प्रिय कथा

प्रयोग/ प्रत्यारोपण

“निश्चिन्त हुनुहोस्, हामी तपाईँको ज्यान लिँदैनौँ । हामीलाई तपाईँ जस्तो स्वामिभक्तको स्वामिभक्ति र संवेदनारहित मन–मस्तिष्कको केही गुणात्मक सारको मात्रै आवश्यकता छ । त्यो निकाल्ने हामीसँग यति विकसित प्रविधि छ, जसबाट तपाईंंलाई कुनै कष्ट हुने छैन ।”

प्रयोग/ प्रत्यारोपण

(२०४० सालतिर जस्तो लाग्छ तलब वृद्धिका साथै अन्य केही माग राखेर शिक्षक आन्दोलन चर्किएको थियो। त्यसमा संलग्न जो कोही पनि सरकारको आँखामा बिझाउँथ्यो। प्रहरीको कालो सूचीमा दर्ता हुन्थ्यो। एक दशकअगाडि यस्तै हडतालमा लागेको कारण म स्वयं पनि प्रहरी रिपोर्टका कारण लिखित उत्तीर्ण गरेको लोकसेवाको परीक्षामा अन्तर्वार्ताबाट फालिएको थिएँ। यस्ता अनेकौँ घटनाहरू भइरहन्थे। सत्ता चाहन्थ्यो, अहिले पनि चाहन्छ– सबै जनता आफ्ना आज्ञाकारी रहून्, विरोध–विद्रोह नगरून्। त्यसका लागि हरप्रकारका साम, दाम र दण्ड भेदका नीति अपनाइन्थे। त्यही कथावस्तु र विषयमा केन्द्रित यो कथा मलाई मन पर्नेमध्येको एक हो। यसो हुनुमा यो मेरो पहिलो विज्ञान कथा भएकोले पनि हुनसक्छ।)

‘‘त श्रीमान् ! हामीले यहाँको आदेश अनुसार एउटा नयाँ पुस्ताको मानिस तयार गरेका छौं।”

“के यो मानिसले मैले भने जस्तै काम गर्न सक्छ ?”

“निश्चय नै सक्छ। तर तपाईँ कस्तो काम गराउन चाहनुहुन्छ, यो त्यसमा भर पर्दछ। तपाईँले चाहेको मानिसमा हुनुपर्ने विशेष गुण यस पुस्ताको मानिसमा प्रत्यारोपण गर्नुपर्छ। त्यही जीन, रक्ताणु र मस्तिष्क कोषलाई विशेष रूपमा प्रत्यारोपण गर्नुपर्छ। एउटा गुण भएको यी चिजहरू एक समूहलाई प्रत्यारोपण गरेर हामी नयाँ पुस्ताको आज्ञाकारी मानव तयार गर्न सक्छौँ।”

“त्यसो भए तपाईंंहरू मेरा लागि यस्तो मानिस तयार गर्नुहोस् जसको हात कुशल होस्, मस्तिष्क आज्ञाकारी होस, मुटु सम्वेदना, ममता र चेतनाशून्य होस्।”

“तर श्रीमान् यी सबै गुण एउटै मानिसमा प्रत्यारोपण गर्न सकिन्न। बरु मस्तिष्क र मुटु चाहिँ एकै मानिसमा पनि तपाईँले भनेजस्तै सबै गुण विकसित गर्न सक्छौँ।”

“ठिकै छ, त्यही गर्नोस्। सबैभन्दा पहिला यी सबै प्रकारका विद्रोही र हाम्रो सबै कुराको समर्थन नगर्ने बुद्धिजीवीहरूका ठाउँमा तपाईंंहरूको प्रयोग मानव प्रतिस्थापन गर्न चाहन्छु।”

“हुन्छ श्रीमान्, हामी तपाईँको विचारमा आज्ञाकारी मानवीय संवेदना स्वामिभक्त र तपाईँको सबै काममा समर्थन गर्ने कुनै कार्यकर्ता र अरू केही विद्रोही व्यक्ति दिनुहोस्। हामी तिनको मुटु, र मस्तिष्क विद्रोहीमा प्रत्यारोपण गरेर नयाँ पुस्ताको प्रयोग मानव तयार गर्ने छौँ।”

“यस्तो मानिस त मसँग एकै जना मात्र छ। त्यसको मुटु र मस्तिष्क अर्कोमा प्रत्यारोपण गर्दा के त्यो भएको एउटै इमानदार मानिस पनि नगुम्ला ? त्यो स्थितिमा मेरो समर्थक त एउटै पनि रहने छैन। आँ, विद्रोही चाहिँ त जति पनि दिन सकिन्छ।”

“हामीमाथि विश्वास गर्नोस् श्रीमान् ! तपाईँको त्यो विश्वास पात्र व्यक्ति मर्ने छैन। उसको मुटु र मस्तिष्कका केही गुणग्राही जीन मात्र हामी लिने छौँ, विरोधीको त्यो जीन नष्ट गरी त्यसको ठाउँमा आज्ञाकारी जीन प्रत्यारोपण गर्ने छौँ। प्रारम्भिक प्रयोगका लागि हामी ती विरोधीलाई माध्यम बनाउने छौँ। मरे भने तिनै मर्लान्, यसबाट तपाईंंलाई कुनै नोक्सान पर्ने छैन होला।

“ठिकै छ, बरु आज्ञाकारी समूह तयार गर्ने काममा तपाईंंहरू युद्धस्तरमा काम गर्नोस्। चाहिँदो सहयोगका लागि ढुकुटी खुला छ।”
००

“हुन्छ श्रीमान्, हामी तपाईँको विचारमा आज्ञाकारी मानवीय संवेदना स्वामिभक्त र तपाईँको सबै काममा समर्थन गर्ने कुनै कार्यकर्ता र अरू केही विद्रोही व्यक्ति दिनुहोस्। हामी तिनको मुटु, र मस्तिष्क विद्रोहीमा प्रत्यारोपण गरेर नयाँ पुस्ताको प्रयोग मानव तयार गर्ने छौँ।”

“के म भित्र आउन सक्छु?”

“तपाईँ को हुनुहुन्छ ? किन आउनुभएको ?”

“म विश्वास पात्र र आज्ञाकारी कार्यकर्ता। प्रमुखको आदेशमा म यहाँ आएको हुँ।”

“के तपाईँ आफ्नो मन, मस्तिष्क र सम्पूर्ण गुण दिन सक्नुहुन्छ ?”

“सक्छु, ज्यान नजाने हो भने म आफूलाई विश्वास गर्नेलाई जे पनि दिन तयार छु।”

“निश्चिन्त हुनुहोस्, हामी तपाईँको ज्यान लिँदैनौँ। हामीलाई तपाईँ जस्तो स्वामिभक्तको स्वामिभक्ति र संवेदनारहित मन–मस्तिष्कको केही गुणात्मक सारको मात्रै आवश्यकता छ। त्यो निकाल्ने हामीसँग यति विकसित प्रविधि छ, जसबाट तपाईंंलाई कुनै कष्ट हुने छैन।”

“त्यसो हो भने म तयार छु। तपाईँको प्रयोग र अभियान सफल होस्।”

“के हामी भित्र आउन सक्छौँ ?”

“किन दुई दुई जना ? को हुनुहुन्छ तपाईंंहरू ?”

“हामी विशेष अधिकार सम्पन्न अधिकारी हौँ। प्रमुखको आदेशमा हामीले विद्रोही बन्दीहरूलाई ल्याएका छौँ।”

“ल्याउनुहोस्, उनीहरूलाई भित्र छाडेर तपाईंंहरू बाहिरको सुरक्षाको प्रबन्ध मिलाउनुहोस्।”

“त महाशय, तपाईँ आफ्नो परिचय बताउनुहोस्।”

“के तपाईँले मेरो स्थितिबाट थाहा पाउनु भएन– म कैदी हुँ।”

“त्यो त हो, तर मेरो आशय तपाईँ कुन क्षेत्रमा काम गर्नुहुन्थ्यो भन्ने जान्न चाहनु हो। भन्नुहोस् त तपाईँ किन बन्दी बन्नुभयो ?”

“म शिक्षक हुँ र मैले अरू सरह बाँच्ने अधिकार खोजेँ। सबै सरह पेसा र मानवीय हकको माग गरेँ। त्यसैले म विद्रोही भनिएँ, बन्दी परेँ। भन्नुहोस्, अरू कस्तो परिचय चाहियो ?”

“ठिकै छ, यति भए पुग्यो। तपाईँको हृदय र मस्तिष्कमा केही विकार छ त्यो ठिकै भएपछि तपाईँमा त्यस्तो कुनै अनुभूति र अधिकारबोध नै बाँकी रहने छैन। यस्तै प्रयोगमा लागि हामीले यो “स्टेट ल्याव” खडा गरेका हौँ। यसैको लागि हाम्रो प्रयोग र प्रयोगशालामा अरबौँ विदेशी मुद्रा खर्च भएको छ।”

“तर डाक्टर, यसरी मानवीय चेतनाको हत्या गर्न किन अरबौँ खर्च गर्नुहुन्छ ? त्यत्रो खर्च गर्नुभन्दा त हाम्रो अधारभूत आवश्यकता पूरा गर्न त्यसको केही अंश छुट्याएको भए पर्याप्त थिएन र ? आखिर हामीले जे मागेका थियौँ, त्यो पनि त नाजायज थिएन।”

“हो, तर तपाईँ यसलाई अर्को दृष्टिले किन सोच्नुहुन्न ? यो पल्ट मागेको पाएपछि फेरि पनि त केही समयपश्चात् अर्को थप सुविधा खोज्नुहोला। यसरी तपाईंंभित्रको असन्तुष्ट किरा झन् झन् बढ्दै नजाला र ? मागको पूर्ति यसपटकको मात्रै त समस्या होइन। यो त जहिले पनि र जुनसुकैको लागि पनि उत्तिकै आइरहने समस्या हो। अर्को कुरा, जब तपाईंंहरूमा मानवीय अनुभूति, असन्तुष्टि, र अधिकारबोध रहिरहन्छ तपाईँ ती गुण आफ्ना हजारौँ छात्र– छात्रामा पनि त प्रसार गर्दै जानुहुन्छ, होइन र ? त्यस स्थितिमा सम्पूर्ण विरोधी नियन्त्रण गर्न स्थायी उपाय त पत्ता लगाउनै प¥यो। त भन्नुहोस्, के तपाईंं यो प्रयोगमा सहयोग गर्नुहुन्छ ?”

“कुनै पनि हालतमा गर्ने थिइनँ, यदि सम्भव थियो भने। तर यसरी हात खुट्टा बाँधिएको स्थितिमा म के पो विरोध गर्न सक्छु र ? साहस छ भने खुलाउनुहोस् मेरा हात गोडा अनि देख्नुहोला मेरो प्रतिरोध। यो नसोच्नुहोस् म एउटाको मस्तिष्क परिवर्तन गरेर तपाईँ आफ्नो उद्देश्यमा सफल हुन सक्नुहुन्छ। मानवीय संवेदना र अधिकारबोधलाई तपाईँ सम्पूर्णमा हत्या गर्न सक्नुहुन्न।”

“ठिकै छ, तपाईँ कराउनुहोस्, विरोध गर्नुहोस्, जतिञ्जेलसम्म तपाईँको व्यक्तित्व परिवर्तन हुँदैन। अँ, महाशय ! तपाईँको चाहिँ परिचय के हो नि ?”

“बलिको बोकाको पनि कुनै परिचय आवश्यक छ र डाक्टर ? आफ्नो मालिकलाई बलि चढाउन तपाईंंजस्ता मानवताहीन पूजारीलाई बलिको बोको भए पुगेन र ?……र पनि किन चाहियो परिचय ?”
ठिकै छ, नबताउनुहोस्। म आफैँ तपाईँहरूको परिचय जान्न समर्थ छु, जसबाट तपाईंंहरूको व्यक्तित्व उचित तरिकाले परिवर्तन गर्न सकियोस्।”
००

“बलिको बोकाको पनि कुनै परिचय आवश्यक छ र डाक्टर ? आफ्नो मालिकलाई बलि चढाउन तपाईंंजस्ता मानवताहीन पूजारीलाई बलिको बोको भए पुगेन र ?……र पनि किन चाहियो परिचय ?”

‘त श्रीमान् ! हामीले हाम्रो प्रयोग सफलताका साथ पूरा गर्‍यौं। मन, मस्तिष्क र सम्पूर्ण संवेदनशील तन्तुहरू परिशोधन गरेर एउटा इमानदार आज्ञाकारी कुकुरको जातिभन्दा पनि बढी स्वामिभक्त मानव पुस्ताको आविष्कार ग¥यौं। अब यिनीहरूलाई बाँच्न र बोल्नसम्म मात्र पुग्ने चारो छरेर तपाईँ पूरा कामलिन सक्नुहुन्छ। तपाईँ यहीं नै उनीहरूसँग अन्तार्वार्ता लिन सक्नुहुन्छ।”

“ठिकै छ, बेलाउनुहोस्। म आफैंं सन्तुष्ट बनूँ।”

“मिस्टर टी वान ! तपाईँ यहाँ आउनुहोस्।”

“किन उसको नाम छैन र ? के हो यो टी वान भनेको ?”

“यो समूहको नाम हो श्रीमान्। टिचर समूहको पहिलो व्यक्ति टी वान। त्यसै गरी जति तपाईँ शिक्षकहरू चाहनुहुन्छ त्यसरी नै नाम वा सङ्ख्या टी टु, टी थ्रीको क्रममा बढ्दै जान्छ। त्यस्तै हामी इन्जिनियरको समूहका मानिसलाई इ वान, इ टुको नाम दिन्छौं, पुलिसलाई पी वान, पी टु, आदि।”

“ए राम्रो ! अँ त मिस्टर टी वान। तपाईंको पेसा के हो ?”

“शिक्षक श्रीमान् !”

“भन्नोस् त तपाईंंलाई तलब बढाउनु आवश्यक छ ?”

“छैन श्रीमान्, त्यो त केही विरोधीहरूको काम हो। जे जति छ त्यो नै हाम्रो लागि पर्याप्त छ,”

“ठिकै छ, महान् वैज्ञानिक। म तपाईंंसँग सन्तुष्ट छु। चाँडै नै यस्ता शिक्षक, कर्मचारी र राजनीतिक कार्यकर्ताहरूको भिड तयार गर्नुहोस् जसलाई आजका विरोधीसँग प्रतिस्थापन गर्न सकियोस्। अँ, बरु अरू वैज्ञानिकहरूमै पनि हाम्रो समर्थनमा प्रयोग नगर्ने छन्, सहयोग नगर्ने छन्। तिनीहरूलाई पनि तपाईँ आफूजस्तै समर्पित बनाउनुहोस्। खर्चको लागि कुनै चिन्ता नगर्नुहोस्। हामी जति पनि खर्च उपलब्ध गराउन तयार छौँ। तपाईँको सेवादेखि हामी सन्तुष्ट छौँ आजदेखि तपाईंलाई सर्वोच्च विज्ञान संस्थाको प्रमुख बनाइने छ र विशिष्ट पदक र पुरस्कारद्वारा विभूषित गरिने छ।”

“सेवक कृतज्ञ छ, महोदय। प्रणप्रणले आज्ञा पालन गर्ने छ।”००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved