प्रिय पात्र

हृदयले छोइने पात्रत्वप्रति भरोसा छ मलाई

बसाइँ’ उपन्यासका पात्रहरू त्यसका कथानकका आधारमा जीवन्त र स्वाभाविक लाग्छन्। जब ‘बसाइँ’लाई चलचित्रकरण गरियो, धने बस्नेतकी श्रीमतीको चरित्र नै विघटन हुनेगरी त्यसको संवादनिर्माण भएको दृश्य मेरानिम्ति सहज भएन। चलचित्रको आरम्भमै मैनालाई उसको सहभाव र सहकार्ययुक्त चरित्रबाट विमुख मुखाले चरित्रमा रुपान्तरित गरिएको थियो।

हृदयले छोइने पात्रत्वप्रति भरोसा छ मलाई

पात्रहरू लेखकका परिकल्पना हुन्। परिकल्पनाको स्रोत लेखकको परिवेश हो। मूलतः पात्रहरू लेखकका उद्देश्यका अनुसेवक अर्थात् लेखकका विचारका अनुयायक हुन्छन्। त्यसैले पात्रहरू पाठकझैँ स्वतन्त्र हुँदैनन्। कतिपय सन्दर्भमा पात्रका संवेदनामा पस्ने लेखक सिद्धान्त र व्यवहारमा सन्तुलन मिलाउन सकिरहेको हुँदैन। त्यसैले उसले सिर्जना गरेको पात्र आफैमा विरोधाभासपूर्ण ठानिइन्छ र विषयप्रतिको विश्वसनीयता तत्कालका निम्ति त्यही पात्रले गुमाउँछ। अधिकांश लेखनमा पात्रका निम्ति लेखक स्वयम् दोषी छन्।

पात्रका निम्ति पाठकभन्दा बढी लेखक चुनौती हुन्। आजभोलि अधिकांश आख्यानमा अझ भनौँ पात्रत्वको निर्माणमा लेखक स्वतन्त्र हुन सकिरहेको छैन। लेखकलाई विचारका नाममा जीवनदेखि पर हुत्तिनुपर्ने एक खालको कुण्ठाले ग्रसित पारिदिएपछि पात्रहरू पाठकलाई बोझ बनिदिन्छन्। कथाभन्दा बढी कथाकार ठिङ्ग्रिएका कतिपय लेखनका सन्दर्भमा आख्यानकार इन्द्रबहादुर राईले बोलेका छन्, “आजभोलि कथा विचरो भएको छ, कथाको काँधमा टेकेर कथाकार ठिङ्ग उभिन्छ। विचरो कथा निहुरेको निहुरेकै !”

प्रिय पात्रको खोजीमा म यसबेला त्यस भनाइलाई सम्झिरहेछु, जहाँ कथाकारलाई स्थान दिनका निम्ति पात्रले आफ्नो चरित्र विघटन भएको चुपचाप सहिरहनुपर्छ। सिर्जनामा पात्र आफै बोल्ने कि लेखकले पात्रलाई उसको इच्छा विपरीत बोल्न लगाउने भन्ने प्रश्न अहम् हुन्छ।

नेपाली साहित्यमा प्रिय पात्रका सन्दर्भमा बोल्न कठिन छ। कठिनाइको कारण तिनको विविधता हो, व्यापकता हो, सीमितता होइन। त्यसैले प्रिय पात्रमाथिका पूर्व प्रकाशित प्रसङ्गहरू, आलेखहरूमध्ये कतिपय मेरा सन्दर्भमा पनि हृदयका नजिक छन्। प्रियताको सन्दर्भ पनि सापेक्ष हुँदोरहेछ। मैले अतीतमा मेरा हुर्काइसँगै आत्मसात् गरेका पात्रहरू सधैँ त्यही रूपमा प्रिय लागिरहेका छैनन्।

तिनप्रतिको मेरो आकर्षण मेरो पाठकीय चेतनासँगै परिवर्तन भएको छ। कतिपय सन्दर्भमा पाठ्य वा श्रव्य विधामा प्रिय भइरहेको पात्र दृश्यमा उभ्याएपछि निरस लागेको आत्मानुभूति पनि मसँग छ। दृश्यकारिताले जब पात्रलाई बजारिया आँखाका निम्ति बढी रुचिकर बनाइदिन्छ, त्यसभित्रको मौलिकता र आत्मिक पक्ष ओझेलमा पर्छ। यस्ता केही पक्ष पनि छन्, जहाँ आख्यानलाई दृश्यमा लैजाँदा पात्रहरू जीवन्त बनेका छन्। तर कृतिमाथिको यस्तो जीवन्तता नेपाली नाटक र चलचित्रमा कम घटित भएको अनुभव हुन्छ।

यहाँ दुई सन्दर्भ स्मरण भइरहेछ। ‘बसाइँ’ उपन्यासका पात्रहरू त्यसका कथानकका आधारमा जीवन्त र स्वाभाविक लाग्छन्। जब ‘बसाइँ’लाई चलचित्रीकरण गरियो, धने बस्नेतकी श्रीमतीको चरित्र नै विघटन हुनेगरी त्यसको संवादनिर्माण भएको दृश्य मेरानिम्ति सहज भएन। चलचित्रको आरम्भमै मैनालाई उसको सहभाव र सहकार्ययुक्त चरित्रबाट विमुख मुखाले चरित्रमा रुपान्तरित गरिएको थियो।

यस्तै महाभारतकी द्रौपदीप्रति एक समय म सकारात्मक हुन सकिनँ। उनीमाथि भएको शोषणप्रति मेरो गम्भीर विरोध हुँदाहुँदै पनि त्यसको पृष्ठभूमिमा मेरो असहमति थियो। उनीजस्ती तेजोमय जन्म इतिहास भएकी नारीले दुर्योधनका सन्दर्भमा “अन्धोको छोरो अन्धो” भनेर धृतराष्ट्रलाई गरेको अपमानपूर्ण दृश्य हेरेपछि मलाई उनीप्रति गम्भीर असहमति भइरह्यो। पछि यो खोजको विषय बन्यो। मूलग्रन्थमा द्रौपदीसँगको यो सन्दर्भ नै रहेनछ, न त भीमको अट्टहासको सन्दर्भ नै त्यहाँ रहेछ। हिन्दी भाषामा बनाइएको भारतीय दृश्य शृङ्खलामा द्रौपदीको चरित्रमाथि गरिएको योे मजाकले त्यसयताका नेपाली आख्यानमा उनको चरित्र विघटनसहितका अनुकार्यहरू अनुत्पादन भइरहेका छन्। यसरी नेपाली समाजमा मात्र होइन, अधिकांश भूगोलमा पितृसत्तात्मक सोच हावी भएकाले नारी चरित्रको सशक्त उपस्थितिलाई सहज रूपमा स्विकार्न सकिएको देखिँदैन। त्यसैले प्रिय पात्रको खोजीमा हिँडिरहँदा मेरो मनमा एउटा प्रश्न उठिरहन्छ, “मैले खोजको प्रिय पात्र के साँच्चै मैले पाएको छु त ?”

हाम्रा पात्रहरू हिजोका कथावाचकमात्र भएर हुँदैन, वर्तमानको युगीन चेतनासहितका भविष्यद्रष्टा पनि हुनुपर्छ तर त्यसको स्वाभाविकतालाई शैली पक्षबाट जोगाउनुपर्छ भन्ने मान्यता आजको पात्रत्व निर्माणमा विमर्शमा आउनुपर्ने विषय हो।

एउटा अन्तर्वार्ताको क्रममा मैले आख्यानकार ध्रुवचन्द्र गौतमलाई सोधेको थिएँ, “तपाईँले नारीको मूलपात्रत्वलाई आफ्ना त्यतिधेरै आख्यान र नाटकमा किन ठाउँ दिनुभएन ?” उनले उत्तरमा भनेका थिए, “म त्यो क्षमता राख्दिनँ। मैले दिएको पात्रत्वलाई न्याय गर्नसक्ने क्षमता ममा छैन भने त्यो दुस्साहस मैले गर्नुहुँदैन।” मलाई लागेको छ, यो उनको इमानदारी हो, हृदयको अभिव्यक्ति हो। तर कतिपय महत्त्वपूर्ण ठाउँमा नारीको सहभागितालाई वा पात्रत्वलाई लिएर उठेका प्रश्नका सन्दर्भमा अझै पनि भन्ने गरिन्छ, “नारीमा त्यस्तो क्षमता र योग्यता हुनुप¥यो नि !”

हाम्रो समाजको यो पछौटे सोचमा हाम्रा पुरुष पात्रहरू पनि मलाई आधा–अधुरा नै लाग्छन्। त्यसैले मेरो प्रिय पात्रमा म अझै पनि अपूर्णता नै देख्छु। ती शिथिल पात्रहरू, जसलाई मैले मेरो आस्थाको लायक सम्झेको हुन्छु, कहीँ न कहीँ, कुनै न कुनै सन्दर्भमा पुगेर उसले एउटा न एउटा बिगो गरेरै छाड्छ, केही न केही सांस्कृतिक रुग्णताको प्रदर्शन गरेकै हुन्छ। समाजको सापेक्षतामा उसको बिगो क्षम्य त होला, तर उसले मेरो हृदयबाट प्रियता गुमाइसक्छ। म प्रिय पात्रको खोजीमा छु, आंशिक प्रियतामा छु। केही आंशिक प्रिय पात्रहरू सम्झन्छु।

विजय मल्लका केही पात्रहरूले मेरो चेतनालाई छोइदिएका छन्। पहिले सम्झन्छु, बौलाहा काजीलाई। उनले भरिया भक्तेको छोरा वीरेमा देशको आमूल परिवर्तन गर्नसक्ने क्षमता देखे र अवसर दिनका निम्ति व्यक्तिगत रूपमै पहल गरे। मानवताको उद्घोष गर्न, गणतन्त्रको सपना देख्न बौलाहा काजीको पात्रत्व तयार गर्ने विजय मल्लले वीरेको मृत्युलाई तत्कालीन सत्ता र समाजले कुनै सामान्य मान्न सकेनन्।

उनले सहरका महलभित्र थुपारिएका अपार सम्पत्तिलाई मागेर होस् वा लुटेर, जसरी भए पनि वीरेलाई बचाउनुपथ्र्यो भन्ने जुन अभिव्यक्ति २००४ सालमा लेखिएको त्यस नाटकमा दिएका छन्, त्यस चेतनाले तयार पारेको बाटोमा २०५० सालपछिको क्रान्तिले यात्रा गरेको देखिन्छ। विपन्नताले ग्रसित, समाजबाट तिरस्कृत एउटा कमजोर परिवारमा जन्मिएको सडकमा मागिहिँड्ने वीरेलाई शिक्षाको अवसर दिएर विश्वका राजनीति कवि कृतिहरूका विषयमा बहस गर्नसक्ने समर्थवान्, तर्कशील पात्रत्वमा विकास गर्नु लेखनको समकालीनतालाई हेर्दा निकै उच्च चेतना हो भन्ने मलाई लागिरहन्छ।

हाम्रा पात्रहरू हिजोका कथावाचकमात्र भएर हुँदैन, वर्तमानको युगीन चेतनासहितका भविष्यद्रष्टा पनि हुनुपर्छ तर त्यसको स्वाभाविकतालाई शैली पक्षबाट जोगाउनुपर्छ भन्ने मान्यता आजको पात्रत्व निर्माणमा विमर्शमा आउनुपर्ने विषय हो।

सरुभक्तको ‘चुली’ उपन्यासको म पात्र, जो प्रेमका निम्ति समर्पित भएर बढो तयारी र होसियारीका साथ चुली चढ्दै छ, चुलीमा उक्लेकाले ओर्लनुपर्ने जीवनदर्शन दिएर त्यस पात्रमार्फत स्वाभाविक तरिकाले मान्छेको हृदयलाई छोइदिइएको छ। मेरा निम्ति प्रिय पात्र ती हुन्, जो पात्र भएर पनि जीवनको व्यवस्थापनमा सहभागी भइरहन्छन्।

हामीले आज निर्माण गरेका पात्रले भोलिका कैयौँ परिस्थितिहरूलाई बोक्नुपर्ने हुन्छ। आगतको यस्तो भारी बोक्न तयार भइरहेका पात्रहरू स्मरणीय मात्र होइन, प्रिय पनि बन्न सकून्। प्रियताको सम्बन्ध जीवनवादी हुनेगर्छ। जीवनवादी पात्रमा जीवनको गहिराइ हुन्छ।

भर्खरै केही दिनअघि आह्वान संस्थाका तर्फबाट नारीको पात्रत्वका विषयमा एउटा विमर्शको आयोजना गरिएको थियो। कथाकार महेशविक्रम शाहको तर्क थियो, ‘जुन कुरा समाजले स्विकार्दैन, त्यस्तो पात्रत्वको निर्माण गरेर के अर्थ ?’ यस कुरासँग अधिकांश उपस्थित लेखकहरू सहमत हुन सकेनन्। मलाई लागिरह्यो, १९९३ सालमा प्रकाशित ‘चन्द्रवदन’ कथामा विश्वेश्वरप्रसाद कोइरालाले चन्द्रवदनलाई म एक्लै छु, यस्तो बेला त्यो जुल्फिवाला कोठामा आयो भने के गर्ने होला” भन्ने सोचमा परेकी कमजोर पात्र सिर्जना गर्नुको बदलामा आफ्नो सुरक्षाको प्रबन्धतिर सोच्ने र आफ्नी सानी छोरीलाई पनि त्यस्तै चेतनाले हुर्काउने नारीको पात्रत्व दिएको भए…, होड कथाकी पिलन्धरे नारी पात्र, जो नारीको चरित्रमाथिको कलङ्कलाई सहस्र स्विकार्न लगाइन्छे, यसमाथि दायित्वपूर्ण पुनर्विचार गरेको भए…भन्ने लागिरहन्छ। हुन त यहाँ अनेक तर्कहरू आउन सक्छन् तर मेरो दृष्टि समाज परिवर्तनमा र समाजको विकासमा सहभागिता दिनसक्ने व्यक्तिले नै यस्ता पात्रको निर्माण गर्ने खुबी राख्छन् भन्ने हो।

लेखकको सामाजिक र व्यक्तिगत मानवीय दायित्वभित्र आउने यस्ता विषयले समाजको संरचनागत पुनर्निर्माण हुनसक्छ। पात्रमा हुनपर्ने महसुस, स्विकारोक्ति र ग्रहणशीलता हाम्रा पात्रमा कम पाइन्छन्। आख्यानकार शारदा शर्माको ‘ताप’ उपन्यासकी पात्र सुजाता हुन् वा कवि सरस्वती प्रतीक्षाको कविताकी पात्र सुजाता हुन्, यी स्मरणीय छन्। कथाकार भागीरथी श्रेष्ठकी ‘पारू’ ले एउटा युगको प्रतिनिधित्व गरेकी छ। आन्विका गिरीको ‘मोटरसाइकल’ होस् वा मन्दिरा मधुश्रीको ‘बुधनको घोडी’, यी मानवेतर पात्रहरूले सामाजिक र मनोवैज्ञानिक पक्षलाई उजागर गरेका छन्। कथाकार इल्या भट्टराईका नारी पात्रहरू स्विकारोक्तिका तहमा सशक्त लाग्छन्।

हामीले आज निर्माण गरेका पात्रले भोलिका कैयौँ परिस्थितिहरूलाई बोक्नुपर्ने हुन्छ। आगतको यस्तो भारी बोक्न तयार भइरहेका पात्रहरू स्मरणीय मात्र होइन, प्रिय पनि बन्न सकून्। प्रियताको सम्बन्ध जीवनवादी हुनेगर्छ। जीवनवादी पात्रमा जीवनको गहिराइ हुन्छ। म मदनलाई भन्दा भोटेदाइलाई ज्यादा नजिक अनुभव गर्दोरहेछु। ताजमहलका निर्माता शाहजहाँलाई भन्दा पनि देवकोटाको शाहजहाँको इच्छा कविता का पात्रप्रति आत्मपुकार गर्दोरहेछु। कवि वानीरा गिरिको ‘मेरो आविष्कारकी म’ पात्रमा म पटक पटक आफ्नै आविष्कार भइरहेको आत्मबोध गर्छु। मलाई आँखाले भन्दा मस्तिष्कले र मस्तिष्कले भन्दा हृदयले छोइने पात्रत्वप्रति भरोसा छ।
००


Comment

One thought on “हृदयले छोइने पात्रत्वप्रति भरोसा छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved