जोड्दै उनी लेख्छन्,

‘पुस्तकको मुख्य सन्देश के हो भने जब राज्यको आर्थिक वृद्धिदरभन्दा पुँजीपतिको आय तथा उनीहरूले गरेको लगानीको प्रतिफल बढी हुन्छ, तब असमानता विकराल हुँदै जान्छ। मानव इतिहासको सामन्तवादी युगदेखि आजको खुला अर्थतन्त्र नीतिमार्फत पोषित पुँजीवादी व्यवस्थासम्म जुनप्रकारको असमानता छ, त्यो मानव समाज र राज्यद्वारा निर्देशित लक्ष्यभन्दा बिल्कुल उल्टो छ। त्यसकारणपनि पुँजीवाद पोषित मानव समाज तथा राज्य व्यवस्थाको संरचनाभित्र यो कुरालाई पुष्टि गर्न खोजिन्छ।’ (राज्यका संस्था एवं संरचनाको जनमुखीकरण र सुदृढीकरण, पृष्ठ–३४)

उनले एउटा मात्र होइन, अरू रचनाहरूमा पनि पिकेट्टीलाई प्रशस्तै सम्झिएका छन् र उनका वैचारिकतालाई पछ्याएका समेत देखिन्छन्। खासगरी, नवउदारवादप्रति असहमति राख्दै आएका पिकेट्टीका साथै नोबेल पुरस्कार विजेता प्रख्यात अर्थशास्त्री जोसेफ स्टिग्लिजको उनले पद्चिह्न पछ्याएका देखिन्छ। हुन पनि नवउदारवाद पुँजीको सञ्चयन मात्र नभएर सत्ताको सञ्चयन पनि हुन पुग्यो। पुँजीवादले आफ्नो कुरुप अनुहारलाई सिँगारपटार गर्न नवउदारवाद ल्यायो, सन् नब्बेको दशकयता।

तर, नवउदारवादले झनै असमानता बढायो, शोषण र दमनको शृंखलालाई रोक्न सकेन र गरिबी र बेरोजगारीको चाङमाथि चाङ लाग्दै गयो। दुःखद पक्ष त, तेस्रो विश्वका मुलुकहरूका प्राकृतिक स्रोत, साधनमाथि बहुराष्ट्रिय कम्पनीहरूको आधिपत्यले सीमा नै नाघ्न पुग्यो। पुँजीवादले नवउदारवादको छद्म भेषमा नयाँ उपनिवेशवादलाई विभिन्न मुलुकहरूमा भित्र्याउने कार्य ग¥यो। नोबेल विजेता अर्थशास्त्री स्टिग्लिजको पुस्तक ‘पिपुल, पावर एण्ड प्रोफिट्स’ पुस्तकतिर नियाल्दै उनले लेखेका छन्,

‘पुँजीवादले विश्वभरकै अधिकांश नागरिकमा असन्तोष पैदा गरेको र पुँजीवादी व्यवस्थाको नीतिगत आधार उदारीकरण र विश्वव्यापीकरणबाट विकासशील तथा कम विकसित देशले अपेक्षित विकास गर्न नसकेको तर्क प्रस्तुत गरे। अझ अपेक्षा विपरीत ती देशमा पुँजीवादको नाममा एकाधिकार पुँजीवाद मौलाएको, धनी र गरिबबीच डरलाग्दो असमानता सिर्जना भएको भन्दै उदार पुँजीवाद असफल भएको हुँदा प्रगतिशील पुँजीवादमा रुपान्तरण गर्नुपर्ने घोषणा गरे।’

दशकौंदेखि नेपाली जनताले सँगालेको चाहना र अपेक्षालाई मूर्त रुप दिँदै निकै ठुलो माथापच्चीपछि २०७२ साल असोज ३ गने नयाँ संविधान जारी भयो। नयाँ संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। तर कस्तो खाले समाजवाद ? यो प्रश्नको अझै निरुपण भइसकेको छैन। हरेक राजनीतिक दलको आ–आफ्नै बुझाइ र व्याख्या छ, समाजवादप्रति। भारतीय वामपन्थी आन्दोलनमा लामो समयदेखि जोडिएका भौतिकशास्त्रका प्राध्यापक रणधीर सिंहले सन् २०१३ मा ‘समयान्तर’ मा लेखेका थिए, ‘माक्र्सका लागि समाजवाद केवल एक मानवीय अर्थशास्त्रको व्यवस्था थिएन, उनका लागि समाजवाद मानवमुक्तिको साधन थियो।’

निश्चय नै, मार्क्सले समाजवादलाई मानवमुक्तिको साधनको रुपमा परिभाषित गरेका थिए। समयान्तरमा विभिन्न मुलुकहरूले मार्क्सको यही वैचारिक सूत्रलाई पछ्याउँदै आफ्नो भूगोल–सुहाउँदो समाजवादको अभ्यास र प्रयोग गर्दै आए, जसमा ल्याटिन अमेरिकी मुलुकहरू अग्रपंक्तिमा रहे। हामीकहाँ पनि नेपाली माटो–सुहाउँदो समाजवादको व्याख्या हुनु यथोचित हुनेमा दुईमत देखिँदैन।

निश्चय नै, मार्क्सले समाजवादलाई मानवमुक्तिको साधनको रुपमा परिभाषित गरेका थिए। समयान्तरमा विभिन्न मुलुकहरूले मार्क्सको यही वैचारिक सूत्रलाई पछ्याउँदै आफ्नो भूगोल–सुहाउँदो समाजवादको अभ्यास र प्रयोग गर्दै आए, जसमा ल्याटिन अमेरिकी मुलुकहरू अग्रपंक्तिमा रहे। हामीकहाँ पनि नेपाली माटो–सुहाउँदो समाजवादको व्याख्या हुनु यथोचित हुनेमा दुईमत देखिँदैन। शर्माले खुला बहसका निम्ति नेपाली समाजवादका सम्भावित विशेषता, चरण र त्यसको प्राप्तिको विधिबारे २२ बुँदे प्रस्तावना अघि सारेका छन्। प्रस्तावनाको प्रारम्भमै लेखेका छन्,

‘नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताविना समाजवादको परिकल्पना गर्न सकिँदैन। त्यसका लागि एकातिर आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य कुरा हो भने अर्कोतिर राष्ट्रलाई एकताबद्ध गर्न आन्तरिक रुपले सबै जातजाति, भाषाभाषीको पहिचानको सम्मान र संरक्षण गर्नु नेपाली समाजवादको पहिलो विशेषता हो।’ (नेपाली समाजवादका विशेषता, पृष्ठ–४९)

समाजवाद कुनै ‘युटोपिया’ रहेन अब। बीसौं शताब्दीमा धेरै देशमा प्रयोग भइसके। अझै धेरै देश समाजवादी बाटोलाई पछ्याउन उद्यत देखिन्छन्। विडम्बना ! सोभियत संघको विघटनपछि पुँजीवादी खेमाबाट समाजवादको मरणको व्याख्या गरियो तर पुँजीवादको विकल्प समाजवाद हो भन्ने तथ्य र यथार्थबाट भने आज पनि कोही टाढा छैनन्। प्रश्न यति मात्रै हो, समाजवादलाई पूर्ववर्ती समयमा कतिपय देशले गरेका प्रयोग र अभ्यासलाई पछ्याउने कि आफ्नै देशज मौलिक विशेषताअनुसार लागु गर्ने ? यो एजेन्डालाई पछ्याउन शर्माको ‘नेपाली समाजवाद’ नामक पुस्तकले धेरै हदसम्म विमर्श चलाउन सघाउ पुग्नेछ।

विभिन्न समयमा लेखिएका ११ वटा वैचारिक आलेखहरू समेटिएको ‘नेपाली समाजवाद’ ले लेखककै शब्द सापटी लिनुपर्दा पुस्तकमा समाविष्ट सामग्रीहरूले ‘मरुभूमिमा एक लोटा पानीको रुपमा काम गर्ने’ मा असहमति जनाउने ठाउँ देखिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved